‘बागमती प्रदेश सरकार र प्रतिपक्षबीच योजना बाँडफाँटका विषयमा सहमति जुट्यो’

डिसी नेपाल
१८ असार २०८० १७:५६

मकवानपुर। राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकार र प्रतिपक्ष दलहरूबीच योजनाको बाँडफाँटको विषयमा सहमति जुटेपछि बजेटमाथिको छलफल प्रारम्भ भएको बताएका छन्।

प्रदेश सरकारले ल्याइएको बजेट असन्तुलित र जनहित उपेक्षा गरिएकाले संसद्लाई अवरुद्ध गरेर आफ्नो प्रजातान्त्रिक अधिकारको उपयोग गरेको जिकीर उनको छ ।

रासससँग सङ्क्षिप्त कुराकानी गर्दै उनले बजेटमाथि प्रतिपक्ष दलहरूको असन्तुष्टि रहनु स्वाभाविक भएको बताए । नेता थापाले बजेटका केही त्रुटि र अव्यावहारिक पक्षलाई सुधार गरी नयाँ सोच चिन्तनका अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।

उनले भौतिक पूर्वाधारका योजनालाई परिमार्जनसहित क्रमशः कार्यान्वयन गर्दै लैजाने र तीन दिनदेखि अवरुद्ध रहेको सभालाई सञ्चालन गर्ने सहमति भएको बताए।

प्रतिपक्षहरूले उठाएका मागहरूलाई क्रमशः बजेट र योजनालाई समावेश गरी कार्यान्वयन गर्दै लैजाने विश्वासलाई प्रतिपक्षले इमान्दारितापूर्वक लिएको बताए। नेता थापाले अब सरकार र संसद्ले कार्यसूची तयार गरेर केही दिनभित्रै विनियोजित बजेट पारित गर्नेतर्फ प्रतिपक्षको प्रयास रहने दृढता व्यक्त गरे ।

उनले कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचारलाई उच्च प्राथमिकतामा राखेर र राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भीमफेदी–कुलेखानी–काठमाडौँ जोड्ने सु्रुङमार्गलाई पूर्णता दिएर योजनामा समावेश गरी कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको इमान्दारिताको खाँचो परेको बताए।

गत असार १ गते सरकारद्वारा सभामा प्रस्तुत बजेटमाथि असार १२ गतेदेखि छलफल हुने कार्यतालिका थियो । तर बजेटमाथि फरक मत राख्दै प्रतिपक्ष दलहरूले सभा अवरोध गर्दै आएका थिए ।

अब केही दिनभित्रै बजेट पारित गर्ने प्रक्रियालाई प्रतिपक्षहरूले सक्रियाताका साथ सहयोग गर्ने नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक मधुसूदनप्रसाद पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *