संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुकाे प्रतिबद्धता

डिसी नेपाल
१९ असार २०८० १२:५९

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ।

मंगलबार सभामुखकाे पहलका सिंहदरबारमा बसेकाे शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको हाे।

बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए। मन्त्री गुरूङले समितिको सभापतिमा पूर्व सहमति अनुसार नै हुने बताए। ‘पहिलेकै सहमति कार्यान्वयन हुन्छ,’ उनले भने।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो। समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो। तर समितिका सभापति चयन हुन नसक्दा जेष्ठ सदस्यले बैठककाे अध्यक्षता गर्दै आएका छन्।

सभामुख देवराज घिमिरेकाे पहलमा भएकाे बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी थिए।

यसैबीच संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाएका छन्। बैठककाे जानकारी दिँदै सभामुख घिमिरेले भने-अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ। छिट्टै नै समितिले नेतृत्व पाउँछ। समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ। ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *