युक्रेनमा रुसले गरेको आक्रमणमा १९ जनाको मृत्यु, धेरै घाइते

डिसी नेपाल
१६ वैशाख २०८० १०:५६
228
Shares

काठमाडौं । कीभसहित युक्रेनका विभिन्न भागमा रुसी हवाई आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । उमानको एक आवासीय क्षेत्रमा भएको आक्रमणमा एक बालक सहित १७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उमानमा १० वटा आवासीय भवनमा क्षति पुगेको बताए । ड्विनप्रोमा एक महिला र उनको तीन वर्षीया छोरीको मृत्यु भयो।

यसबारे रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाको रिजर्भ युनिटलाई निशाना बनाएको बताएको छ । रुसी समाचार एजेन्सी आरआईएका अनुसार रुसले रिजर्भ युनिटलाई निशाना बनाएको थियो ।

उमान एउटा सहर हो जुन अहिलेसम्म रुसी आक्रमणबाट जोगिएको थियो।

यस आक्रमणमा नौ तले भवन भत्किएको थियो । ओलेक्सान्डर नामका एक बासिन्दाले ठूलो विस्फोटको आवाजले आफू ब्यूँझिएको बताए। आक्रमण भएको करिब १० घण्टा बितिसक्दा पनि उद्धारकर्मी राहत कार्यमा जुटेका छन् ।

जेलेन्स्कीले ट्वीटमा भनेका छन्, ‘यी आक्रमणहरूले रुसविरुद्ध अन्तर्राष्ट्रिय कारबाही हुनुपर्छ भन्ने देखाउँछ।’

उनले ट्वीटमा भनेका छन्, ‘खराबलाई हतियारले रोक्न सकिन्छ, हाम्रा सिपाहीहरूले गरिरहेका छन् । र यसलाई प्रतिबन्ध लगाएर पनि रोक्न सकिन्छ, रुसमाथि थप अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनुपर्छ।’

बीबीसी न्यूज युक्रेनका पूर्व पत्रकार ओलेक्सान्डर बोडारेन्कोको युक्रेनमा फ्रन्टलाइन ड्युटीमा मृत्यु भएको छ ।

रुसी आक्रमणपछि उनी फेब्रुअरी २०२२ मा युक्रेनी सेनामा भर्ना भएका थिए। उनको मृत्यु कसरी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।

युद्धमा उनको मृत्यु भएको उनका नजिकका साथीहरुले बताएका छन् । उनी पूर्वी युक्रेनको लुहान्स्कका बासिन्दा हुन्। उनी बीबीसीको युक्रेन सेवामा सन् २००७ देखि २०११ सम्म न्यूज रिपोर्टरका रूपमा आबद्ध थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *