मानव तस्कर उत्पादन गर्ने कारखाना

कमला थापा
२३ वैशाख २०८० ७:१७

देश बर्बाद गर्ने धमिराहरुले जंगलमा बस्दा जंगलका महत्वपूर्ण जडिबुटीदेखि, गाउँका सिधासाधा जनता, ८ हजार भन्दा बढी कांग्रेसका कार्यकर्ता लगायत १७ हजार जनता मारे।

शान्ति प्रकृयामा आयपछिको १७ वर्षमा देशै सिध्याउने योजनामा कसरी लागेका रहेछन् भन्ने संगठित अपराधको जोलन्त उदाहरण नक्कली भुटानी शरणार्थी प्रकरणबाट उदांगिदै छ।

यो त सुरुवात मात्र हो, लहरो तानिदै जाँदा पहरो खस्न सक्ने बास्तबिक रुप त अझै देखन बाँकी छ। कति तानिने हुन्, यदि साँच्चिकै कारवाही अगाडि बढ्ने हो‌ भने। तर कारवाही होला भन्नेमा शंकै छ।

नेपाललाई कामदार उत्पादनको रुपमा त चिनाई सकेका थिए, अब मानव तस्कर को उपनामले पनि विश्वमा नाम कमाउने भए। भुटानदेखि नेपालसम्म, नेपालदेखि अमेरिकासम्मको यो सजिलो यात्रा, मन्त्री, उच्च ओहदाका कर्मचारी, माफियाको मिलेमतोमा सञ्चालित अवैध कमाउ धन्दा कति सजिलो, नेपाली जनताको भोटबाट नेता हुने, काम बिदेशीको गर्ने यही हो गणतन्त्र नेपालको असली रुप?

वि.सं.२०७४ को चुनाबपछि बनेको दुई तिहाई सरकारका परराष्ट्र मन्त्र संयुक्त राष्ट संघको कार्यक्रममा जादाँ उहाँलाई अमेरिकाले भनेको ‘अब नेपाललाई सिधै हाम्रो नजरले हेर्नेर्छौं’ उक्त भ्रमणमा भनिएको कुराको पुष्टि हुँदैछ, त्यसपछि संसदबाट एमसीसी पास भयो, एसपीपी ल्याउने जोडबल भएको छ।

पुराना पार्टीहरुलाई पाल्दा पाल्दा हैरान भएर होला, आफ्ना देशमा बसोबास गरेका केही मान्छेलाई छानीछानी नेपाल पठाएर पार्टी खोल्ने, राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने। उनैबाट आफ्ना कामहरु पूरा गर्नका लागि पूराना, नयाँ सबै तिरका एमसीसी समर्थक ठेकेदारलाई एकै ठाँउमा उभ्याउने, शक्ति बढाउने, पुरानालाई भरणपोषण कम गर्दै जाने उद्देश्यका साथ पठाइएका र उदाएका पार्टीहरु निर्वाचन जित्ने बित्तिकै मन्त्रालय रोज्ने।

त्यसमा पनि गृहमन्त्रीनै पहिलो रोजाई योजना अनुसार नै आएको देखिन्छ। जसबाट यस्तै काममा सफलता हाँसिल गर्न सकियोस्। त्यसको सुरुवात भइसकेको ज्वलन्त उदाहरण यो संगठित अपराध मानव तस्करले देखाई दियो।

पुराना पार्टीहरुको पहिलो प्राथमित्ता पनि गृह, अर्थ र परराष्ट्र हुने गरेको किन रहेछ? भन्ने बुझ्न सायद अब गारो नहोला! उपप्रधानमन्त्री, मन्त्री, उच्च कर्मचारीहरुबाट भएको डरलाग्दो र घिनलाग्दो राष्ट्रघाती कार्य सानो कुरा होइन।

यस्ता कुराहरु जनता, कार्यकता र संचार माध्यमले भन्दै नआएका होइनन् तर जनतालाई दाश‌ सम्झने पार्टी, त्यसका नेताले कहिले सुन्ने, बुझ्ने कोशिस गरेनन्। उनीहरु माफियाबाटै कमाउ धन्दामा सहभागी भइनैरहे।

यो प्रकरणमा भुटानीका नाममा नेपालीहरु मात्र नक्कली होइन अरु पनि नहोलान् भन्न‌‌ सकिन्न। संगठित अपराधमा हुने गरेका अपराध, मानव तस्करको यो डरलाग्दो रुप यहाँ रोकिएला भन्न गाह्रो छ। जबसम्म नेता बिदेशीको पैसा र माफिया मोहबाट टाढा हुँदैनन्, यस्ता अबैध धन्दाले देशको गौरव माथि धावा बोल्ने क्रम जारी नरहला भन्न सकिन्न।

अहिलेसम्म लुकाइँदै आएको घटना हजारौं छन्। सुडान, ओमनी, यति, ३२ किलो सुन, वाइडबडी, ललिता निवास, नाम लिएर साध्य नै‌ छैन। तर आजसम्म बनेका सरकार देश, जनताप्रति कहिले उत्तरदायी, जवाफदेही बनेन्। संगठित अपराधीले गणतन्त्रमा छुट पाइनै रहे।

हत्या, हिंसा, बलात्कार, निर्मला, भागीरथी बालिका मरिइनै रहे। निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो अब कोही बचाउको लागि छाता ओढाउन नआउनु भन्नसम्म पनि तत्कालीन मन्त्रीले भ्याए। तर आजसम्म पत्ता लागेको छैन।यस्ता कुराहरु सबै सेटिङमा हुन्छन् भन्छन् जानिफकारहरु ।

यो सबै कानूनीराजको उपहास र दण्डहिनताका कारण भइरहेछ। सरकारको संलग्नतामा गरिने यस्ता अपराधले देशमा सरकार भएको जानाउँदैन। सरकार नभए सरहको ज्वलन्त उदाहरण हो।

सरकार आफ्नो कमजोरी लुकाउन, अपराधी बचाउन लागी नपर्ला भन्न सकिन्न। अब जनताले चुप लागेर बस्ने अबस्था छैन। यो देश जोगाउन जनताले बाहेक अरुले जोगाइदिने छैन।

देशै बेच्न पछि नपर्ने यस्ता कर्मचारी, नेताहरु र सरकारबाट आसा गर्ने कुनै ठाउँ देखिँदैन। जनताले बिकल्प सोच्ने दिन आइसकेको देखिन्छ। ढिलो गर्नुहुँदैन। आआफ्नो क्षेत्रबाट सबै उत्रनु जरुरी छ। पूर्ण संकेत यही घटनाले दिइसकेको छ। दरिद्र राजनीतिको अन्त्य हुनुको बिकल्प छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *