नागरितासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान
काठमाडौं। सामाजिक अभियन्ता तारा बरालले नेपालको संविधान च्यातेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संविधानका उक्त धाराहरु च्यातेकी हुन्।
सार्क मुलुकभन्दा बाहिर गएर आवासीय अनुमतिपत्र लिएका नेपालीहरुले त्यहाँको नागरिकता नत्याग्दा पनि यहाँको नागरिकता कायम रहनुपर्ने उनको माग छ । ‘नेपाल सरकारले रोजगारी नदिएकै कारण नेपालीहरु विदेशिन बाध्य भए। सरकारले उनीहरुलाई नेपाली माटोसँगको सम्बन्ध विच्छेद गरिदियो। बाबु, आमा, छोराछोरीसँगको सम्बन्धविच्छेद गरिदियो। कसैले यो देशको नागरिकता त्याग्नुपर्छ भने यो देशमा पैसा पठाउला?’– उनले भनिन्।
विदेशमा गएकाहरु उक्त देशमा सुविधा लिनका लागि त्यहाँको नागरिकता लिन बाध्य हुने गरेको उनको भनाई छ । ‘उनीहरुले सुविधा पाउनका लागि त्यहाँको कार्ड लिनका लागि बाध्य हुन्छन् । अझ बढि सुविधा लिनका लागि त्यहाँको नागरिता लिन बाध्य हुन्छन् । हाम्रो देशको सरकारले रोजगारी दिएन र उनीहरु विदेश गए । बाबु विदेश गयो । उतैको नागरिकता दिएपछि छोरीको नागरिकता के भनेर दिन्छ नेपाल सरकारले?’–उनले प्रश्न गरिन् ।
संविधानको धारा १४ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।
त्यसैगरी, धारा २८९ (२) मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन बाहेकका पदमा नियुक्ति हुन वंशज, जन्मका आधारमा र अंगिकृत नागरिकता प्राप्त गरेका व्यक्ति योग्य हुने व्यवस्था राखिएको छ ।
त्यसैगरी संविधानको धारा २९१ ले कुनै पनि नेपाली नागरिकले विदेशमा स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा निर्वाचित, मनोनयन र नियुक्तिका लागि रोकेको छ । यीनै बुँदाहरुमा असन्तुष्टि जनाउँदै उनले यही परम्परा कायम रहिरहे नेपाली जति अन्य देशको स्थायी आवासीय प्रमाण पत्र लिने र जन्म र अंगिकृत नागरिकता लिएकाहरुले भोलिका दिनमा शासन गर्ने अवस्था आउन लागेको भन्दै उनले विरोध जनाएकी हुन् ।
अहिलेको संविधानले नेपालीलाई विदेशी बनाउने र विदेशीहरुलाई नेपाली बनाउने काम गरिरहेको उनको आरोप छ । संविधान लेखनकै क्रममा यसका लागि ठूलो चलखेल भएकोसमेत उनको आरोप थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment