प्रधानमन्त्रीदेखि रवि र बालेनसम्म भारतमा, संयोग कि सल्लाह ?

डिसी नेपाल
१९ जेठ २०८० १४:१५

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा हाल भारत मै छन्।

उनले देशको प्रतिनिधित्व गर्दै बुधबार छिमेकी राष्ट्र भारत भ्रमणमा निस्किएका थिए। प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरिसकेका छन्।

उनले शुक्रबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा द्विपक्षीय विद्युत व्यापार सम्बन्धि विभिन्न सम्झौता समेत गरेका छन्।

अहिले प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणको तालिका अनुसार विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त रहेका छन्। शुक्रबार मध्य प्रदेशको इन्दोरमा पुगेका उनी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यही बुधबार प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारततर्फ लागेका थिए। उनको भारत भ्रमण निजी भएको बताइएको छ।

देशको प्रधानमन्त्रीदेखि संसदको चौथो शक्ति रहेको दलका सभापति लामिछाने भारतमै रहेका बेला काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि भारत लागेका छन्। उनी बिहीबार भारततर्फ लागेका हुन्।

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री दाहाल, संसदको चौथो दलका सभापति लामिछाने र काठमाडौं महानगरकै मेयर भारतमै पुग्नु आकस्मिक हो या योजनाबद्ध भन्ने तर्क गरेका छन्। यसलाई लिएर कतिपयले सामाजिक सञ्जालमा अनौठो संयोग हो या सल्लाह भन्दै प्रश्न समेत गरेका छन्।

रास्वपाका सभापति लामिछाने पारिवारिक कामले पत्नी निकिता पौडेलसँग भारत गएका हुन्। उनी अहिले पारिकारिक कामले भारतको मुम्बईमा छन्। उनी सोमबार स्वदेश फर्कने बताइएको छ।

उनको भारत भ्रमण विशुद्ध पारिवारिक भएको रास्वपाले जनाएको छ। प्रधानमन्त्रीसँग समय मिल्नु संयोग मात्रै भएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले डिसी नेपाललाई बताए।

उनले भने, ‘विशुद्ध निजी भ्रमण हो।पार्टीका अन्य नेता कसैको पनि सहभागीता छैन। उहाँहरु दुई जनामात्रै जानुभएको हो।’

प्रवक्ता ढकालका अनुसार लामिछाने नितान्त निजी कामका लागि भारत गएका हुन्। निजी भ्रमण भएकाले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय नभएको उनले प्रष्ट्याए।

महानगर प्रमुख शाहले उपमेयर सुनिता डंगोललाई कार्यबाहकको जिम्मेवारी सुम्पेर भारत तर्फ लागेका हुन्। उनी पत्नी सविना काफ्ले सहित भारतको बैंगलौरमा व्यक्तिगत कामका लागि हिँडेका हुन्। उनको स्वदेश फर्कने समय बारे केही बताइएको छैन।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले मेयर शाह व्यक्तिगत कामका लागि भारत लागेको डिसी नेपाललाई बताए। उनले पारिवारिक कामका लागि भारत गएकाले भ्रमणको उद्देश्य र समयावधिबारे अनभिज्ञता प्रकट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *