मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन सेबोनको आग्रह
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह गरेको छ। यस कम्पनीले आईपीओ जारी अनुमतिको लागि सेबोनमा आवेदन नदिएको भन्दै सेयर खरिद नगर्न आग्रह गरेको हो।
धितोपत्रसम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने व्यवस्था छ। सोहीअनुसार संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ।
बोर्डको बिना स्वीकृति नेपालमा धितोपत्र निष्कासन गर्ने कार्य गैर कानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्ययवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने जनाएको छ। कम्पनीले उक्त व्यवस्था विपरित बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरी सेयरमा आवेदन दिन आह्वान गरेको थियो।
बोर्डले कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्रै लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment