विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी

डिसी नेपाल
५ असार २०८० २०:१५

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४२ बल बाँकी छँदै पुरा गरेको हो ।

नेपालको जितमा भीम शार्की र दिपेन्द्र सिंह ऐरीले ७४ रनको साझेदारी गरे । भीमले सर्वाधिक ७७ रन बनाउँदै नटआउट रहे । उनले ११४ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै दिपेन्द्र सिंह ऐरी ३९ रनमा नटआउट रहँदा कुशल भुर्तेलले ३९ रन बनाएर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्कर, नोस्तुश केन्जीग, निसर्ग पटेल र स्टेभन टेलरले समान एक एक विकेट लिए ।

त्यसअधि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो । अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भए । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । निसर्ग पटेलले २५ बल खेलेर ८ रन बनाए ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *