विकासका नाममा खोला र पहाड क्षेत्र दोहन, सरोकारवाला निकाय मौन

डिसी नेपाल
२३ वैशाख २०८० १२:२६

सुर्खेत। मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डमा मौकाछोपी लगातार खोला, पहाड क्षेत्र दोहन भइरहेको छ । मध्यपहाडीलोकमार्ग जाजरकोट खण्डको कुदुदेखि गिमा र गिमादेखि थलहसम्मको कालोपत्रेको जिम्मा पाएको ठेकेदारले पहाड दोहन गरेको हो ।

रातदिन मेसिन प्रयोग गरेर निर्माण कम्पनीले पहाड दोहन गरेर ढुङ्गा, गिट्टी, निकासी गर्दासमेत सरोकारवाला निकाय मौन छन् । भेरी नगरपालिका ९ र ११ जगतिपुरमा हरेक दिन एक्साभेटर, जेसीवी र टिप्परको लाइन देखिन्थ्यो । ती सबै अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् । कालोपत्रेको जिम्मा पाएको सिंह एण्ड ब्रदर्सका सञ्चालक विश्वास उप्रेतिले आफू खुसी पहाड दोहन गरेको स्थानीय मानबहादुर नेपालीले बताए ।

वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार ठेकेदारले कुनै प्रक्रिया नबढाई आफू खुशी पहाड दोहन गरेका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार सम्बन्धित स्थानीय निकायले ठेक्का लगाएर मात्रै वन क्षेत्रभित्र वन कार्यालयसँग समन्वय गरीढुङ्गा, गिट्टी, निकासी गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर मध्यपहाडी लोकमार्ग निमार्णको जिम्मा पाएका ठेकेदार कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बिनै पहाड नै दोहन गर्दै आएका हुन् । विकासका नाममा ठेकेदारले ढुङ्गा, गिट्टीको मेसिनको प्रयोग गरी पहाडनै दोहन गरेको स्थानीयको आरोप छ ।

ठेकेदारले रातदिन धमाधम एक्साभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, उत्खनन गरिरहेका छन् । भेरी नगरपालिका ९ को बर्मईखम्ब (खोटेसल्ली भिर) भन्ने स्थानमा पहाडनै दोहन गरेकाछन् । ठेकेदारले करिब १ सय मिटरको पहाडनै सखाप पारेको वडा अध्यक्ष हिरालाल शर्माले बताए ।

२०७४ फागुन २६ गते वडा कार्यालयमा स्थानीय बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको ७ सय मिटर बाटो बनाउने शर्तमा ठेकेदारले तत्कालीन वडाध्यक्ष धुर्वप्रसाद पौडेलसँग सहमति गरेका थिए । पहाड दोहन गर्ने स्थानीयलाई बाटो, युवाको लागि फिल्ड निर्माण र अन्यलाई माई भगवतीको मन्दिर निर्माण गर्ने शर्त गरेका थिए । तर हालसम्म ठेकेदारले पहाड दोहन गरेता पनि कुनै सर्त अनुसारको काम नगरेको वडा सदस्य मोति नेपालीले बताइन् ।

उक्त स्थानबाट ठेकेदारले आफुखुसी ३५ हजार टनभन्दा माथि सामान उठाउँदा करको कुनै दायरामा नआएको वडाध्यक्ष शर्माले बताए ।

‘हामीले उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्ने प्रयास गर्‍यौँ तर हाम्रो सुनुवाइ भएन,’ उनले भने, ‘पहिलेको वडा अध्यक्षसँग सम्झौता भएको भन्दै पहाडनै भत्काइएको छ । जथाभावी वन विनास गरेको छ ।’

अहिले पनि उक्त ठेकेदारले यसैगरी उत्खनन गरिरहेको शर्माले बताए । अवैध उत्खनन्ले गाउँबस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको अर्का स्थानीयवासीको भनाइ छ । जथाभावी मेसिन प्रयोग हुँदा वन विनास भएको र यसका कारण वर्षायाममा पहिरो गाउँमा पस्ने जोखिम बढेको उनको भनाइ छ । मध्यपहाडीको स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटरसडक खण्ड हाल कालोपत्र जारी छ । कालोपत्रका लागि ठेकेदारले बर्मईखम्ब (खोटेसल्ली भिर)बाट निरन्तर उत्खनन् गर्दै आएका छन्

बर्मईखम्ब (खोटेसल्ली भिर) मात्र नभएर निर्माण कम्पनीले भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र गर्न एउटा पहाड दोहन गरेको छ । भेरी नगरपालिका १२ बाघखोरमा पहाडनै दोहन गरेको हो । गुराँस सामुदायिक वन समितिसँग मिलमतो गरी ठेकेदार उप्रेतीले एउटा पहाडनै धोजा–धोजा बनाएका छन् । वन समितिलाई खानेपानी मोटर उपलब्ध गराउने शर्तमा ठेकेदारले लाखौँको कर छलि गरेको पाइएको छ । २०७४ सालतिर एउटा मोटर दिन्छु भनेर ठेकेदारले सहमती गरेर पहाड दोहन गरेको स्थानीयको आरोप छ ।

वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विना समूहसँग सहकार्य गरी वन क्षेत्र दोहन गर्दासमेत वन कार्यालयले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । ‘अहिले एउटा सिंगो पहाडनै भत्काएर सडक निर्माण गरिएको छ । ठेकेदारले विकासका नाममा पहाड नै विनाश गरेका हुन्,’ उनले भने।

यता स्थानीयले भने पहाड दोहन नगर्न माग गरेका छन् । भेरी नगरपालिका ९ का स्थानीयले ढुंगा, गिट्टी, बालुवाका लागि पहाड क्षेत्रमा उत्खनन् नगर्न आग्रह गरेका हुन् । पहाडमा कमजोर भू–बनोटका कारण हुने भू–क्षयले वर्षेनी सयौँ बिगाहा खेतीयोग्य जमिन बगरमापरिणत हुने भएका कारण पहाड दोहन नगर्ने स्थानीयले माग गरेका छन् ।

पहाडी क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउँदाबग्ने भएका कारण पहाडको दोहन रोक्नुपर्ने भेरी नगरपालिका ९ बलबहादुर नेपालीले बताए । पहाडी क्षेत्रबाट गिट्टी बालुवा निकँस्दापहाड बगरमा परिणत हुने रगाउँ बस्ती र खेतीयोग्य जमिन नैमासिने उनको भनाइ छ ।

भेरी नगरपालिका जनप्रतिनिधिको संरक्षणमा प्राकृतिक स्रोतको दोहन भएको पाइएको छ । जनप्रतिनिधिले ऐन कानुनलाई ख्याल नगरी प्राकृतिक स्रोतको दोहन गरेका हुन् । ठेकेदारले दोहन गरिएको स्थानमा तत्कालीन भेरी नगरपालिका ९ का वडा अध्यक्ष धुर्वप्रसाद पौडेलको नेतृत्वमा २०७४ फागुन २६ गतेसहमति भएको थियो । कालोपत्रेको जिम्मा पाएको सिंह एण्ड ब्रदर्सका सञ्चालक विश्वाश उप्रेति र वडा अध्यक्षको संलग्नतामा बर्मईखम्ब (खोटेसल्ली भिर) दोहन गर्ने सहमति भएको स्थानीयले बताए ।

स्थानीयलाई पुजा गर्ने मन्दिर, युवाहरुको लागि खेल मैदान निर्माण गरिदिने सहमतिमा बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको ७ सय मिटर बाटोको नयाँ ट्रयाक खोल्ने सहमती भएको थियो । यसरी पहाडको प्रयोग गर्दा स्थानीय तहसँग करको दायरामा आएर उत्खनन् गर्नुपर्ने कानुनी प्रावधानलाई लत्याउँदै जनप्रतिनिधिले बदमासी गर्दासमेत नगरपालिका मुकदर्शक भएको देखिन्छ । आफ्नो पार्टी निकट वडा अध्यक्षले गरेको निर्णयविरुद्ध नगर प्रमुखले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

तर नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भने तत्काल स्थलगत अनुगमन गरेर गल्ती देखिए कारबाही गर्ने बताएका छन् ।प्राकृतिक स्रोत दोहनको विषयमा तत्काल स्थलगत अनुगमन गर्ने उनको भनाइ छ । भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजार१७ किलोमिटर सडक र स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र स्रोत दोहन भएको उनले स्वीकार गरे । पहिलो कार्यकाल भएकोले खासै ज्ञान नभएकोले ठेकेदारले नियम संगत नपुराएर स्रोतको दोहन गरेको उनको भनाइ छ ।

यस्तै डिभिजन वन कार्यालयले पनि आफू खुशी वन अतिक्रमण गर्नेलाई कारबाही गर्ने जनाएको छ । प्रमाणका आधारमा कारबाही गर्ने वन अधिकृत राधाकृष्ण दासले बताए । वन ऐन २०७६ र वन नियमावली २०७९ मा भएको व्यवस्था अनुसार प्रक्रिया नपुराएको खण्डमा तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *