इटालीका पूर्वप्रधानमन्त्रीले आफ्नी ३३ वर्षीया प्रेमिकालाई दिए १० कराेड युराे

डिसी नेपाल
२७ असार २०८० ७:१५
92
Shares

राेम। इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गत महिना निधन भएको थियो। उनले आफ्नी ३३ वर्षीया प्रेमिका मार्टा फासिनाका लागि १० करोड युरो छाडेका छन्।

तीन पटक इटालीका प्रधानमन्त्री बनेका बर्लुस्कोनीको कुल सम्पत्ति ६ अर्ब युरोभन्दा बढी रहेको अनुमान गरिएको छ।

फोर्जा इटालियाका डेपुटी फासिना र बर्लुस्कोनी बीचको सम्बन्ध मार्च २०२० मा सुरु भयो। यद्यपि बर्लुस्कोनीले फासिनासँग कानुनी रूपमा विवाह गरेका थिएनन्। तर बर्लुस्कोनीले आफ्नो मृत्यु ओछ्यानमा फासिनालाई आफ्नी ‘पत्नी’ भनी उल्लेख गरेका थिए।

३३ वर्षीया फासिना सन् २०१८ को आमनिर्वाचनदेखि इटालीको संसदको तल्लो सदनका सदस्य हुन्। उनी फोर्जा इटालियाकी सदस्य हुन्, बर्लुस्कोनीले १९९४ मा पहिलो पटक राजनीतिमा प्रवेश गर्दा स्थापना गरेको पार्टीमा उनी लागेकी थिइन्।

यसैबीच, बर्लुस्कोनीको व्यापार साम्राज्य उनका दुई जेठा छोरा, मरीना र पियर सिल्भियोले नियन्त्रण गर्ने भएका छन्। उनीहरु दुबैले पहिले नै व्यवसायमा कार्यकारी भूमिका सम्हाल्दै आएका छन्। अब उनको फिनभेस्ट परिवारको सम्पत्तिमा ५३ प्रतिशत सेयर हुनेछ।

पूर्व प्रधानमन्त्रीले आफ्नो भाइ पाओलोको लागि एक सय मिलियन युरो दिएका छन भने माफियासँग सम्बन्धको लागि जेल सजाय भोगेका फोर्जा इटालिया पार्टीका पूर्व सिनेटर मार्सेलो डेलउट्रीको लागि ३० मिलियन युरो छोडेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

अरबपति मिडिया व्यापारी र प्रधानमन्त्रीको रूपमा दशकौंसम्म इटालियन सार्वजनिक जीवनमा प्रभुत्व जमाउने बर्लुस्कोनीको ८६ वर्षको उमेरमा गत जुन १२ मा निधन भएको थियो। उनलाई मिलानको एक अस्पतालमा भर्ना गरिएको थियो।

मंगलबार उनका च सन्तान र अन्य साक्षीको उपस्थितिमा उनको इच्छापत्र पढेर सुनाइएको थियो।

‘म उपलब्ध स्टक मेरा छोराछोरी मारिना र पियर सिल्भियोलाई बराबर भागमा छोड्छु। म मेरा पाँच छोराछोरी मरीना, पियर सिल्भियो, बारबरा, एलियोनोरा र लुइगीलाई बराबर भागमा सबै कुरा छोडेकाे छु, ‘धन्यवाद, तपाईंहरू सबैलाई धेरै माया, तपाईंको बुबा’ शब्दहरूसहित आफ्नो इच्छापत्रमा हस्ताक्षर गर्दै लेखेकाे पत्र पढेर सुनाइएकाे हाे।

बर्लुस्कोनीले कर छलीको आरोपमा दोषी ठहरिएपछि ६ वर्षको लागि राजनीतिबाट प्रतिबन्धित हुनु अघि इटालीको प्रधानमन्त्रीको रूपमा तीन कार्यकाल सेवा गरेका थिए । उनी इटालीको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्रीकाे रूपमा चिनिन्छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *