मदन भण्डारीको स्मृतिमा

कपिल लोहनी
६ जेठ २०८० ६:५४

२०५० साल जेठ ३ गते। सधैंझैं हामी परिवारका अधिकांश सदस्य नेपाल टेलिभिजनको बेलुकीको समाचार हेर्न पिताजी गोविन्दप्रसाद लोहनीको साथमा टेलिभिजनको अगाडि बसेका थियौँ।

समाचारको बीचैमा समाचारवाचकले निकै भावुक मुद्रामा ‘भर्खरै प्राप्त समाचार अनुसार नेकपा (एमाले)का महासचिव मदन भण्डारी र नेता जीवराज आश्रित चढ्नु भएको जीप केही समय अघि चितवनको दासढुंगाबाट तल त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको र उहाँहरूको अवस्था अझसम्म थाहा हुन नसकेको’ समाचार वाचन गरेपछि हामीलगायत हाम्रा पिताजी निकै बेरसम्म स्तब्ध हुन पुगेका थियौँ।

कसैको मृत्युमा पनि आँशु नझार्ने मेरा पिताजी यो समाचार सुनेको केही समयसम्म चुपचाप टोलाउनु भएको र त्यसपछि भक्कानिएर ‘नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा हुनाहारको व्यक्ति बल्ल बल्ल पाइएको थियो, तर उसलाई पनि बाँच्न दिएनन्’ भनेर ज्यादै शोकाकुल हुनु भयो।

त्यो रात हामी निकै बेरसम्म हाम्रा पिताजीबाट मदन भण्डारी बारेका कुरा, उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद, कलकत्ता सम्मेलनमा उनले कमाएको अन्तर्राष्ट्रिय ख्याती, धरासायी हुँदै गएको विश्व कम्युनिष्ट आन्दोलन र विशेषगरी दक्षिण एशिया, भारत र नेपालको कम्युनिष्ट आन्दोलनलाई जिवन्त र प्रजातान्त्रिक बनाउन उनले प्रतिपादन गरेको विचार बारे सुनेर बस्यौँ।

जनआन्दोलन पछिको पहिलो आमनिर्वाचन (२०४८) भन्दा केही दिन पहिले अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘न्युजविक’का पत्रकार मिशेल लिट्भीनले मदन भण्डारीसँग काठमाडौँमा लिएको एक अन्तरवार्तामा उनलाई कार्ल माक्र्सकाे  प्रतिविम्वको रूपमा चित्रण गरेर ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स’ शिर्षक दिई यो पत्रिकाको १९९१ मे २७ को अंकमा छापिएको थियो।

मदन भण्डारीले सो अन्तरवार्तामा ‘कम्युनिज्मको मुख्य उद्देश्य नै समाजबाट शोषण, भ्रष्टाचार र अन्यायलाई निमिट्यान्न पार्नु हो र विश्वका विभिन्न कम्युनिष्ट मुलुकमा केही त्रुटीहरू हुन गए भन्दैमा कम्युनिज्मको उद्देश्य नै विफल भएको भन्न मिल्दैन’ भनेका थिए।

उनले आफूहरू प्रजातन्त्र र जनताको अनुमोदन मार्फत नै सरकारमा पुग्न खोजेको पनि बताएका थिए। नेपालका कम्युनिष्टहरूले शान्तिपूर्ण आन्दोलन मार्फत समाजमा समानता र न्याय पुर्‍याउन खोजेका छन् र आफूहरू विदेशी हस्तक्षेप र साम्राज्यवादका पनि विरोधी भएको कुरा सो अन्तरवार्तामा बताएका थिए।

मुलुकमा चलिआएको संस्कृति, परम्परा र धर्मलाई मान्यता दिएर आफ्नो पार्टी अघि बढ्ने र धार्मिक सहित्ष्णुता कायम गर्ने पनि उनले बताएका थिए। भूमि सुधारको कुरामा उनले जमिनदारलाई क्षतिपूर्ति दिएर भूमि सरकारी स्वामित्वमा ल्याउने र किसानहरूलाई वितरण गर्ने योजना भएको पनि बताएका थिए।

किसानहरूले जमिन प्राप्त गरे पश्चात उनीहरूबाट राजश्व असुली गर्ने र परिआएको बेलामा उनीहरूलाई ऋण प्रवाह गर्ने तथा सरकारी उद्यमहरूको शेयरसमेत किस्तावन्दीमा उपलब्ध गराउने कुरा बताएका थिए।

त्यस्तै उनले साझा सहकारीहरूको स्थापना गरी कृषि तथा उद्यमलाई बढावा दिने उपाय पनि अवलम्बन गर्ने कुरा बताएका थिए। मुलुकको स्वतन्त्रता र सार्वभौमिकताको मूल्यमा वैदेशिक सहायताको अपेक्षा नगर्ने कुरा बताउँदै उनले कम्युनिष्टहरू सरकारमा आउँदैमा वैदेशिक सहायता बन्द नहुने पनि विश्वास राखेका थिए।

भारतसँगका विगतका असमान र अपमानजनक सन्धिहरू दुई देश बीचको समझदारीमा सच्याउने तथा चीन र भारत दुबै देशसँग राम्रो सम्बन्ध कायम गर्ने कुरा पनि उनले बताएका थिए र आफ्नो मुलुक भारत परस्त वा चीन परस्त भएको सन्देश विश्वलाई नदिने प्रण पनि गरेका थिए।

२०४८ सालको आमनिर्वाचनमा काठमाडौँको एक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सभापति तथा पञ्चायतको पतन पछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउन र अर्को एक निर्वाचन क्षेत्रमा पनि सानदार विजय हासिल गर्न मदन भण्डारी सफल भएका थिए।

त्यतिबेला सन्तनेता कृष्णप्रसाद भट्टराईको पराजय पश्चात प्रधानमन्त्री बन्न पुगेका गिरिजाप्रसाद कोइरालाको अप्रजातान्त्रिक कृयाकलापबाट उनको आफ्नै पार्टी, प्रमुख प्रतिपक्ष एमाले र अन्य पार्टीहरू समेत वाक्क भएकाले उनको सरकारको विरुद्धमा एमाले मात्र सशक्त ढङ्गले लागेको नभई कांग्रेसका सवमान्य नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पक्षसमेत आन्दोलित हुन पुगेका थिए।

यही सरकार विरोधी आन्दोलनको सिलसिलामा देशव्यापी विरोध कार्यक्रममा भाग लिन झण्डै एक महिनाको निम्ति भाद्र १ गते काठमाडौँबाट निस्किएका मदन भण्डारी र जीवराज आश्रित पोखराको ३ दिने कार्यक्रम सकेर चितवन जाने क्रममा निकै षडयन्त्रपूर्ण दुर्घटनामा परेका थिए।

४२ वर्षको कलिलो उमेरका उनको शव घटना घटेको २ दिन पछि जेठ ५ गतेको बिहान घटनास्थलबाट ३२ किलोमिटर दक्षिणको गुञ्जनगर भन्ने ठाउँको नारायणी नदीको किनारमा फेला प¥यो भने नम्र तथा प्रखर वुद्धिजीवि जीवराज आश्रितको शव डुबेर बसेको जीप भित्र नै फेला परेको थियो।

मदन भण्डारीको मुहारमा, आँखा वरीपरी तथा हातखुट्टाहरूमा चोटपटक तथा घाउ लागेको तथा तल्लो शरीरमा बाहिरी लुगा नभएको शव फेला परेको थियो। उनीहरूको शरीरका विभिन्न भाग तथा कलेजो आदि भित्री अङ्गको परिक्षण गर्न स्याम्पल भारत पनि पठाइएको थियो।

तर पनि आजसम्म यो दुर्घटनाको रहस्य खुल्न सकेको छैन। पछि फेरि यस घटनामा संलग्नता भएको भनी आरोपित चालक अमर लामाको समेत हत्या हुन गयो र घटनाका सबै प्रमाणहरू नष्ट हँुदै गए।

चितवनको यात्रामा मोटरगाडीमा निस्कँदा सधैं जसो दासढुंगा पुगेपछि २०५० साल जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रित चढेको जीपको दुर्घटनास्थलमा गएर मेरो आँखा रसाउन थाल्छन् भने मन ज्यादै भावुक बन्न पुग्छ।

आफ्नो सवारी साधन रोकेर उनीहरूको स्मृतिमा बनाइएको सानो उद्यानमा एकछिन नबसी अघि बढ्ने मन नै हुँदैन। अनि मनमा अनेक तरङ्ग आउन थाल्दछन्।

कसरी एकनास सिधा गइरहेको जीप अकस्मात दायाँतर्फ मोडिन गयो, दुई शिर्ष नेता मात्र तल नदीमा खसेर चालक अमर लामा कुनै चोटपटक नै नलागी कसरी बाँच्यो, उसले त्यहीँ नजिकका बासिन्दाको मद्दत नमागी कसरी नारायणगढ बजार पुगेर पार्टी कार्यालयमा फोन गरेर दुर्घटनाको समाचार दिन सक्यो, आज मदन भण्डारी बाँचिरहेका भए नेपालको कम्युनिष्ट आन्दोलन, प्रजातन्त्र र मुलुकको समृद्धिले कस्तो रूप लिने थियो होला, आदि इत्यादि।

आफूलाई निकै नै मन परेका नेपालका राजनैतिक नेताहरु मध्ये मदन भण्डारी पनि एक थिए। उनको बाहिरी मुहारबाट नै उनी भित्र रहेको प्रतिभा, केही गर्छु भन्ने आँट र जाँगर, अनि निश्कपट मन छर्लङ्ग देखिन्थ्यो।

त्यसमाथि ठूला ठूला फ्रेमका पावरदार चश्मा, भाद्गाउँले टोपी, कमिज, कोट, पाइण्ट र कालो जुत्तामा उनी निकै आकर्षक र जिम्मेवार व्यक्तित्वका रूपमा देखिने गर्दथे।

उनको पार्टीले उनका मुलुकभित्रका भ्रमणहरूको निम्ति एउटा पजेरो जीपको व्यवस्था गरिदिएको भएता पनि उनी राजधानीका सडकमा भने अक्सर साइकलमा नै ओहोर दोहोर गर्न रुचाउँथे।

जब उनी भाषण गर्न थाल्थे, त्यसपछि त सुन्न बस्ने व्यक्तिहरुलाई एक प्रकारको सम्मोहन नै भएको महसुस हुन्थ्यो। एकछिन त सबैजना कुनै अर्कै दुनियामा पुगेको महसुस गर्दथे। कुनैबेला काठमाडौँको खुलामञ्च परिसरमा हरियो घाँसे मैदान हुन्थ्यो।

त्यही घाँस रुपी कार्पेटमा बसेर दर्शकहरू नेताका भाषण सुन्ने गर्दथे। त्यतिबेला एउटा कथन नै थियो कि जब मदन भण्डारी भाषण गर्न थाल्छन्, तब जनतामा यति धेरै जोश आउन थाल्छ कि उनीहरु सभास्थलका लामा लामा घाँसहरू लुछ्न थाल्दछन् भनेर।

तर आज आएर मुलुक समृद्ध नभए पनि नेताहरू निकै नै समुद्ध भइसकेकाले उनका भाषणहरू पाँच तारे होटेलका वातानुकुलीत कोठाहरूमा हुने गर्दछ।

राजालाई राजनीति गर्ने हो भने श्रीपेच फुकालेर मैदानमा उत्र भनेर भाषणमा भन्ने मदन भण्डारीको केहि समय पश्चात राजा वीरेन्द्रसँग भेट भयो। सो भेटमा दुबैजनाले एक अर्कालाई बुझ्ने मौका पाए।

सो भेटमा केहीबेर आआफ्ना कुरा राखेपछि राजा र उनी दुबैजना एक अर्काप्रति आकर्षित र प्रभावित भएका थिए रे। केही समय पश्चात मदन भण्डारी र जिवराज आश्रित चढेको जीप दासढुंगाबाट तल त्रिशुली नदीमा खसेर उनीहरूको अवशान भएको खवरले राजा वीरेन्द्र ज्यादै नै खिन्न भएका थिए भन्ने खवर पनि त्यतिबेला सुन्नमा आएको थियो।

दुर्घटनाको खवर पाउने वित्तिकै राजा वीरेन्द्रले सेनालाई जसरी भएपनि उनीहरूलाई नदीमा खोजेर बचाउने कोशिश गर भनेर निर्देशन पनि दिएका थिए रे। आज न ती जनताका सच्चा नेता यो धर्तीमा छन् न नै ती जनताका प्रिय राजा। दुबैको अवसान षडयन्त्रपूर्ण तवरमा अकस्मात हुन गयो। यी दुबैजना आज निकै खट्किएका छन् हाम्रो नेपालमा।

विश्वविख्यात मनोवैज्ञानिकहरुले कुनै पनि व्यक्तिको वौद्घिक धरातल नाप्ने पहिलो मापदण्ड उसको अनुहार, पहिरन र साधारण हाउभाउ हो भनेका छन्।

हुन पनि वौद्घिक गतिविधिमा चुर्लुम्म डुबेका व्यक्तिहरू जुनसुकै परिस्थितिमा पनि आफ्ना सोधका विषयमा नै गमीरहेका हुन्छन् र उनका आँखा अगाडि घटीरहेका अन्य सामान्य क्रियाकलापहरूमा उनीहरूको त्यति ज्यादा चासो वा ध्यान बाँटिदैन।

भन्नु को तात्पर्य के हो भने, अन्य साधारण व्यक्तिहरू भन्दा आफ्नो विषयका ज्ञाता वौद्घिक व्यक्तित्वहरू केही पृथक स्वभावका हुन्छन्। त्यस्ता व्यक्तिहरूलाई अध्ययन र अनुसन्धानमा नै दिव्य आनन्द आउँछ र उनका मित्र उनिहरू आफैं नै हुन्छन्, मनमा नै मन्थन गरिरहन्छन्, पुस्तक पढिरहन्छन् र आफू जस्तै व्यक्तिहरूसँग भलाकुसारी गर्दा उनिहरू निकै प्रसन्न हुन्छन्। माक्र्स, एङ्गेल्स, लेनिन, गान्धी, मण्डेला, विश्वेश्वर आदि पनि यस्तै नै जीवन बिताउने महान् व्यक्ति थिए।

विक्रम सम्वत २०४८ सालको आश्विन महिनामा यानी १ अक्टोवरको दिन चिनीया राजदूतावासले चिनियाँ महान अक्टोवर क्रान्तिको सफलता दिवसको रूपमा आयोजना गरेको दिवा भोजमा सरिक हुन मेरा पिताजी र म चिनियाँ राजदूतावासमा गएका थियौँ।

राजदूतावासको ठूलो हलमा विभिन्न राजनैतिक पार्टीका वरिष्ठ नेताहरू, उच्च पदस्थ सरकारी तथा सुरक्षा निकायका पदाधिकारीहरु, राजदूत तथा कुटनीतिज्ञहरू, साहित्यकार, वुद्घिजिवी, पत्रकार तथा अन्य भद्र-भलाद्मीहरूको बाक्लै उपस्थिति थियो।

यसरी भएको समाजका गण्यमान्य व्यक्तिहरूको ठूलै जमघटमा मदन भण्डारी र चन्द्रप्रकाश मैनाली पनि हातमा वियरको मग लिएर गफिँदै थिए। त्यतिबेला खासगरी वामपन्थी पार्टीका अधिकांश नेताहरू यस्ता जमघटमा मदिराजन्य पेय पदार्थ सेवन गर्न हिच्किचाउँथे।

केही नेताहरूको पहिरन निकै साधारण र कैयन् अवसरमा त निम्नस्तरका नै हुन्थे। औपचारिक पहिरन खरिदको निम्ति रकम नभएर भन्दा पनि उनिहरू कम्युनिष्ट भएकाले तथाकथित बुर्जुवा सुकिला मुकिला पहिरनबाट टाढा रहेको स्वाङ पार्दथे।

मलाई सम्झना छ, त्यो दिन कामरेड माधव नेपाल अति कमसल र निम्नकोटीको रङिगन बुट्टादार सेतो राउण्ड गञ्जी, पाइन्ट र चप्पलमा त्यहाँ सहभागी हुन पुगेका थिए।

तर मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, नारायणमान बिजुक्छेँ, भरतमोहन अधिकारी, कमल कोइराला, राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, झलनाथ खनाल, बामदेव गौतम, बाबुराम भट्टराई, सुवासचन्द्र नेम्वाङ आदि जस्ता कम्युनिष्ट नेताहरू भने यस्ता औपचारिक समारोहहरूमा चिटिक्क परेर गम्भीर मुद्रामासरिक हुन रुचाउँथे। यदाकथा मोहनचन्द्र अधिकारी भने झगडालु मुद्रामा भेटिन्थे।

जनआन्दोलनको समयमा रात दिन निकै व्यस्त रहेको कारणले हुनसक्छ, प्रजातन्त्रको पुनर्वहाली भएको केही समय पछि नै मेरा पिताजीको मस्तिष्कमा रक्तश्राव भएर उहाँ केहि समय अस्पतालमा नै बस्नु पर्‍यो।

वीर अस्पतालको बसाईँमा उहाँलाई एकाध दिन बिराएर भेट्न आउने राजनैतिक हस्तीहरूमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, नारायणमान विजुक्छेँ, बासु रिसाल, पद्मरत्न तुलाधर, सिन्धुनाथ प्याकुर्‍याल, पद्म ठकुराठी आदि थिए।

भाग्यवश उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुन थाल्यो र त्यसको करिव एक महिना पछि उहाँलाई हामीले अस्पतालबाट घरमा लग्यौं। उहाँको स्वर पुरानै अवस्थामा निस्कन महिनौँ लाग्यो भने शरीरमा स्फुर्ति र स्मरण शक्ति फर्कन पनि निकै समय लाग्यो।

उहाँ हिँडडुल गर्न र लेखपढ गर्न सक्ने भए पश्चात हामी छोरा छोरीहरू मध्येबाट कोही न कोही उहाँको सहयोगीको रूपमा उहाँको साथमा हिँड्न थाल्यौँ। कैयन् औपचारिक कार्यक्रमहरू र विभिन्न व्यक्तिहरूसँग भेट्न जाँदा म पनि उहाँको साथमा जाने गर्दथेँ। यसरी धेरैजना महत्वपूर्ण व्यक्तिहरूसँग हुने गरेका कुराकानीहरू समेत मैले सुन्ने मौका पाएको थिएँ त्यतिबेला।

चिनियाँ राजदूतावासको सो कार्यक्रममा म पिताजीसँग सहभागी भएकोले उहाँसँग नै यता उता घुम्दै विभिन्न व्यक्तिहरूसँग उहाँले कुरा गर्दा म सुनेर बसिरहेँ। मदन भण्डारीसँग गफ गर्दै गरिरहेका चन्द्रप्रकाश मैनालीको नजर मेरा पिताजीमा पर्ने वित्तिकै उनले मदन भण्डारीलाई पिताजीसँग परिचय गराए।

मदन भण्डारी र मेरा पिताजीको यो नै पहिलो प्रत्यक्ष भेट रहेछ। भेटमा पिताजीले उनीसँग भेट भएकोमा निकै खुशी लागेको कुरा बताउनु भयो भने, मदन भण्डारीले पनि भूमिगत अवस्थामा उनले पिताजीका प्रकाशित लेखहरू पाए जति पढेको कुरा सुनाए।

पिताजीका लेखहरू निकै स्तरीय र सान्दर्भिक तथा नयाँ नयाँ विचारधारा सहितका हुने र केही लेखमा छापिएका विचारहरूमा आफूहरू सहमत नभएता पनि त्यस्ता लेखहरू पनि पुरै पढ्ने गरेको कुरा उनले बताए।

पञ्चायतको अन्त तिरका दिनहरूमा मेरा पिताजीले कम्युनिष्टहरू र प्रजातन्त्रवादीहरूलाई जेल मुक्त गर्न गरेका प्रयास, पञ्चायतमा सुधारहरू ल्याउन राजा र सरकारका विभिन्न व्यक्तिहरूलाई दिएका रायसल्लाहहरू र केही सकारात्मक कदम नचालिएपछि भने जनआन्दोलनको तयारी भएको र यस अघि आफ्नो निवासमा विभिन्न पार्टीका नेता, मानव अधिकारवादी, वुद्घिजिवी तथा पत्रकारहरूका कैयन् जमघटहरू गराएर आन्दोलनको लागि सबै थरिका नेताहरूलाई एकजुट हुन हौसाउने कार्यहरू गरेकोमा मदन भण्डारीले आफू आभारी भएको कुरा बताए। उनले आउँदा दिनहरूमा मेरा पिताजीसँग भेटिरहने र विभिन्न विषयमा छलफल तथा सरसल्लाह गरिरहने कुरा पनि बताएका थिए।

कुराकानी कै क्रममा मदन भण्डारीले निकै मुस्कानका साथ केही समय अगाडि जनआन्दोलनको उत्कर्ष ताका इटहरीमा घटेको एउटा घटना बारे सुनाए। भएको के रहेछ भने, जनआन्दोलनकै क्रममा मेरा पिताजी र केही वुद्घिजिवीहरूले जनआन्दोलनको औचित्य बारे सर्वसाधारणलाई जानकारी दिन एकचोटी पुर्वी नेपालका विभिन्न ठाउँहरूमा गएर कोणसभा गरेका रहेछन्।

यस्तो कोणसभाको कार्यक्रम पनि जनआन्दोलन अघि पिताजीले आयोजना गरेका भेलाले जनआन्दोलनको दौरान गर्ने भनेर औंल्याएका विभिन्न कार्यक्रमहरू मध्येको नै रहेछ। यस्तै इटहरीमा आयोजित एउटा कोणसभामा एकजना झप्प जुँगादाह्री पालेको र चश्मा लगाएको व्यक्तिले पिताजी र अन्य विद्घानहरूलाई अनेकन प्रश्नहरू गरेका रहेछन्।

निकै सान्दर्भिक ती प्रश्नहरूको मेरा पिताजीले सटिक जवाफ दिनुभएको रहेछ। तर केही समयपछि नै त्यो व्यक्ति सो सभाबाट बाहिरिएर गएको रहेछ। इटहरीबाट घर फर्केपछि पिताजीले हामीलाई इटहरीमा त्यसरी एकजना व्यक्तिले निकै वौद्घिक प्रश्नहरु गरेको तर आफूले सभा पश्चात सो व्यक्तिसँग भेट्नै नपाएको कुरा बताउनु भएको थियो।

चिनियाँ दूतावासमा मदन भण्डारीले सो व्यक्ति आफू भएको र आफू त्यतिबेला भूमिगत रहेकोले भेष बदलेर आएको कुरा बताए पछि एकछिन निकै हँस्सीको वातावरण छाएको थियो।

यो भेट पछि मदन भण्डारीको नक्सालस्थित घर, एमाले मुख्यालय बागबजार र हाम्रो घरमा समेत मदन भण्डारी र मेरा पिताजीको भेटघाट बाक्लिँदै गयो भने भूमिसुधार, समाजवाद तथा कैयन् नीतिगत मुद्दाहरूमा पनि मेरा पिताजीले मद्दत र सल्लाह दिने मौका पाउनु भयो।

त्यतिबेला सुन्नमा आए अनुसार मदन भण्डारी जति नै व्यस्त भएता पनि उनले यो यो व्यक्तिले फोन ग¥यो वा भेट्न आयो भने आफूलाई खवर गर्नु भनेर दिएको लिस्टमा मेरा पिताजी पनि पर्नु भएको रहेछ।

सन् १९९६ मा नेपाल र भारतको बीचमा भएको महाकाली सन्धिको चारैतिर विरोध हुन थालेपछि यसले पछि दुरगामी र नकारात्मक असर पार्छ कि पार्दैन भनेर बुझ्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बनाएको समितिमा मेरा पिताजीलाई पनि मनोनयन गरिएको थियो।

सो समितिको वैठकमा उठेका कैयन् प्रश्नहरूको अध्ययन पश्चात मेरा पिताजी र मदन भण्डारीको बीच विस्तृत कुरा भएको र दुबैको ठहर यो सन्धिले भविष्यमा नेपाललाई लाभ भन्दा पनि हानी बढी हुने गरी दुरगामी असर पार्दछ भन्ने भयो।

त्यसपछि मदन भण्डारीले मेरा पिताजीलाई अब यो समितिमा बसिरहँदा राम्रो नहु्ने र सरकारी पक्षले दुरगामी असर पर्दैन भन्ने आशयको रिपोर्टमा हस्ताक्षर गराउने भएकोले आजसम्म कमाएको सबै इज्जत र मान माटोमा मिल्ने देखिएकोले सोबाट राजिनामा गर्न सुझाएछन्।

सोही मुताविक मेरा पिताजीले गिरिजाप्रसाद कोइरालालाई भेटेर राजिनामाको कुरा गर्दा उनी निकै आक्रोशित भएछन्। पछि पिताजीले प्रेस मार्फत सो समितिमा आफू अब नभएको व्यहोरा सार्वजनिक गर्नुभयो ।

सो समितिमा अन्य केहि गण्यमान्य व्यक्तिहरू रहेको र उनको सकारात्मक रिपोर्ट पछि सरकारले उनीहरूलाई मोटो पारिश्रमिक दिएको पनि सुन्नमा आएको थियो।

आज नेपालका अधिकांश पहिलो पुस्ताका कम्युनिष्ट, काङ्ग्रेस र अन्य पार्टीका इमान्दार नेता तथा स्वतन्त्र विचारकहरूको निधन भइसकेको छ भने मदन भण्डारी जस्ता दोश्रो पुस्ताका तथा उत्कृष्ठ संगठनकर्ता, निष्कलंक, सरल, अति नै प्रतिभाशाली र आशा लाग्दा नेता पनि षडयन्त्रको शिकार भएर यो धर्ती छोड्न वाध्य भएको ३० वर्ष भइसक्यो।

नेपालको विकास र प्रजातन्त्रको सम्वद्र्धनमा प्रतिवद्ध राष्ट्रवादी र शालिन राजा वीरेन्द्र त्यसरी नै षड्यन्त्रको शिकार बनेर ब्रह्मलीन भएको २२ वर्ष बितिसक्यो।

यस दौरान कैयन् चोटी संबिधान बने, आन्दोलन भए, मुलुक संघीय गणतान्त्रिक बाटोमा हिँड्न थाल्यो, जनताले नेताहरूबाट धेरै प्रकारका आश्वासन पाए, धेरै आशा गरे, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी आदिले देखाएको बाटोमा हिँडेर मुलुक हाँक्छौँ भनेर नेताहरू कस्सिए पनि।

कम्युनिष्टहरूले मदनकै जबजलाई पछ्याएर विश्वमा हावी तथा असफल हुँदै गएको एक दलीय तानाशाही कम्युनिष्ट शासन प्रणालीलाई छोडेर बहुदलीय प्रजातान्त्रिक जनवादको पक्षमा उभिएर आजसम्मको विशाल सफलता प्राप्त गर्न पनि सफल भए। केही हदसम्म नेपालले मानव अधिकार, सामाजिक रुपान्तरण, प्रजातन्त्र र आर्थिक विकासका विभिन्न पाटामा सफलता पनि हासिल गर्दै नै गएको छ।

यसरी राजनैतिक तथा अन्य रूपमा अति नै सफल भएता पनि खासगरी नेपालका बामपन्थीहरूले मदन भण्डारीको जस्तो चोखो छवी, इमान्दारिता र सांगठनिक कुशलतालाई साथमा लिएर हिँड्न नसकेकाले आज उनीहरू बुर्जवा भन्दा पनि भ्रष्ट, कुटिल र झगडिया तथा स्वार्थी बाटो समाउन बढी रुचाउने भएका छन्। तर सबैजना भने पक्कै त्यस्ता छैनन् तर विडम्बना, जो स्वच्छ छन्, तिनीहरू ओझेलमा परेका छन्।

कतिपय मानिसहरू आजका अधिकांश नेताहरूको नाङ्गो र घिन लाग्दो नाच देखेर मदन भण्डारी भएको भए उनी पनि यस्तै हुने थिए होलान् भन्ने गर्दछन्। तर अघि बयान गरिए जस्तै मानिसको चरित्र र कार्यशैली तथा मन बुझ्न उसको बाहिरी आवरण र वचनवद्धता र स्पष्टवादिता नै काफी हुन्छ।

भलै विकास अर्थशास्त्र र आधुनिक युगको उच्च शिक्षाबाट वञ्चित भएका व्यक्ति किन नहोउन् मदन भण्डारी एक प्रकारले आफ्नो बाटो बारे दृढ सङ्कल्पित थिए। उनको यही गुणको सुक्ष्म अध्ययन गरेर नै उनलाई अरु भन्दा फरक भएका व्यक्ति र आफ्ना खुनी चालहरूलाई अघि बढाउन बाधकको रूपमा देखेका दूरदर्शी शत्रुहरूले अरुलाई छोडेर उनको षडयन्त्रपुर्ण बध गरेको हुन सक्छ।

आज उनका र विश्वेश्वरका पनि अनुयायी र सहयात्रीहरू उनीहरूकै राजनैतिक दर्शनलाई पछ्याएर सत्तामा पटक पटक पुगेका भएता पनि उनीहरू मध्ये धेरै जना पञ्चायती शासक भन्दा पनि भ्रष्ट, अराजक र देशद्रोही कृयाकलापमा लाग्ने काम गर्दै आज अकुत पैसा कमाउने खेलामा लागेका छन्।

जनता झन् झन् गरिव हुँदै गएका छन् भने नेता, व्यापारी र बिचौलिया मोटाएर विस्फोट हुने अवस्थामा पुगेका छन्। कठै विचरा विश्वेश्वर, मदन र वीरेन्द्र। अब कहिले यी जस्ता राष्ट्र र जनतालाई माया गर्ने साक्षात व्यक्तित्वले यो धर्तीमा जन्म लेलान्।

लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *