टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड, करिब ३० हजारको क्षति

डिसी नेपाल
२१ साउन २०८० ११:५२
156
Shares

टीकापुर। कैलालीको टीकापुर-३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षा कोठाको ढोका फोडेर डेस्क-बेन्च तोडफोड गरेको हो।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।

‘विद्यालय शिक्षा प्रदान गर्ने थलो हो। सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो। यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइँदा पुग्दैन। यो एकदमै निन्दनीय घटना हो। दोषीमाथि कडा कारबाहीको माग गर्दछौं’, भट्टराईले भने। पटक-पटक विद्यालयमा यस्ता खाले घटना दोहोरिने गरेको उनले बताए।

आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ। ‘एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ। त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपीहरू पनि च्यातच्युत पारिएको छ’, उनी भन्छन्।

यसअघि अफिस रुममै तोडफोड भएको उनले बताए। ‘यसअघि अफिसकै सामान चोरी भएको थियो। ३५ सय रुपैयाँ, भान्सामा भएका खाजाका सामान, बाल कल्याण संघले दिएको एक सय चक्की साबुन चोरी भएको थियो’, उनले भने। दोषीलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न उनले माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *