सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षक पौडेलको निर्देशन
काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौँ स्थापना दिवस सम्पन्न भएको छ। आइतबार कपिलवस्तुको चन्द्रौटामा आयोजित समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिए।
महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै संगठनमा उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिए। नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उनकाे भनाइ थियो।
मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिए।
पछिल्लो समय सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउँदै महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गरे।
विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। विपद् व्यवस्थापन एक्लो प्रयासबाट सम्भव नहुने भएकाले सबै सरोकारवाला निकायसँग समन्वय र सक्रियताका साथ काम गर्न उनले निर्देशन दिए।
त्यस्तै, वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै संगठनको नीति तथा निर्देशनअनुसार अघि बढ्न पनि उनले आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment