ठूला-ठूला नेता र कर्मचारी जेल जानेगरी नक्कली शरणार्थी काण्ड कसरी छताछुल्ल भयो?

दामोदर नेपाल
२१ वैशाख २०८० ११:१६

काठमाडौं। नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने प्रलोभन देखाइ थुप्रै युवाहरुबाट ठूलो रकम असुल्ने गिरोहको पर्दाफास भएसँगै मन्त्री बनिसकेका र पार्टीको उच्च पदमा रहेका नेतादेखि सरकारी सेवामा रहेका उच्च तहका कर्मचारी समेत प्रहरी नियन्त्रणमा पुगेका छन्।

यो प्रकरणमा अहिलेसम्म पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई लगायत पक्राउ परिसकेका छन्।

एकैचोटी देशै हल्लिने गरी यो प्रकरणको खुलासा भएपछि धेरैमा यो काण्डमो पर्दाफास कसरी भयो भन्ने विषयमा कौतुहलता बढेको छ।

खासमा प्रहरीले एउटा यस्तो अडियो प्राप्त गरेको छ जसमा यो प्रकरणमा संलग्न व्यक्तिहरुका नामदेखि उनहिरुको गिरोहलेकाम गर्ने तरिका समेत विस्तारमा बताइएको छ।

प्रहरीलाई प्राप्त अडियोमा अहिले पक्राउ परिसकेका व्यक्तिबाहेक अन्य धेरै व्यक्तिहरुको नामसमेत उल्लेख गरिएको छ। अडियोले पोलेका सबैलाई प्रहरीले अहिलेसम्म पक्राउ गरिसकेको छैन।

प्रहरीले सबैलाई एकैपटक पक्राउ नगर्नुको पछाडि उनीहरु पहुँचवाला भएकोले प्रहरीले पहिले बलियो प्रमाण जुटाएर मात्र हात हाल्न चाहेको अनुमान गरिएको छ।

अहिलेसम्म पक्राउ परेकाहरु प्रमुख प्रतिपक्षी दल एमालेमा आबद्ध वा यो दलसँग निकट व्यक्तिहरु छन्। तर, अडियोमा नाम उल्लेख भएका व्यक्तिहरुमा सत्तापक्षका प्रभावशाली नेताका आफन्तहरुको नाम पनि छ।

सत्ता पक्षका नेताका निकटस्थलाई प्रहरीले अहिलेसम्म पक्राउ नगर्नुको कारण उनीहरुविरुद्ध पर्याप्त प्रमाण जुटाइँदै भएर हो वा सत्ताको हस्तक्षेप पनि भएको कारणले हो भन्ने स्पष्ट छैन।

स्रोतका अनुसार अडियोमा कुन व्यक्तिलाई, कुन मितिमा, कति रकमको र कुन बैंकको चेक दिइएको छ भन्ने समेत स्पष्ट भनिएको छ। यी चेक दिइनुको उद्देश्य अमेरिका पठाइदिनको लागि रकम भुक्तानी भनिएको छ। स्रोतका अनुसार प्रहरीले जाँच गर्दा ती अडियोमा भनिएका बैंक कारोबारको समेत पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *