कविता

आत्मबल र विश्वास

शंकरप्रसाद रिजाल
२ भदौ २०८० ७:०९
152
Shares

यो आकास च्यातिए के हुन्छ, नयाँ आकास बनाउँछु।

यो धर्ती फाटिए के हुन्छ, नयाँ धर्ती बनाउँछु।

यो जीवन व्यर्थ भएर के भयो, नयाँ जीवन खोज्नेछु।

मेरा साथीसंगी छुटे त के भयो, नयाँ साथीसंगी बनाउँछु।

किनकि म मा आत्मबल जागृत भएको छ।

म त्यो पंक्षी पनि त होइन, जो नउडी जीवन बिताउने।

म त्यो पंक्षी हुँ जो उडेरै नयाँ जीवन बिताउने।

मेरो आत्मबलको अभ्यासबारे मलाइ नसोध।

यस भित्र म के के पाउँछु।

यस भित्र अरु त होइन म संसार पाउँछु।

फेरि संसारमात्र हैन ब्रम्माण्ड पाउँछु,

किनकि म भित्र आत्मबलको उद्बेग पाउँछु।

यसैमा एउटा नयाँ संसार खोज्ने प्रयाश गरिरहेकोछु।

किनकि म मा आत्मबल र बिश्वाश बढेको छ।

तसर्थ यो भब सागर छुटे त के भयो?नयाँ सागर खोज्नेछु।

म त्यो डुंगा होइन जो तैरिन सक्तैन,

त्यो किनारा पनि होइन जो किनारा लगाउन सक्तैन।

निरन्तर अभ्यासले म भोलि संसार हैन ब्रम्माण्ड छोप्छु।

अब युद्ध र झगडा नगर्न म शान्तिका घोडा दौडाउँछु।

संसार मधुशाला बनी रहोस, म सधैं गरीबको साथ रहन्छु।

कसैले गर्न नसक्ने काम गर्छु, संसार चकित पारिरहन्छु।

एक्लो छु मानिसको भिडमा, तर आत्मबिश्वास छ मनमा।

त्यसैले म एक्लो भएपनि संसारलाई हेर्छु र देख्छु।

तर संसार भने मदेखि धेरै टाढा छ,

म भित्रको “म “लाई बुझ्न नसक्ने भएको छ।

मलाई थाहै भएन म भित्रको आत्मतत्व,

कुनबेला साधक बनिसकेको रहेछ।

हिजोसम्म आत्मालाई पछ्याउँदै हिँड्ने म मान्छे,

आज त्यही आत्माले मलाइ पछ्याउँदै हिँड्न थालेछ।

मेरो आत्मबिश्वास आज ठूलो भएको छ।

बलियो भएको छ, बलियो भएको छ।

यसैको जोडले म गरिबलाई धनी र पापीलाई धर्मात्मा बनाइ दिन्छु।

सारा समुद्र सुकाई अफ्रिकाको उजाड मरुभुमी पानीले भरी दिन्छु।

भोका नांगा म जस्तै कसैको छोरा छोरीहरुलाई टन्न खान दिन्छु।

एक ठाउँमा बस्न दिन्छु र सिपको तालीम दिन्छु।

किनकि म मा आत्मबल छ।

त्यही आत्मबलले बुद्ध ‘बुद्ध’ भए, लाओत्से ‘लाओत्से’ भए।

कबीर ‘कबीर’ बने भने, क्राइष्ट ‘क्राइष्ट’ बने।

र, विश्वलाई मार्ग दर्शन गर्न सफल बने।

मेरो आत्मबलको बुझाइले पनि मलाइ त्यो बिन्दुमा नपुर्‍याउला भन्न सकिन्न।

किनकि आत्मबल स्वयम् परमात्माको शक्ति हो।

जसले सबैकुराहरुको जीत हासिल गर्न सक्तछ।

तसर्थ संसारका मानिसलाई आत्मबलले यो भन्दछ कि,

एकचोटी मलाइ जीतेर त हेर, विश्वमा तिमि कति शक्तिशाली बन्दछौं।

त्यसैले त म आजकल पानीमा हिँड्न थालेको छु।

आगोमा दौडिन थालेको छु। हावाखाएर बाँच्न थालेको छु। प्रेम र करुणामा रुन थालेको छु।

बिशाल आकास निल्न थालेको छु।

बिशाल ज्ञान ओकल्न थालेको छु।

बिशाल हृदयको गुफामा लुकी,

बुद्धिको पराकाष्ठामा पुग्न खोजेको छु।

कहिलै पनि नदेखिने सत्यको खोजी गरी,

दुनियालाई दिने प्रयास गरिरहेको छु।

समयले म सबै भयबाट टाढा भएको छु,

मनमनै म बिशाल पृथ्वी देख्दछु।

सारा संसारलाई एकै ठाउँमा राख्ने प्रयाश गर्दछु।

अन्त्यमा म आफू जन्मेको भूमिमात्र होइन।

आफू जन्मेको बिश्वनै खोज्दछु।

किनकि ‘उदेश्य के लिनु उडी छुन् चन्द्र एक’

आज मेरो आत्मबल र विश्वाशले,

सारा देशहरुलाई एक देख्दछु। सारा मानवलाई पनि एकै देख्दछु।

सबैलाई अभागी हैन भाग्यमानी देख्दछु।

किनकि म आत्मबलको शिष्य होइन साधक बनेको छु।

तर यो मेरो आत्म विश्वाशको घोडाले,

एक दिन मलाई कहाँ पुर्‍याउने हो त्यो हेर्न बाँकी नै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *