देशको अर्थतन्त्र सुधारको बाटोमा छः प्रधानमन्त्री

डिसी नेपाल
२० वैशाख २०८० १९:५०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन्।

आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए।

लोकार्पणमा प्रधानमन्त्री दाहालले भने, “जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ । त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो । तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो ।”

उनले थपे, “सङ्घीयताको सफल अभ्यास गरियो । स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए । आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७ दशमलव ५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत्भार कटौती अन्त्य भयो । ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।”

देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु ।”

अयोधीप्रसाद यादवको जिवनीबारे प्रधानमन्त्रीले भने, “मधेस आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँ एकदम इमान्दार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन । तर उहाँले गराउनुभयो । पुस्तकमा उहाँले जेजति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरू इमान्दारिता छ ।”

लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव, लेखक डा यादवलगायतका वक्ताले पुस्तकका विविध पक्षमाथि चर्चा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *