एसिया कप फेरि संकटमा, भारतले पाकिस्तानको प्रस्ताव मानेन, आयोजकमा श्रीलंकाको दावी

डिसी नेपाल
१६ जेठ २०८० १७:२३

काठमाडौं । भारत र पाकिस्तानको विवादका कारण एसिया कप फेरि एकपटक संकटमा परेको छ । केही समयअघि भारतले पाकिस्तानको हाइब्रिड मोडल मान्न तयार भएको रिपोर्ट आएका थिए । यी रिपोर्टका आधारमा एसिया कप विवादको गाँठो फुकेको अपेक्षा गरिएको थियो । तर, एक पटक फेरि यो गाँठो अल्झिएको छ ।

आइतबार आइपीएल फाइनलका क्रममा भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तान क्रिकेट बोर्डका प्रमुखहरुले अहमदाबाटमा बैठक बसेका थिए । यो बैठकपछि अचानक श्रीलंकाले एसिया कप आफ्नो देशमा आयोजना गर्ने प्रस्ताव गरेको छ । ‘श्रीलंका क्रिकेट छोटो सूचनाकै आधारमा एसिया कप आयोजना गर्न तयारी अवस्थामा छ । अब यसको निर्णय एसीसीको हातमा छ’ श्रीलंका क्रिकेटमा एक अधिकारीले क्रिकबजलाई भने ।

उता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) पनि पाकिस्तानको हाइब्रिड मोडलसँग सहमत छैन । उसले सामान ओसारपसार गर्न समस्या हुने कारण देखाउँदै प्रतियोगिता एउटै स्थानमा हुनुपर्ने माग गर्दै आएको छ । रिपोर्टमा बीसीसीआइले आयोजना स्थलबारे कुरा गर्दै ‘कोलम्बो नभए कुनै पनि हुँदैन’ भनेको दावी गरिएको छ ।

अर्कोतर्फ पाकिस्तानले एसिया कपका कम्तीमा ४ खेल आफ्नो देशमा हुनुपर्ने माग गरेको छ । र, यदि यो प्रस्ताव स्वीकार गरिएन भने पाकिस्तान आगामी अक्टोबरमा हुने विश्वकप खेल्न भारत नजाने पनि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले बताएका छन् । पाकिस्तानबाट एसिया कपको आयोजना अधिकार खोसियो भने पीसीबीले एसिया कप बहिष्कार गर्न सक्ने समेत उनले बताएका छन् । यस्तोमा पछिल्ला घटनाक्रमले एसिया कपको भविष्य झनै अन्योलमा पारेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *