वनलाई देशको समृद्धिमा प्रत्यक्ष जोड्नुपर्छ : वनमन्त्री महतो

डिसी नेपाल
२१ साउन २०८० १३:०८
36
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने बताएका छन्। नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्‍याउनेगरि काम गर्नुपर्नेमा उनको जोड छ।

आइतबार राउण्ड टेवल नेपालले ‘एक लाख विरुवा रोपेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन्। सो अवसरमा उनले संस्थाले हरियाली देश बनाउन खेलेको भूमिकाको प्रशंसा गरे।

उनले भने, ‘राउण्ड टेवल संस्थाले आफनो उत्तरदायी कुशलतापूर्वक निर्वाह गरेको छ। म यो संस्थालाई धेरै नैबधाई दिन चाहन्छु। यो संस्थाले आफ्नो घोषणाबमोजिम एक लाख ८८ हजार वृक्षारोपण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। सबै सरोकारवाला निकायबीच समन्वय भयो भने हामी जस्तोसुकै काम पनि सहज रूपमा सम्पन्न गर्न सक्छौं । परा–पर्यावरणको लागि तीनै तहका सरकारले जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ।’

उनले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भएर वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताए।

सो क्रममा मन्त्री महतोले अब स्थानीय तहका सरकारसँग मिलेर नयाँ अवधारणा पनि ल्याउनुपर्नेमा जोड दिए। उनले हरेक व्यक्तिको जन्मदिनलाई यादगर बनाउनको लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ-डे पार्क’ बनाउन सकिने अवधारणा सार्वजनिक गरे।

उनले भने, ‘हामी हरेक आफनो जन्मदिनको अवसरमा केही न केही नयाँ काम गरिरहेका हुन्छौं। यस्तो अवस्थामा हामीले आफ्नो जन्मदिनलाई विशेष बनाउनको लागि पनि बर्थ-डे पार्कमा वृक्षारोपण गर्न सकिन्छ। त्यो पछि २०, ३० वर्षपछि झनै महत्वपूर्ण रहन्छ।’

मन्त्री महतोले वृक्षारोपण गर्नुमात्रै ठूलो कुरा नभएर यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व हुने उल्लेख गरे। जंगलभित्र काठहरु कुहिरएर बसेकोमा भने उनले चिन्ता व्यक्त गरे। अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भैरहेको तर स्वदेशमै भएका काठमहरु कुहिएर जानु दुःखको विषय भएको उनको भनाइ छ।

नेपालले अन्तर्राष्ट्रिय फोरममा गरेको प्रतिबद्धताअनुसार सन् २०२२ भित्र बाघको संख्या दोब्बर बनाउने भनेकोमा यो समयसिमाभित्र बाघको संख्या तेब्बर पुर्‍याउन सफल भएको तथ्यांक पनि सुनाए।

जंगली जनावर र मानवबीच भैरहेको द्वन्द्व कम गर्नपनि अब सबैले ध्यान दिनुपर्नेमा जोड दिए। उनले सो अवसरमा मानव-जंगली जनावरबीचको द्वन्द्व कम गर्न कसरी सकिन्छ भन्ने विषयमा राउण्ड टेवल नेपालले पनि केही योगदान पुर्याए राम्रो हुने प्रतिक्रिया दिए।

राउण्ड-टेवल नेपाललाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न आफू तयार रहेको पनि उनको प्रतिक्रिया थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *