श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व

डिसी नेपाल
२० भदौ २०८० २१:४३

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ । प्राचीनकालदेखि नै पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा तथा रथयात्रा भने भाद्र कृष्ण नवमीको राति निकाल्ने गरिन्छ । अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको खुसियालीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारतलगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा र असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन राति भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *