एनआरएनए अध्यक्ष पदमा मेरो पुनः उम्मेदवारी रहन्छः डा. बद्री केसी

डिसी नेपाल
१९ साउन २०८० ८:३०

मस्को। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने बताएका छन्। उनी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुन्।

‘वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो। त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु। त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रीत भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छुु’ डा. केसीले भने।

उनले गैरआवासीय नेपाली संघको जुलाई महिनामा सम्पन्न राष्ट्रिय समितिको निर्वाचन निकै उत्साहजनक र विवाद रहित प्रति सन्तोष व्यक्त गर्दै भने, ‘मुख्य जिम्मेवारी विवाद व्यवस्थापनको थियो ५८ देशमा नयाँ कार्यसमिति गठन हुँदा एउटा देशमा पनि विवाद भएन। अब एनआरएनएमा जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा छु।’

उनले गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दावी रहने उनले बताए।

डा. केसीले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए। उनले अब संस्थाको नेतृत्वमा युवा महिला र बैद्धिक व्यक्तित्वले अवसर पाउनु पर्नेमा जोड दिए।

सन् २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहेका थिए। त्यसपछि २००७ देखि ००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे। सन् २००९-२०११, २०११-२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ -२०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन्। बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ।

संघको १० औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा. केसीले ११ औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धता सहित तीन अध्यक्ष मध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी भएका थिए।

डा. केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रुपमा सम्पन्न भएको छ। संघको अक्टोवरमा हुने ११ औं महाधिवेसनको लागि सम्पूर्ण तयारीहरु सुरु भएका छन्। नयाँ नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *