घर न घाटको भएपछि पुरानै एजेन्डा

डिसी नेपाल
११ भदौ २०८० ८:३५

काठमाडौँ । नेपाली राजनीतिका धेरै स्वार्थी अनुहारमध्ये अग्रस्थानमा आउने नाम हो कमल थापा। राजसंस्थाको विश्वास लिएर एउटा फुटबल खेलाडी उपप्रधानमन्त्रीसम्म बने पनि उनमा संस्कार भने पटक्कै रहेन। जिन्दगीमा एक पटक चुनाव जितेका कमल थापा सधैंका हरुवा नै हुन्।

पञ्चायतमा लक्षबहादुर गुरुङ अञ्चलाधीश भएका बेलामा धाँधली गरेर जिते बाहेक अहिलेसम्म कमल थापाले चुनाव जितेका छैनन्। तिनै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी चलाए। दरबारको आशीर्वाद पाइराखे। तर गणतन्त्र आएपछि त उनी झन् उपप्रधानमन्त्री नै भए।

जबकि उनको राजनीतिक एजेन्डा राजसंस्था र हिन्दू राष्ट्र रहेको थियो। देखाउने दाँत एकथरि र चपाउने दाँत अर्काथरि भएको स्पष्टै भएपछि गत राप्रपाको निर्वाचनमा उनलाई अन्य नेताले सहयोग गरेनन्।

जसका कारण उनलाई राप्रपाको अध्यक्षमा हराइदिए। जब चुनाव हारे तब कमल थापाले वास्तविकता ओकले। उनले पूर्वराजामाथि नै आफूलाई हराउन लागेको आरोप लगाए। जुन संस्थाले कमल थापा बनायो उही संस्थाको दुरुपयोग गरेर पनि नपुगेर आफू पराजित भएपछि ठूलो आरोप लगाए।

त्यतिमात्र हैन गीताको कसम खाएर राप्रपा नटुक्राउने बताएका कमल थापाले आफू अध्यक्षमा पराजित हुनासाथ राप्रपा नेपाल ब्यूँताए। तिनै कमल थापा फेरि आफूले बाटो भुलेको भन्दै राजसंस्थाको मुद्दा प्रमुख भएको निष्कर्ष निकालेका छन्।

उनले गत वर्षको चुनावमा एमालेको भोट खाएका थिए। एमाले अध्यक्ष केपी ओलीको आर्शीवादले पनि नसके पछि घुँडा टेक्नु परेको थियो। उनलाई पार्टीले सघाउने भन्दाखेरी नै एमालेभित्र विद्रोह मच्चिएको थियो। अब भने घर न घाटका भएका कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो मूल मुद्दा पुनः संवैधानिक राजसंस्था हुने निर्णय गरेको हो।

पार्टीको बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। २०६३ मा गणतन्त्र स्थापना हुँदा राजतन्त्र पुनःस्थापनालाई मूल मुद्दा बनाएका थापाले २०७८ फागुनमा राप्रपासँगै राजतन्त्रको मुद्दा छाडेका थिए। राप्रपाको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा मात्र त्यागेनन्, डेढ दशकदेखि बोक्दै आएको संवैधानिक राजतन्त्रको मुद्दा पनि छोडे।

२०७८ फागुनमा अध्यक्षबाट लाक्पा तामाङलाई राजीनामा गर्न लगाएर राप्रपा नेपालको नेतृत्व लिए यता उनी अलपत्रवादी देखिएका थिए। पार्टी विधानमा आदर्श पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई सम्मान गर्ने र उनीबाट प्रतिपादित ‘दिव्य उपदेश’ लाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्ने उल्लेख छ। शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकबाट थापाले पार्टीलाई संवैधानिक राजतन्त्रकै एजेन्डामा फर्काएका छन्।

राप्रपा नेपालबाट चुनाव जित्न कठिन हुने देखिएपछि उनी स्वयं मकवानपुर-१ मा एमालेको सूर्य चिह्न लिएर चुनावमा उठेका थिए। तर रापपाका दीपक सिंह सँग पराजित हुनुप¥यो।

घोषणापत्रमै ‘अभिभावकीय संस्थाका रूपमा राजसंस्था’ बोकेर जनतामाझ गएको राप्रपा भने १४ सिटसहित राष्ट्रिय पार्टी बन्यो । लिङ्देन नेतृत्वको राप्रपाभित्र पछिल्ला समय देखिएको विवादले पनि राप्रपा नेपाललाई राजसंस्थामा फर्काउन पृष्ठभूमि तयार गरेको राप्रपा नेताहरूको भनाइ छ। साउन अन्तिम साता लिङ्देनलाई आमन्त्रण नगरीकनै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको लोकन्थलीस्थित निवासमा असन्तुष्टहरूको भेला भएको थियो।

प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको निर्देशन समितिका सदस्यहरू सहभागी भेलाप्रति संस्थापन पक्षले असन्तुष्टि व्यक्त गरेको थियो। तर कमल थापा फेरि राजसंस्थाको मुद्दा बोकेर आउनुलाई नै भने राप्रपाले निको मानेको छैन। कमल थापाले राप्रपासँग फेरि एकता गरेर अगाडि बढ्न खोजेको संकेत दिएका छन्।

जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *