बजेट भाषण

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा २.३७ प्रतिशतले कम

डिसी नेपाल
१५ जेठ २०८० १९:३०

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०\०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु ४ खर्ब ८ करोड विनियोजन रहेको अर्थमन्त्री महतले बताए।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड व्यहोर्दा रु ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री महतले जानकारी दिए।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठूलो बजेट प्रस्तुत गरेका हुन्।

स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रुपमा लिएको महतले बताए। सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *