सुन्दरबजारको नमूना अस्पतालमा निःशुल्क सुरक्षित प्रसुति सेवा शुरु

डिसी नेपाल
२२ वैशाख २०८० ९:०३

लमजुङ। लमजुङ क्लब सुन्दरबजारमा सञ्चालित एचडिसिएस नमूना सामुदायिक अस्पतालमा प्रसुति सेवा निःशुल्क उपलब्ध हुने भएको छ। सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक अनुगमन गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न बिहिबारबाट स्वीकृत दिएको हो।

यसअघि सुन्दरबजार नगरपालिका अन्तर्गत तीनवटा स्वास्थ्य संस्थामा प्रसुति सेवा उपलब्ध भए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन। यसअघि चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र, कुन्छा स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालमा प्रसुति सेवा उपलब्ध भएपनि यी संस्थाहरुमा सुत्केरी गराउनेको संख्या अत्यन्तै न्यून रहेको थियो। एचडिसिएस नमूना सामूदायिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा समेत उपलब्ध भएका कारण उक्त संस्थामा अन्य संस्थाहरुले समेत रिफर गर्न सक्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताए।

स्वास्थ्य शाखाले नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सुरक्षित प्रसुति सेवाको लागि एचडिसिएस नमूना सामुदायिक अस्पतालमा रिफर गर्न सक्ने जनाएको छ।

नमूना सामुदायिक अस्पतालका निर्देशक हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा छुट्टै प्रसुति विभाग र गाईनोलोजिष्ट सेवा समेत उपलब्ध छ। वेसीशहरमा सुरक्षित प्रसुति सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरेको एचडिसिएसले नमूना सामुदायिक अस्पतालमा समेत प्रसुति वार्ड व्यवस्थापन गरिसकेको छ। अस्पतालमा उपलब्ध सेवा सुविधा, वार्ड लगायतको अनुगमनपछि स्वास्थ्य शाखाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्रदान गरेको हो।

अव नमूना सामूदायिक अस्पतालबाट गर्भवती महिलाहरुले निःशुल्क परामर्श, स्वास्थ्य चेकजाँच, गर्भवती परीक्षण, प्रसुति सेवा लगायतका सेवा उपलब्ध हुनेछन् ।

एचडिसिएस नमूना सामुदायिक अस्पतालमा निःशुल्क प्रसुति गराउने महिलाहरुले सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउने २ हजार रुपैयाँ, न्यानो झोला, गर्भावस्थामा नियमित परीक्षण गराउनेलाई थप ८ सय रुपैयाँ उपलब्ध हुनेछ। एचडिसिएसले कार्यक्रमको प्रभावकारीता हेरेर पछिल्ला दिनमा थप सुविधा पनि दिन सक्ने अस्पतालले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *