एक क्विन्टल सुन तस्करी प्रकरण : एमालेले संसदमा कुरा उठाउने

डिसी नेपाल
१० साउन २०८० ११:०५

काठमाडौं। विमानस्थलबाट एक क्विन्टल सुन तस्करी भएको विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा कुरा उठाउने भएको छ।

एमालेले आज १२ बजे संसदीय दलको बैठक बोलाएको छ। सो बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

एमालेले आजको संसद बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने संभावना रहेको स्रोतले जनाएको छ।

‘संसदीय समितिमा सबै दलका माननीयले भन्सारबाट एक क्विन्टल सुन तस्करी हुनु गम्भीर विषय हो भनेर बोलिसक्नु भएको छ, यो विषयमा अब संसदमा प्रवेश गर्छ, त्यहाँ कुनै माननीयले गृहमन्त्रीको राजीनामा माग्नु भयो भने अनौठो हुँदैन,’ एमाले स्रोतले भन्यो।

एमालेले एक क्विन्टल सुन तस्करी भएको विषयमा संसद अवरोध भने नगर्ने जनाएको छ।

आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तिका विषयमा भने जवाफ मागिने बताइएको छ। गृहमन्त्री श्रेष्ठले सुन तस्करीका विषयमा कुनै टार वा कोटको संलग्नता भए पनि कारवाही गरेरै छाड्ने बताएका थिए।

गृहमन्त्रीले कोट भनेर एमाले अध्यक्ष केपी ओली निवासलाई संकेत गरेको भन्दै एमालेले गृहमन्त्री जस्तो व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउँदै आएको छ।

मंगलबार कम्बोडियाबाट स्वदेश फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एक क्विन्टल सुन तस्करीम गृहमन्त्रीको संलग्नता भए नभएको विषयमा जवाफ माग्ने भएका थिए।

‘विमानस्थलको सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीबाट कोट र टारको गालामा कांक्राको बियाँ टास्न खोज्दै हुनुहुन्छ,’ ओलीले भनेका थिए, ‘यत्रो सुन बाहिरिन सानो तिनो संलग्नताबाट मात्रै संभव हुँदैन। उहाँको संलग्नता छ कि छैन। छैन भने यसमा काे संलग्न छ?’

उनले गृहमन्त्रीले बोल्दा विचार पुर्याएर बोल्नुपर्ने भन्दै हद पार गरेर अभिव्यक्ति नदिने गृहमन्त्रीलाई चेतावनीसमेत दिएका थिए।

‘गृहमन्त्री भएर जथाभावी बोल्न छुट छ?’ उनले भने, ‘अर्काले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने? गृहमन्त्रीले कोट र टारका विषयमा गरेको चर्चा के हो?’

प्रतिनिधसभा बैठक दिउँसाे १ बजे बस्दैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *