प्रहरी संगठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको छः महानिरीक्षक कुँवर

डिसी नेपाल
२२ असार २०८० १९:४८
132
Shares

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताएका छन्। आज प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उनले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पारे।

उनले संगठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताए । सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उनको भनाइ छ ।

वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामक रूपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए।

साइबर अपराधको विषयमा पत्रकारको जिज्ञासामा महानिरीक्षक कुँवरले जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउने भन्ने सरकारको निर्णय रहेकाले त्यसमा चुनौती रहेको र त्यसका लागि आवश्यक मार्गदर्शन निर्माण गर्ने चरणमा रहेको जानकारी दिए ।

उनले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको बताए।

उनले प्रहरी समायोजनको विषय सरकारको योजनामै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बाढाउने बताए। महानिरीक्षक कुँवरले सङ्गठनमा आफ्नो कुनै स्वार्थ नरहेको तर केही जिज्ञासा भएमा सिधा फोनबाट जानकारी लिन सकिने पनि बताए।

समाज सुधार तथा शुसासन कायम गर्नका लागि होस्टेमा हैँसे गर्न आफू तयार रहेको उनले प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *