समाजवादको वैचारिक आधार निर्माणमा केन्द्रित हुन प्रधानमन्त्रीकाे आह्वान

डिसी नेपाल
२५ असार २०८० १:४०
72
Shares

काठमाडाैं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरेका कारण समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका हुन्।

उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत श्रष्टाहरुको महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनले बताए।

उनले युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्‍याउन पुष्पलालले अनुसरण गरेको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने जिकिर गरे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले पुष्पालालको योगदानलाई युवामाझ पुराउनुपर्ने बताए। उनले पुष्पलालका नाममा स्थापना गरेको पुरस्कार वितरणमा सरकारले गरेको योगदानप्रति आभार व्यक्त गरे।

कार्यक्रममा पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९ राजनीतिक/सैद्धान्तिक बिषयतर्फ कमलप्रसाद कोइराला, इतिहासतर्फ डा बालचन्द्र मिश्र र साहित्य, संस्कृति र विज्ञानतर्फ गोपालप्रसाद थपलियालाई प्रदान गरिएको थियो । पुरस्कारहरूको राशि सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *