नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैनः टोपबहादुर रायमाझी
फाइल फाेटाे
अर्घाखाँची। नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। रायमाझीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्।
अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै रायमाझीले भने, “फसाउन खोजिएको हो कि के हो? हामीले जान्ने कुरा भएन। यसमा हाम्रो संलग्नता छैन ।” उनले आफूले भूटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए।
नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौँले तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। रायमाझी गत मङ्सिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
उनी यसअघि उपप्रधानन्त्री एवं ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकासमन्त्री र शान्तिमन्त्री थिए। रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।
शिक्षाको गुणस्तर सुधार भए पहाडी जिल्लाको बसाइँसराई रोकिन्छः सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताएका छन्।
उनले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ भएको भन्दै बसाइँसराइ रोक्नका लागि शिक्षाको गुणस्तर सुधार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भौतिक पूर्वाधार र सडक विस्तारले पूर्णता पाए पनि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्न स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले जोड दिनुपर्ने बताए।
शिक्षा, स्वास्थ्यको सुधारसँगै कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने उनले बताए । उद्योगधन्दा जिल्लामा नभएसम्म बेरोजगार समस्याको हल नहुने उल्लेख गर्दै उनले युवाको बढ्दो वैदेशिक पलायन रोक्नुपर्ने बताए।
विद्यालयको हीरक महोत्सव समारोहमा विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षाप्रेमी तथा अभिभावक, पूर्वशिक्षक, चन्दादातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सांसद टोपबहादुर रायमाझी, बिजुला रायमाझी, पूर्वउपसभामुख पुष्पा भुसाल, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले) का अध्यक्ष पीताम्बर भुसाल, नेकपा (माओवादी केन्द्र) का रामलाल पराजुली, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए।







डिसी नेपाल







Facebook Comment