आफैंले बोलाएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता काठमाडौंमा, माओवादी नेता दिल्ली प्रस्थान

डिसी नेपाल
७ साउन २०८० १५:०४

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आएकै दिन माओवादी नेताहरु नयाँ दिल्लीमा पुगेका छन्।

नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौं आइपुगेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगाएतले स्वागत गरेका थिए ।

नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने युआन च्या च्युन सबैभन्दा वरिष्ठ नेता हुन्। तीन दिने नेपाल भ्रमणका क्रममा उहाले बिभिन्न दलका नेताहरुसंग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

आफैंले पथप्रदर्शक मान्ने माओत्सेतुङको भूमिबाट भाइचारा चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल आएकै दिन सत्तारुढ माओवादीका नेताहरु भने भारतीय हिन्दुवादी पार्टी भाजपासँग सम्बन्ध बलियो बनाउने भन्दै आज तीन बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

हालसम्मै नेपालका माओवादीले आदर्शवान ठान्ने माओले जनयुद्धपश्चात तय गरेको शासकीय संरचना अनुरुप आधुनिक चीन अग्रगतिमा लम्किरहेको छ । तथापि आर्थिक रुपमा भने उदार पूँजीवादी अर्थव्यवस्था अंगिकार गरेको चीनले व्यापारिक रुपमा विश्ववजारमा बलियो पहिचान कायम गर्न सफल भएको छ।

नेपालमा माओवादीले पनि लामो समय सम्म सुरु गरेको सशस्त्र संघर्ष चिनियाँ नेता माओत्सेतुङलेको जनयुद्धबाट प्रभावित भएर गरेको हो । अहिले पनि पार्टीको नाम माओवादी नै यथावत छ । यद्यपि नामको व्यावहारिक तादाम्यता नमिलेको माओवादी नेताहरुले कैयौं पटक सार्वजनिक रुपमा स्वीकार गर्दै आइरहेका छन् ।

आफैंले आदर्शवान र पथप्रदर्शक मानेको माओको भूमिबाटै मित्र पार्टीका नेताहरु आएकै दिनमा भाजपाका नेताहरुसँग भेट गर्ने भन्दै माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत भ्रमणमा गएको हो।

भाजपाको निमन्त्रामा दिल्ली गएको  भ्रमण टोलीमा उपाध्यक्ष भुसालसहित नेताहरु चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई र सत्या पहाडी रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *