काठमाडौंमा रोजगार मेला सुरु

डिसी नेपाल
१६ जेठ २०८० २१:५५

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आजदेखि महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुईदिने मेला सुरु भएको हो ।

मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेका बीचमा पुलको काम गर्ने बताए।

उनले रोजगार मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवालाई रोजगार मेलाले रोक्न सक्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको साथ र सहयोग रहेको बताए। उनले बजेटले स्टार्टअप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताए।

मेलामा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ ।

कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्य मेलाले लिएको छ ।

रोजगार मेलामा सयभन्दा बढी कम्पनीको सहभागिता रहेको छ । महासङ्घले मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य लिएको छ । मेला भोलिसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *