किन हुन्छ ओलीमाथि प्रहार?

डिसी नेपाल
१७ वैशाख २०८० ११:३४

काठमाडौं। वैशाख १३ गते एमाले अध्यक्ष केपी ओली गृह जिल्ला झापा जाने क्रममा उनीमाथि ढुंगा प्रहार भयो। पूर्वप्रधानमन्त्री र विपक्षी दलको नेतामाथि भएको सांघातिक आक्रमणलाई लिएर एमालेले सदन र सडकमा आवाज उठाइरहेको छ।

सरकारले ओलीमाथि ढुंगा प्रहार गर्ने एक जनालाई पक्राउ गरिसकेको जनाएको छ। एमालेले सदनमा यो विषयमा कुरा उठाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओलीमाथि ढुंगा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको जानकारी सोाही दिन दिएका थिए।

यतिबेला ओली कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका छन्। एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको छ। त्यसका लागि ओली केही दिनदेखि कोशी प्रदेशमा नै छन्।

आफ्ना अध्यक्षमाथि आक्रमणको प्रयास भएको भन्दै एमाले र उसका भातृ संगठन आन्दोलित बनेका छन्। एमाले भातृ संगठन युवा संघले त सडक आन्दोलनको घोषणा नै गरेको छ।

केपी ओली एमालेको अध्यक्ष निर्वाचित भएपछि चर्चामा आएका हुन्। अझ उनी संविधान जारी गरेपछि प्रधानमन्त्री बन्दा भारतीय नाकाबन्दीको डटेर सामना गरेपछि उनीमाथि प्रहार हुन थालेको हो।

भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै ६ महिना लामो अघोषित नाकाबन्दी गर्दा प्रधानमन्त्रीका रुपमा ओलीले त्यसको डटेर सामना गरेका थिए। नेपालले चर्को विरोध गरेपछि भारत बाध्य भएर नाकाबन्दी खुलाउन बाध्य भएको थियो।

नाकाबन्दीको डटेर सामना गर्दा देशभित्र ओलीको लोकप्रियता चुलिएको थियो। तर एउटा समूह ओलीलाई मधेसी विरोधी नेताका रुपमा चित्रित गर्न उद्दत थियो। जसलाई भारतको समर्थन रहेको थियो।

‘राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडान र देशभित्र ओलीको बढ्दो लोकप्रियताबाट आत्तिएका समूहले उहाँमाथि प्रहार गर्न सुरु गरे,’ एमालेका एक पदाधिकारीले भने, ‘उहाँसँग प्रतिस्पर्धा गर्ने आँट नभएकाहरुले अहिले पनि उहाँमाथि लुकिछिपी प्रहार गरिरहेका छन्।’

पहिलो पटक सरकारको नेतृत्व गरेर बाहिरिएपछि मधेसमा ओलीलाई प्रवेश निधेष गरिएको थियो। एमालेले चुनाव लक्षित कार्यक्रम मेची महाकाली अभियान गर्दा सप्तरीको मलेठमा हिंसात्मक झडप भएको थियो।

एमाले मुक्त अभियान नै चलाइएको थियो। तर गत निर्वाचनमा एमाले मधेसको सबै भन्दा ठूलो दलमा उदाएको छ।

‘ओली प्रधानमन्त्री हुँदा मधेसमा गरेका विकास निर्माणको कामले मधेसका जनताले एमालेलाई आफ्नो ठानेका छन्,’ एमालेका एक नेता भन्छन्, ‘सरकारमा हुँदा र बाहिर रहँदा पनि देश र जनताका पक्षमा सधैं सतिसाल झैं उभिने उहाँको बानी छ। यो कुरा मन नपराउने तत्वले उहाँमाथि प्रहार गरिरहन्छन्।’

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *