मर्निङवाकमा हिडिरहेका महिलाहरुको सिक्रि लुटपाट गर्ने समूह पक्राउ

डिसी नेपाल
२४ असार २०८० १६:३६
4.3k
Shares

काठमाडौं । नेपाल प्रहरीले श्रृखलाबद्ध रुपमा सुनको सिक्रि लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाईकलको प्रयोग गरेर बिहानको समयमा मर्निङवाकमा हिडिरहेका महिलाले लगाएको सुनको सिक्रि लुटपाट गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

घटनाको अनुसन्धानका क्रममा काठमाडौंको विभिन्न स्थानमा लुटपाट गर्न प्रयोग भएको मोटरसाइकलसहित रामेछाप घर भई हाँडिगाउ बस्ने रविन दमाई, धरान घर भइ चावाहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरुले सुनको सिक्रि लुटपाट गरेको खुलेको र सिसिटिभि लगाएतका माध्यमबाट अनुसन्धान पछि उनीहरुलाई पक्राउ गरिएको केसीले बताए ।

पक्राउ परेका मध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरिको मोटरसाइकल प्रयोग गर्ने र अर्का व्यक्तिहरुले सुनको सिक्रि तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट सुनको ढिक्का एक थान, सिक्रि लुटपाट गर्न प्रयोग भएको दुईवटा मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *