राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

डिसी नेपाल
२१ भदौ २०८० १७:३७
40
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट दश जना कविलाई आज पुरस्कार प्रदान गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत कविहरूमा उमेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा! मुई गोठ नाइँ झान्या हुँ) दार्चुला, जीवन आरोही (प्रश्नहरूको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा (कविले के सम्झियो?) सुनसरी, नवीन अभिलाषी (भेरी ः अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा (सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई (नौरानको नाम) सुनसरी र राधिका कल्पित(परिचय पत्र) काठमाडौँ छन् ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सूक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिए। हामीले आफ्नो मौलिक रचना विश्व साहित्यमाझ प्रस्तुत गर्नुपर्ने उनको सुझाव थियो ।

प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए । उनले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गरे । सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव, २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राखिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *