अग्रजहरूको सम्मान गर्न हामीले कहिले जान्ने ?

कपिल लोहनी
९ भदौ २०८० ८:३३

विश्वका जुनै पनि राष्ट्रमा आफ्नो मुलुकका निम्ति ठूला काम गरेका व्यक्तिहरूको सम्मान गर्ने र गुणगान गाउने चलन हुन्छ।

हाम्रै छिमेकी राष्ट्रहरूमा पनि यो संस्कार छँदैछ। भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु, नेताजी सुवासचन्द्र बोश, शहीद भगत सिंह वा अन्य सबै स्वतन्त्रता सेनानी र विशेष योगदान गरेका व्यक्तित्वहरूको कदर आज पनि गरिन्छ।

त्यस्तै चीनमा माओ, देङ जियाओपेङ र सन्यात सेन आदिले गरेका योगदानको कदर स्वरुप उनको गुणगान गाइन्छ। पाकिस्तानका कायदे आजम मोहम्मद अलि जिन्हा वा बंगलादेशका बंगबन्धु शेख मुजिवुर रहमान वा भियतनामका होचिमिन्ह, सिंगापुरका लि क्वानयु, अमेरिकाका अब्राहाम लिङ्कन तथा अन्य व्यक्तित्वहरूलाई पनि त्यहाँका जनताले त्यत्तिकै प्रेमका साथ सम्झिन्छन्।

त्यस्तै मदर टेरेसा, नेल्सन मान्डेला, मार्टिन लुथर किङ, चे ग्वेभारा, डा. अम्बेड्कर जस्ता महान् व्यक्तित्वको पनि विश्वभर कदर गरिने चलन छ। इक्वाल, गालिव, फैज, टैगोर, शेक्सपियर, काफ्का, टल्स्टोई, बाक्, विथोभेन, मोजार्ट, चाइकोभ्स्की, लता, मुकेश, किशोर कुमार, मेहदी हसन, गीता दत्त, शुभलक्ष्मी, फरिदा खानम, नुरजहाँ आदि जस्ता सांस्कृतिक धरोहरहरूलाई सुसंस्कृत समाजले पुँजी नै रहेको हुन्छ।

जति नै मानव अधिकार र प्रजातन्त्रको पालना भएरहेको भएता पनि त्यस्ता धरोहरहरूलाई गाली गर्ने छुट सुसंस्कृत मुलुकहरूमा कसैलाई हुँदैन र त्यसो गर्दैनन् पनि।

तर नेपालमा जसलाई जे गर्न पनि छुट छ। जसले नेपालको महान् एकीकरण गरेकोले आज हामी आफूलाई नेपाली भनेर गर्व गर्न पाइरहेका छौं, उसैलाई हामी लुटेरा र सामन्ती भनेर उसको शालिक भत्काउने तथा गाली बेइज्जती गर्ने काम गर्दछौँ।

नेपालका कतिपय नेता भनाउँदाहरू समेत नेपाल राष्ट्रको निर्मातालाई नै निकै निर्लज्जताका साथ गाली बेइज्जती गर्ने गर्दछन् भने तिनै शासकको असिम मेहनतले बनेको देश नेपालको आफू नेता भएकोमा गर्व पनि गर्दछन्।

आफ्नो समयका विद्यमान न्याय, कानुन तथा शासन व्यवस्थासँग दाँजेर विगतको इतिहास र संस्कृतिको लेखाजोखा गर्दै आफ्नो दरिद्री भावनामा बग्ने यहाँ धेरै छन्।

विगतकालदेखिका ऐतिहासिक विभूति, शासक, विद्वान, महान् साहित्यकार, विभिन्न भाषाका आदिकवि तथा कविहरू, कलाकार, दार्शनिक व्यक्तित्वहरूलाई गाली बेइज्जती गर्ने र उनका प्रतिमा भत्काउने तथा नयाँ बनाउन नदिने र उनका कृतिहरू जलाउने र मास्ने जस्ता कुकृत्य गर्ने तथा साहित्य, कला र दर्शनमा पनि जातियताको रङ्ग पोत्ने मानिसहरू समाजमा छ्याप्छ्याप्ती भेटिन्छन् र समाजका असल व्यक्तिहरू समेत तिनीहरूको कुकृत्यलाई रोक्न डराउँछन्।

एकथरी तथाकथित मानव अधिकारवादीहरू त त्यस्ता विध्वङ्शकारी तत्वहरूको बचावमा हिँडिरहेका हुन्छन्।

१९९७ सालमा नेपाली जनतालाई राणाहरूको वर्वर शासनबाट मुक्त गराउन ज्यान समेत फ्याँकेका चार जना शहीदहरूकै पङ्क्तिमा त्यसपछि शहिद भएका भनिएका मानिसहरूलाई पनि राखिन्छ र ती खास शहीदहरूको नामलाई ओझेलमा पारिन्छ।

माफी मागेर र हार गुहार गरेर आफ्नो ज्यान जोगाउन सक्ने अवस्था हुँदा हुँदै पनि ती चार शहिदहरूले ठूलो साहसका साथ आफ्नो जीवन जनताको सुख र स्वतन्त्रताको निम्ति बलिदान गरेका थिए।

नेपालको सबैभन्दा पहिलो राजनीतिक पार्टी कुन हो भनेर सोध्यो भने नेपाली कांग्रेस भन्ने नेताहरू पनि निकै धेरै छन्। त्यस्तै २००३ सालमा नेपाली कांग्रेस स्थापना हुँदा पहिलो अध्यक्ष भएका टंकप्रसाद आचार्यको आज नामोनिशान छैन।

उनी नेपालको प्रथम राजनीतिक पार्टी नेपाल प्रजापरिषद्का पनि अध्यक्ष थिए। ब्राह्मण नभएको भए यी साहसी र निर्भिक व्यक्ति पनि पाँचौँ शहीदमा दरिने थिए।

तर पनि जन्मकैदको सजाय भोग्न बााध्य भएर १० वर्षसम्म नारकीय जीवन जिएका उनी २००७ सालको क्रान्ति पछि छुटेका हुन् र पछि नेपालका प्रधानमन्त्री भएर मुलुकको हितको निम्ति राम्रै काम गरेका थिए।

उनले आफ्नो जीवनमा सधैं नै प्रजातन्त्रको निम्ति बोल्ने गरेका थिए भने पञ्चायत कालमा बहुदलवादी नेताहरूको भेट्ने ठाउँहरूमध्ये उनकै घरले प्राथमिकता पाउने गरेको थियो। तर पनि उनलाई राजदरवारको नजिक भएको तथा मासिक भत्ता खाने गरेको जस्ता मिथ्या आरोप लागिरहन्थ्यो।

सरकारले भूतपूर्व प्रधानमन्त्रीको कदरस्वरुप मासिक १५०० रुपैयाँ दिँदा उनी राजाका मान्छेमा गनिए तर आज भूतपुर्व भएका सबै उच्च पद धारण गर्नेले पाउने मोटो रकको भत्ता, विदेशमा सपरिवार औषधोपचारको सुविधा, घर, सवारी तथा सुरक्षा सुविधा बारे भने बोल्ने कसैको हिम्मत हुँदैन।

२०४६ सालको भारतीय नाकावन्दी तथा जनआन्दोलन ताका टंकप्रसादले राजालाई भेटेर उनले राजीव गान्धीसँग एकान्तमा बसेर दुई मुलुक बीचको समस्याको समाधान निकाल्न तथा नेपाली जनताको माग मुताविक समसामयीक राजनैतिक सुधार गर्नु पर्ने विचार राखेको कुरा आफ्नो घरमा आएका हितचिन्तकहरू सामु बताएका थिए।

त्यस्तै त्यतिबेला नेपाल टेलिभिजनसँगको कुराकानीमा प्रजातन्त्रको निम्ति आन्दोलन गर्नु राम्रो भएता पनि यसमा विदेशी शक्तिको प्रत्यक्ष मद्दत लिनु उचित नभएको कुरा बताएका थिए।

उनको यही भनाइमाथि आपत्ति जनाएका राजनीतिक पार्टीहरूले तत्पश्चात टंकप्रसाद आचार्यको नाम लिन पनि छोडे। उनको निधनमा मलामी जाने मानिसहरूको संख्या ५० जना पनि भएन।

राष्ट्रको प्रधानमन्त्री भइसकेका जिउँदा शहीद तथा वयोवृद्ध नेताको निधनमा उनलाई राजकीय सम्मान दिनु त कहाँको कहाँ, आर्यघाटमा कुनै नेता वा सरकारको प्रतिनिधिको उपस्थिति नहुनु आफैंमा एउटा उदेक लाग्दो घटना भएको थियो।

त्यसपछि पनि प्रधानमन्त्री भइसकेका मरिचमान सिंह र कीर्तिनिधि विष्टले पनि त्यस्तै नियती भोग्नु परेको थियो। आखिर २००७ सालमा होस् वा पछिको प्रजातान्त्रिक आन्दोलनमा होस्, छिमेकीलाई ठाडो हस्तक्षेप गर्न दिनाले आज हाम्रो मुलुकको सबै मामिलामा उसलाई नसोधी यहाँका नेताले केही पनि गर्न नसक्ने अवस्था आएको छ।

त्यतिमात्र पनि होइन, आफ्नै पार्टीका कुनै बेलाका सम्मानित नेताहरू मध्ये कतिजना आज घरमा एक्लो जीवन बिताउन वाध्य भइरहेका छन्। गणेशमान सिंह र किशुनजी जस्ता त्यागी नेताले पनि त्यस्तो अवस्थाको सामना गर्नु परेको थियो।

कांग्रेस कै रामहरि जोशी, भिमबहादुर तामाङ, सूर्यप्रसाद उपाध्याय आदिको नियति पनि त्यस्तै भएको थियो भने वीपीको प्रजातान्त्रिक समाजवादको आज उच्चारण पनि हुँदैन।

प्रदीप गिरि जस्ता सशक्त प्रजातान्त्रिक समाजवादका अभियन्ता पनि आफ्नै पार्टी भित्र एक्ला वृहस्पति भएर रहेका थिए भने उनको विद्वतालाई पनि उनको निधन पनि मात्र बुझ्न थालेका छन् मानिसहरूले।

जबकि आजका खाँटी वामपन्थी हुँ भन्ने अधिकांश पाखण्डी तथाकथित कम्युनिष्टहरू भन्दा निकै धेरै माक्र्सवाद र समाजवाद बुझेका व्यक्ति प्रदीप नै थिए। उनी भन्ने गर्दथे कि साम्यवादीहरूको अधिनायकवादी शासनमा समाजवाद फस्टाउन सक्ने कुरै भएन, किनकी समाजवादलाई प्रजातन्त्रले मात्र मल-जल दिन सक्दछ।

नयाँ नयाँ पिँढीको आगमन सँगै पुरानालाई नचिन्नु वा नचिने जस्तो गर्नु पनि एक प्रकारको कुसंस्कार नै हो। त्यसमाथि आफ्नै पार्टीका वा समुहका अग्रजहरूलाई बिर्सँदै जानु भनेको त भोलिको लागि आफ्नो स्थान पनि त्यस्तै बनाउनु नै हो।

नेपालका कम्युनिष्टहरूले पुष्पलाललाई पनि बिर्सिसकेका थिए। तर पार्टीको एकीकरण भएर पुष्पलाल खेमा मालेसँग मिलेकाले मात्र सम्झे जस्तो गरेका हुन्। त्यो एकीकरण नभएको भए मनमोहन अधिकारीको पनि नामोनिसान रहने थिएन।

आजका वामपन्थीहरूलाई नेपाली वामपन्थी आन्दोलन कसरी शुरु भयो भन्ने कुरा समेत प्रष्टसँग थाहा नभए जस्तो गरेर उनीहरू नेपालका वामपन्थी आन्दोलनका अग्रणीहरूलाई पनि नचिनेझैं गर्दछन् र उनको नाम इतिहासबाट नै मेट्ने कोशिश गर्दैछन् जुन असम्भव छ।

उनीहरूमा आफ्नो पार्टीसँग सम्वद्ध केही पुरानियाहरूको मात्र गुणगान गाउने आदत छ। त्यति ठूलो वामपन्थी आन्दोलनको शुरुवात र विकास गर्नेहरूको फेहरिस्त बनाउँदा दर्शन, समाजशास्त्र र अर्थव्यवस्थाको कुनै अध्ययन नगरेका दुई चारजना मुण्ड बुद्धिका व्यक्तिलाई मात्र संस्थापक भनेर चिनाइँदा यही पार्टीको स्थापना र विकासका विभिन्न चरणमा ठूलो योगदान गरेका धेरै विद्वानहरू माथि चरम अन्याय गरेको सावित हुन्छ।

वामपन्थ र नेपालको वामपन्थी आन्दोलनमा विद्यावारिधी गरेका र आजको दिनमा विद्वानमा गनिएका केही व्यक्तिहरूले समेत आफू सम्बद्ध पार्टीलाई खुशी बनाउन वामपन्थी आन्दोलनका इमान्दार र अग्रज वुद्धिजीवी र योद्धाहरूको मानमर्दन गर्ने वा नामोनिशान मेटाउने काम गरिरहेका छन्।

हुनत विश्वभर नै वामपन्थको पतन हुनुको मुख्य कारण भनेकै उनीहरू भित्र प्रजातान्त्रिक मूल्य र मान्यताको कमी हुनु र पारदर्शिता नहुनु हो तथा शत्रुको सफाया हर तरहले गर्नु हो। नेपालमा त आजका अधिकांश वामपन्थी नेताहरू अशिक्षित, अल्पज्ञानी, कपटी, स्वार्थी, पदलोलुप र चरम भ्रष्टाचारी छन्।

जो वास्तविक समाजवादी वा वामपन्थी थिए, उनीहरू अधिकांश यो संसारबाट बिदा भइसकेका छन् भने जे जति इमान्दार र विद्वत वामपन्थी बाँकी छन्, ती सबै पाखा लगाइएका छन्।

आजका छद्मभेषी वामपन्थीले कुनै दिन आफ्नो पनि नराम्रो हविगत हुने र भ्रष्ट कृयाकलापका कारण कमाएको अकुत सम्पत्ति नै उनीहरूको पतनको निःसन्देह मूख्य कारक तत्व बन्ने कुरा बुझेर पनि बुझपचाइरहेका छन्। तर सत्ता र अवैध सम्पत्तिको नशा लागेका यस्ता तत्वहरूले आजको दिनसम्म पनि यस्ता कुराको खासै हेक्का राखेको देखिँदैन।

नेपाल सानो मुलुक भएता पनि यहाँ संस्कृति, कलाकारिता र साहित्यमा लागेका मानिसहरू धेरै छन्। कैयन् साहित्यकारहरूले देशविदेशमा समेत नाम कमाएका छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै तास्कन्द सम्मेलनमा साहित्य र कविता बारे गरेको अंग्रेजी भाषणले त्यतिबेला विश्वका कैयन् मुलुकबाट त्यहाँ पुगेका प्रतिनिधिहरू आश्चर्यमा परेका थिए।

तर आफ्नै मुलुकमा भने उनी आर्थिक अवस्था ज्यादै कमजोर भएकोले र यहाँका मानिसमा प्रतिभाको कदर गर्ने कला नभएकै कारण उनले निकै गरिवी र दुख भोग्नु परेको थियो। लक्ष्मीप्रसाद देवकोटा एक निम्न मध्यम वर्गका व्यक्तित्व भएकाले उच्च वर्गका बालकृष्ण समको दाँजोमा उनलाई कम मानिसहरूले पछ्याउँथे।

तर बालकृष्ण सम एक धनी व्यक्ति भएता पनि निकै सरल स्वभावका नै थिए। यसरी धनको पछि लाग्ने मानिसहरूको नेपालमा कमी छैन भने धन हुनेको विद्वता निकै कम भएता पनि हाम्रो समाजमा उनीहरूलाई अन्य विद्वानहरूलाई भन्दा बढी पुज्ने पाखण्ड कायमै छ।

शताब्दी पुरुष बनिसकेपछि नै राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मयपुरुष सत्यमोहन जोशीलाई धेरैले चिन्न र पुज्न थालेका हुन् भने केही दिनदेखि शताव्दी टेक्ने सुरसारमा रहेका सञ्चारकर्मी र लेखक भैरव रिसाललाई पनि पुज्ने कार्यको थालनी भएको छ।

यसरी दीर्घजीवी र धनी हु्ने मोहले नै मानिसहरूले यस्ता व्यक्तिहरूलाई रोलमोडल मानेर पुज्ने परिपाटी बसेको देखिन्छ हाम्रो समाजमा। राष्ट्रकवि तथा वाङ्मयपुरुष जस्ता महान् व्यक्तित्वहरू शताव्दी पुरुष बनेर भन्दा पनि उनीहरूले आफ्नो क्षेत्रमा पुर्‍याएको विशाल योगदानले पुजिनु पर्ने थियो। शताव्दी पुरुष बन्न नसकेका र अल्पायुमा नै मरेका ठूला कैयन् साधकहरूले भने आफ्नो काम र कृति मुनाविक नाम र मान पाउन सकेका छैनन्।

ख्यातीप्राप्त लोकगायक लालबहादुर खाती, गायक अरुण थापा, संगीतज्ञ कोइलीदेवी, कवि हरिभक्त कटुवाल तथा सिने द्वन्द्व निर्देशक गोपाल भूटानी आदि तथा धेरै खेलकुद तथा अन्य विधाका व्यक्तित्वहरूको निकै कारुणिक निधन हुन पुगेको थियो भने उनीहरूले जीवित छँदा खासै मानसम्मान पाएका थिएनन्।

तर हामी कहाँ व्यक्तिको मृत्यु भइसकेपछि मात्र कदर हुने चलन छ। अरुण थापा, अरुणा लामा, नारायण गोपाल, गोपाल योञ्जन आदि जस्ता गीत-संगीतका साधकहरूले पनि मृत्यु पछि नै खास ख्याती कमाएका थिए।

घरपरिवारको नै कुरा गरौं न। मेरो पिँढीले पनि सानो वा युवा छँदा आफ्ना अग्रजहरूले गरेको दुःख र मेहनतका कारण आफूले सुख पाएको कुरा बिर्सेको थियो भने आजका नयाँ पिँढीले पनि त्यसरी नै आफ्ना अग्रजहरूको मेहनतको लेखाजोखा गर्ने गरेका कमै मात्र भेटिन्छ।

एकातिर आफ्नो मात्र स्वार्थमा हिँड्न र लोभमोहको जालमा फँसिरहन मानिसलाई प्रकृतिले नै सिकाएको हुन्छ भने अर्कोतर्फ मानिसले जानाजानी पनि यस्ता कुकार्य गर्ने गर्दछ।

आर्यघाटमा जलिरहेका आफन्तको लासमा टुलुटुलु हेरेर बिलाप गर्ने सबै परिवार सदस्यहरूको भित्री मनस्थितिको सुक्ष्म अध्ययन गर्ने हो भने मर्ने मानिस भन्दा पनि उसको अनुपस्थितिमा अबको आफ्नो अवस्था र आफूलाई हुने फाइदा र बेफाइदा के के हुन्छन् भनेर मनमा गुनिरहेको तथा यो सबको निम्ति परिवारभित्र वा बाहिर अब के के रणनीति अपनाउने भन्ने कुरामा नै छोरा, बुहारी, भाई भतिजा र अन्य व्यक्ति आआफ्ना दिमागले भ्याएसम्म मनमा अनेकन तर्क खेलाइरहेका हुन्छन्।

धन्न राज्यले महाकवि देवकोटाको घरलाई संग्रहालयमा परिणत गरेर सर्वसाधारणको अवलोकनको निम्ति खुला गरेछ। त्यसरी नै अब समको ज्ञानेश्वरको घरलाई पनि छिटो संग्रहालयमा परिणत गरेर त्यहाँ भएका कलाकृति, समका साहित्यिक कृतिहरू तथा उनले खिँचेका हजारौँ फोटोहरूको भौतिक तथा इलेक्ट्रोनिक संग्रह गरिनु पर्दछ।

भानुको रम्घास्थित घरको भग्नावषेशको पुनर्निमाण र घाँसी कुवाको संरक्षण तथा अलि मिया, विद्यापति, शंखधर आदि तथा पछिल्ला पिँढीका धरोहरहरू बारेका संग्रहालयको पनि स्थापना हुनु जरुरी छ।

कैयन् विद्वत व्यक्तित्वहरूको शेषपछि उनका परिवारले उनका जीवनभरका प्रकाशित वा अप्रकाशित कृति तथा विभिन्न विषयका पुस्तक तथा पत्रपत्रिकाको संरक्षण नगरि दिएर त्यस्ता महत्वपूर्ण दस्तावेजहरू सबै नासिने गरेका छन्।

नेपालमा प्रज्ञा प्रतिष्ठान जस्ता कैयन् वौद्धिक संस्थाहरू भएका भएता पनि तिनले पनि त्यस्ता विद्वत व्यक्तिका संकलनहरूको संरक्षण गर्ने जिम्मा लिने गरेको पाइँदैन।

बरु त्यस्ता महत्वपूर्ण प्रतिष्ठानहरूलाई पनि राजनीतिक पार्टीहरूले आफ्नो भर्ति केन्द्र बनाएर मुलुकका खास विद्वान र प्राज्ञहरूको अपमान र उपहास गरेको देख्दा मनमा निकै दुख लाग्दछ।

संस्कारी मानिसले सबैको हित चिताउँछ र अग्रजहरूलाई मानसम्मानका साथै आफूभन्दा पछिका पिँढीको प्रगति र खुसहालीको निम्ति नै सोच्ने गर्दछ। यस्तो संस्कार पढेर मात्र पनि पाइँदैन।

यसको जग घर, समाज र मुलुकको परिवेश, संस्कृति, घरमा अभिभावकको सिकाई तथा विद्यालयमा शिक्षकको कुशल शिक्षाबाट बनेको हुन्छ। यसमा आफ्नो अध्ययन, अनुशासित जीवनशैली, इमानदारीता र राज्यको ढाढसले पनि ठूलो भूमिका खेलेको हुन्छ।

मजबुत जग बसाउन सहयोग पु¥याउने यी सबै परिवेशले एक सुसंस्कृत व्यक्तिको विकास हुन जान्छ। सुसंस्कृत व्यक्ति र समाजबाट नै एक समृद्ध मुलुक र राज्य व्यवस्थाको जन्म हुन सक्दछ। आफूले अरुको कदर र इज्जत गर्न जाने मात्र अरुबाट पनि त्यस्तै मान, सम्मान र कदर मिल्न सक्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *