एक अथक तथा इमानदार राजनीतिज्ञको अवसान

डिसी नेपाल
३० भदौ २०८० ८:२७

‘हेलो! सुवासजी बोलेको हो?’, ‘हो। भन्नुस् न लोहनीज्यू’। ‘राजाको पछिल्लो घोषणाले अब प्रजातन्त्र प्राप्तिको संघर्षले पूर्णता पायो त?’, ‘हो, अब भने बल्ल बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र नयाँ संविधान निर्माणको मार्ग प्रशस्त भएको छ, हामी सबैलाई वधाइ छ’।

यो थियो, पञ्चायती व्यवस्थाको पतन लगत्तै मेरा पिता गोविन्दप्रसाद लोहनी तथा सुवासचन्द्र नेम्वाङ बीच आधारातमा भएको टेलिफोन वार्ता।

उमेरमा २५ वसन्तको घटबढ भएता पनि उहाँहरू बीच यसरी कुराकानी र भेटघाट भइरहन्थ्यो भने कानुनी कुरामा पिताजी मात्र नभई धेरै राजनीतिज्ञहरू उहाँसँग परामर्श लिन रुचाउँदथे।

२००९ सालमा इलाममा जन्मेका सुवास नेम्वाङको ७१ वर्षको उमेरमा २०८० साल भाद्र २६ गते निधन भयो। सुवासचन्द्र नेम्वाङ अध्ययनको हिसाबले एक कुशल अधिवक्ता हुनुका साथै कुनै बेला उनले यही क्षेत्रमा अध्यापन गरेको पनि अनुभव बटुलेका थिए।

उनीसँग ल कलेजमा पढेका विद्यार्थी र उनीबाटै वकालतको व्यावहारिक शिक्षा बटुलेका मानिसहरू आज न्याय क्षेत्र र राजनीतिमा निकै उच्च स्थानमा छाएका छन्।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङले पञ्चायती कालमा धेरै पटक बन्दी जीवन बिताएका थिए। वामपन्थी राजनीतिमा होमिएका उनी आफ्नो पार्टीभित्र शुरुका दिनदेखि निधनको समयसम्म नै एक मिलनसार, सिद्धान्तनिष्ठ, कर्तव्यनिष्ठ र वौद्धिक सोचका धनीका रूपमा चिनिए।

आफ्नो ५ दशकको राजनीतिक यात्रामा उनी सदा जनता र प्रजातन्त्रको पक्षमा रहे भने २०४६ साल पछिका सबै संविधान निर्माणमा उनले सकृय भूमिका निभाएका थिए। झनै संविधान सभामार्फत मुलुकको नयाँ संविधान निर्माण गर्न त सुवास नेम्वाङको अति नै विशिष्ट योगदान रह्यो र उनले त्यतिबेला समन्वयकारी भूमिका खेलेर सबै खालका पार्टी, वर्ग र व्यक्तिका व्यावहारिक माग र आवश्यकतालाई निकै मेहनतका साथ संविधानमा समाविष्ट गरेर सबैसँग सकारात्मक पहल गर्न नसकेको भए अन्य कोहीबाट पनि त्यतिबेला संविधान बनेर मुलुकले पाउने थिएन।

भित्र भित्रै मुलुकमा राष्ट्रघाती तत्वहरूसँग मिलेर विखण्डनकारी बितण्डा मच्चाएर नेपाल राष्ट्रको अस्तित्व नै मेट्ने ठूलो चाल त्यतिबेला वाह्य शक्तिले चालिरहेका र नयाँ संविधानलाई आफ्नो स्वार्थ मुताविक घोषणा गर्न ठूलो दवाव दिइरहेको बेलामा सुवासले नै सबै उच्च नेताहरूसँग विशाल समन्वय गरेर द्रुत गतिमा संविधान निर्माण प्रकृयालाई अघि बढाई सम्पन्न गरेर राष्ट्रपतिमार्फत यसको घोषणा गरेकोले नै आखिर मुलुकले नयाँ संविधान पाउनुका साथै स्वाधिनता जोगाउन सकेको कुरा धमाधम खुल्दै आएको छ। संविधानमा मिलाउन बाँकी कुरा र जनताका थप आकांक्षालाई त संविधान संशोधन गरेर सम्बोधन गर्न सकिहालिन्छ।

उनी सधैँ नै सबै पक्षको एकताबाट नै समस्याको निकास निस्कने र मुलुकको समग्र विकास हुने कुरा दोहोर्‍याई रहन्थे। २०७२ सालको संविधानको घोषणा पश्चात उनले संविधान बन्दैमा सबै समस्याको समाधान हुने होइन, तर यसको सवल कार्यान्वयनबाट मात्र मुलुक र मुलुकवासीको हित हुन्छ भनेका थिए।

संविधान सभा मार्फत संविधान बनाउने राष्ट्रहरू विश्वमा निकै कम छन्। आज सुवास पनि भारतमा संविधान सभा मार्फत संविधान निर्माण गर्ने महान् व्यक्ति डा. भीमराव रामजी अम्बेडकरको उँचाइमा पुगेका छन्।

उनीसहित नेपालको संसदमा कतिपय सभामुखहरू चयन भएका छन् तर उनीहरू अधिकांशले सुवास नेम्वाङको दृढ कार्यशैली र इमान्दारिताको कदर गर्ने गरेका छन्। उनको निधनले नेपालको संसदीय प्रणालीले मात्र नभई पुर्वका पाँचथर र इलाम लगायत अन्य जिल्लाले पनि विश्वसनीय अभिभावकलाई गुमाएको छ।

शुरुमा २०४८ सालमा राष्ट्रिय सभाको सदस्य भएर संसदमा पुगेका उनी पछि २०५६, २०६४, २०७०, २०७४ र २०८० मा संसदमा निर्वाचित भए। मनमोहन अधिकारीको ९ महिने सरकारमा उनी कानून मन्त्री थिए। उनी कहिल्यै पनि प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएनन्।

राष्ट्रपतिको निम्ति भएको २०८० को निर्वाचनमा भने उनी एक अति नै लायकका व्यक्ति भएर पनि मुलुकमा विद्यमान अपवित्र राजनैतिक गठवन्धन र राष्ट्रघाती स्वार्थ समूहको चालका कारण पराजित भए तर उनले त्यो हारलाई निकै सहज तवरले स्विकार गरेर विजेता रामचन्द्र पौडेललाई वधाइ समेत दिए।

पार्टीमा भएका कैयन विवाद तथा फुटका वावजुद सुवास माउ पार्टीसँग नै सम्वद्ध भएर बसे भने एमालेको उपाध्यक्ष र संसदीय दलको समेत उपनेता भएरै बस्न सफल भए।

पार्टीभित्र हुने कैयन् ठूलासाना उतारचढाव र मतमतान्तरका बेला उनी मेलमिलापका सेतु बनेर सबै पक्षलाई शान्त पार्दै कटु सम्बन्धको अन्त गर्न मद्दत पुर्‍याउँथे। त्यस्तै दलहरूको एकापसका गौड विषयका मतान्तरमा समेत मध्यमार्गी तथा मध्यस्तकर्ताको भूमिका खेलेर उनले समस्याको समाधान गर्ने गर्दथे।

जनआन्दोलको समयमा होस् वा संविधानसभाबाट नयाँ संविधान बन्ने बेलामा होस्, माओवादीले पनि सबैभन्दा बढी विश्वास गरेका व्यक्ति सुवास नेम्वाङ नै थिए।

आफ्नो पार्टीभित्र मात्र नभई नेपालका सबै राजनैतिक दल र नेपालमा आफ्नो प्रभाव पार्न सकृय भूमिका खेलिरहेका राष्ट्रका राजदूतहरूको नजरमा समेत उनी एक भरपर्दा नेता तथा मध्यस्तकर्ता, निष्पक्ष, निश्छल, मृदुभाषी, विश्लेषण र कुटनीतिक कौशल भएका विद्वान व्यक्ति तथा एक आदरणीय पात्रका रूपमा प्रसिद्ध थिए।

आफूलाई चित्त नबुझेको कुरामा समेत उनी निकै सौम्य शब्दमा आफ्ना असहमति र विचार राख्ने गर्दथे, चाहे त्यो संसदमा होस् या पार्टीका वैठकहरूमा होस् या आमसभामा नै किन नहोस्।

उनको निधन हुनुभन्दा केही दिन अघि धरानमा भएको साम्प्रदायिक विवाद हटाउने बारे आफ्नो विचार राख्दै सुवासले नेपाल सधैँ नै एक स्वतन्त्र राष्ट्र रहन सक्षम भएको नै यहाँ भएका अनेक जात र धर्ममा मानिसमा विशाल सहिष्णुता भएकाले हो र तराईदेखि हिमालसम्मका नेपाली एक भएर उभिइरहेकोले आजसम्म यो मुलुक स्वतन्त्र रहिरहेको कुरा बताएका थिए।

फाल्गुनन्द किरातहरूका मात्र आस्थाका केन्द्र भएकामा आज पुरै नेपालीका विभूति भएका र चन्द्र र सूर्य रहुञ्जेलसम्म नेपाल स्वतन्त्र रहने भएकोले चन्द्र-सूर्य अङ्कित झण्डामा नेपालीले गर्व गर्नुपने कुरा पनि उनले बताएका थिए। फटाईँ र खुराफात नजानेका उनको भाषण सुन्न जहाँ पनि ठूलो जनसागर भेला हुने गरेको थियो, तर उनी आमसभाहरूमा बिरलै बोल्ने गर्दथे।

आफू जनजाति भएता पनि उनमा कसै माथि भेदभाव गर्ने वा कसैको अस्तित्वमा प्रश्न उठाउने र जातीय झैझगडा मच्चाउने स्वभाव थिएन। एक प्रकारले उनी चरम जातिवादको पक्षमा कहिल्यै पनि थिएनन्।

२०६४ सालमा नेपालको म्याग्नाकार्टाको रूपमा व्युँतिएको संसदको सभामुख बनेका सुवास नेम्वाङले राजाको अधिकार कटौती भएको, राजा तथा राजपरिवारको सम्पत्तिमा कर लाग्ने, राजाको तलवमान संसदले तोक्ने, राजाका बारेमा संसद र अदालतमा बहस हुन पाउने, नेपालको सरकारलाई श्री ५ को सरकारको सट्टा नेपाल सरकार भन्ने, राष्ट्रिय गानलाई समय सापेक्ष रूपमा बदल्ने, नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र बनाउने, सेना संसदको अधिनमा हुने जस्ता महत्वपूर्ण घोषणाहरू गरे।

पछि संविधान सभामार्फत नेपाललाई संघीय गणतान्त्रिक राज्यको समेत घोषणा गरे।

आज उनको निधन हुँदा पनि सामाजिक सञ्जालमा कतिपय नादान व्यक्तिहरूले उनले कुकृत्य गरेको भन्दै उनलाई सत्तोसराप गरेर आफ्ना विचार पोष्ट गरिरहेका छन्। पहिलो कुरा त संसदमा उनले मात्र निर्णय गरेर केही भएको होइन। उनले त त्यहाँ भएको छलफलमा आफ्नो समेत अनुभव पस्केर निस्केको निर्णयलाई पढेर घोषणा गरेको सम्म हो।

अर्को कुरा मुलुक धर्म निरपेक्ष हुँदैमा त्यहाँको मूल धर्म मासिन्छ भन्ने पनि होइन। त्यसको लागि त विद्यमान कानुन सकृय हुनु पर्‍यो र आम जनताले पनि आफ्नो तर्फबाट धर्म, संस्कृति र राष्ट्र नै बचाउने पहल गर्नु पर्‍यो।

सामाजिक सञ्जालमा मात्र लेखेर र मनै मनमा भुट्भुटिएर आफ्नो अस्तित्व बच्दैन। के के कारणले हाम्रो धर्म र संस्कृतिलाई पछ्याउन छोडेर मानिसहरूले अन्य धर्म अपनाउन थालिरहेका छन्, त्यस्ता कुरा बारे अध्ययन र मनन गरेर धर्म र संस्कृतिका विभिन्न पक्षहरूमा समयसापेक्ष सुधार गर्दै पनि जानु पर्दछ।

त्यस्तै पैसाको प्रलोभन देखाउने तथा अन्य लोभ तथा मोहमा फँसाएर जबर्जस्ती धर्म परिवर्तन गराउनेहरूलाई सामाजिक वहिस्कार तथा उचित सजाय समेत जनस्तरमा, समुदायस्तरमा र राज्यस्तरमा नै दिन सक्नु पर्दछ भने आआफ्ना धर्म, चाडपर्व र संस्कृति मानिरहेका तथा यसको संरक्षण गरिरहेका सबै धर्मावलम्वी तथा जातजाती बीच एक प्रकारको सद्भावना र कदरको संस्कृति बसाल्दै जानु पर्दछ।

सबैका मुख्य चाडहरू मुलुकका सबै नागरिकले एकापसमा मेलमिलाप र सद्भावका साथ धुमधामसँग मनाउनु पर्दछ।

जहाँसम्म गणतन्त्रको कुरा छ, त्यतिबेला राजा वीरेन्द्रको वंश विनास भएर स्वतः गणतन्त्रको परिस्थिति आउँदा पनि सबै दल, नागरिक समाज, आमजनता र सुरक्षाकर्मीको बीच भएको राष्ट्रिय सहमतिले राजा ज्ञानेन्द्रलाई राजगद्दीमा राखेर राजतन्त्रलाई निरन्तरता दिइएको थियो।

सुवास नेम्वाङ राजा वीरेन्द्रका पनि प्रियपात्र थिए यानी सुवासको विद्वता, सिष्टता र इमान्दारीताको राजा वीरेन्द्रले कदर गर्नुहुन्थ्यो। त्यसैले पनि उनीसँग बेला बखतमा राजा वीरेन्द्रले राजनैतिक तथा न्यायिक परामर्श लिइरहनु हुन्थ्यो भन्ने सुन्नमा आएको थियो भने राजा वीरेन्द्रको बेलायत भ्रमणमा सुवास पनि सहभागी भएका थिए।

त्यस्तै राजा वीरेन्द्रको गद्दी आरोहणको २५औँ वर्षको उपलक्ष्यमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा जस्ता तत्कालीन प्रधानमन्त्रीहरूले राजा वीरेन्द्र विकास प्रेमी हुनुभएको तथा मुलुकको विकास प्रति कटिवद्ध र चिन्तित हुनुभएको र सधैँ सहयोगी भूमिकामा रहनुभएको कुरा बताएका थिए।

राजा ज्ञानेन्द्र एक भलाद्मी व्यक्ति भएता पनि उहाँको शासनकालमा मुलुकको राजनीतिक वातावरण निकै खस्केको तर उहाँले यसको निकास दिन सक्नु भएन र यसको साटो आफ्नै हातमा सत्ता लिएर राजनैतिक नेताहरूलाई धरपकड गरेर पञ्चायती पाराले कठोर शासन गर्न खोज्नाले राजनैतिक पार्टी तथा नेताहरू चिढिएर एक हुन पुगे।

विशाल जनआन्दोलन पश्चात संसद बिउँतिए पछि म्याग्नाकार्टा शैलीमा राजा ज्ञानेन्द्रको शासन र नेपालको राजतन्त्र नै धरासायी हुन पुगेको हो। आफ्नो शासनकालमा धेरै भुलहरू गरेता पनि शासन जनतालाई सुम्पेर नागरिक सरह मातृभूमिमा नै बस्न थाले पछि भने उहाँको मान तथा सम्मानमा ज्यादै ठूलो अभिवृद्धि भएको छ।

नयाँ संविधान बनेर मुलुकले अग्रगामी छलाङ मार्न शुरु गर्ने सपना जनतामा बाँडिए पनि आज नेपाल इतिहासकै सबैभन्दा ठूलो संकटमा पर्दै गएर आफ्नो अस्तित्वको रक्षा समेत गर्न नसक्ने अवस्थामा पुगेको छ।

दोस्रो जनआन्दोलन पश्चात सबै पक्षको जित भएर राजामात्र हारेकोमा अब राजतन्त्रलाई पनि प्रजातन्त्रको एक हिस्साको रूपमा ब्युँताएर राजालाई नेपालको अधिकारविहीन राष्ट्राध्यक्षको रूपमा भएपनि आशिन गराउने बेला आइसकेको छ।

मुलुकमा गणतन्त्र ल्याउन सुवास नेम्वाङको हात भएको भनेर उनलाई तथानाम गाली गर्ने केही जमात सकृय भएता पनि आज सुवास नेम्वाङ जीवित भइरहेको भए र राजतन्त्रलाई निश्चित दायराभित्र राखेर ब्युँताउने बारेको राष्ट्रिय छलफल हुँदो हो त सुवासले अझ परिस्कृत ढाँचाको प्रस्तावसहित सोको पक्षमा समेत बोल्ने थिए होलान्।

भन्नुको मतलब राष्ट्रको हितमा हुने कुनै पनि कुरामा उनी हदैसम्म लचकदार हुन सक्ने व्यक्तित्व थिए। त्यसैले नै उनलाई सबै दलका नेता, कार्यकर्ता तथा आम जनताले समेत एक अभिभावक तथा कुशल विचारकको रूपमा हेर्ने गरेका थिए।

उनको निधनमा उर्लेको जनसागर र सबै दलका प्रमुख नेताहरूले निकै दुखित भएर उनको पार्थिव शरीरमा फुलमाला अर्पण गर्दै आँखाभरी आँशु पारेर विलाप गरेको देख्दा नै उनी प्रति सबैको कति धेरै श्रद्धा रहेछ भन्ने कुरा प्रष्ट हुन्छ।

उनको आफ्नो दल एमालेले त ३ दिनसम्म मुलुकभर सञ्चालन भइरहेका सबै कार्यक्रमहरू स्थगित ग¥यो नै, अन्य पार्टीहरूले पनि उनको निधनको शोकमा आफ्ना कार्यक्रम स्थगन गरेका समाचार आएका थिए।

नेपाली काङ्ग्रेसले समेत ११०औँ वी.पी. जयन्तीको अवसरमा आयोजना गरेको साहित्यिक तथा अन्य कार्यक्रम केही दिनको निम्ति स्थगन गरेको छ। सरकारले उनको दाहसंस्कार भएको दिन मुलुकभर सार्वजनिक बिदा दिनुका साथै पुरै राजकीय सम्मानका साथ उनको अन्त्येष्टी गरेको थियो। यसबाट पनि थाहा लाग्छ कि उनी नेपालका सबै दलहरू बीच कति लोकप्रिय र आदरणीय थिए भनेर।

फुर्सदको समयमा घरपरिवारसँग रमाउन, जिस्किन र गफिन रुचाउने तथा लायोनेल मेसीको फुटबल खेल नछुटाइकन रातदिन नभनी हेर्ने फुटबलप्रेमी नेम्वाङ युवावस्थामा आफैंपनि राम्रा फुटबलर थिए रे। हालै संगीतकार बुलु मुकारुङले सामाजिक सञ्जालमा पोष्ट गरे अनुसार सुवास युवावस्थामा आफैं हार्मोनियम बजाएर गीत पनि गाउँथे रे।

नारायण गोपालका गीत खुबै मिलाएर गाउन सक्थे रे। त्यस्तै युवावस्थामा नै काठमाडौँको पुतलीसडक र बागबजारतिर डेरा गरेर बस्दा पूर्वबाट उच्च अध्ययनको निम्ति आएका तथा आफूले चिनेका युवाहरूलाई आफ्नो डेरामा बोलाएर खानपानका साथ ज्ञानगुनका कुरा सुनाउने तथा उनका डेरामा समेत पुगेर ‘केटाहरूले के पकाएछन् खै चाखौँ चाखौँ’ भन्दै जिस्किने गरेको कुरा उनका नजिकका भाई जस्ता धरानका युवराज राईले सुनाएका थिए।

उनी राजनैतिक बन्दीका रूपमा केन्द्रीय कारागारमा रहँदा बेला बेलामा यिनै युवराज राई तथा अन्य नजिकका भाइहरूले खाना तथा पुस्तकहरू जेलमा लगेर दिने गरेका थिए अरे।

हाम्रो परिवारसँग सुवास नेम्वाङको परिवारको निकै नै राम्रो सम्बन्ध भएता पनि न हामीले उनीमार्फत कुनै लाभ लिने प्रयत्न गर्‍यौँ, न नै उनी भनसुन वा चाकडी चाप्लुसी गर्ने व्यक्तिहरूलाई मन पराउँथे।

मेरा पिताजी आफू पनि सुवास नेम्वाङकै प्रकृतिका हुनु भएको र उहाँहरू बीचको लामो र सुमधुर संगतले गर्दा उहाँ उनलाई निकै मन पराउनु हुन्थ्यो।

हतपत कुनै व्यक्तिगत सार्वजनिक समारोहमा सरिक हुन नरुचाउने सुवास नेम्वाङ परिवारका सदस्यसहित मेरी छोरी र छोराको बिहेको समारोहमा आएर निकै बेर बसेका थिए।

उनका र मेरा छोराछोरी बीच पनि गहिरो मित्रता छ। हालैको एक समारोह, जुनमा हाम्रो अन्तिम भेट हुन गयो, त्यतिबेला उनले मलाई ‘कपिलभाइले ढिलै भएपनि आफ्नो पिताको पदचापमा हिँड्न थाल्यौ र उहाँका र आफ्ना पनि कृतिहरू छपाइ रहेका छौ, यो देख्दा मलाई निकै खुशी लागेको छ।

यो कार्यलाई निरन्तरता दिनु’ भन्दा मेरो मन त्यति महान् व्यक्तिको प्रोत्साहनका शब्दले गर्दा खुशीले निकै गद्गद् भएको थियो भने उनको निधनको खवरले मलाई ठूलो आघात पुर्‍याएको छ।

आज उच्च पद धारण गरेका धेरै राजनीतिक नेताहरूका पत्नी, छोराछोरी र आफन्तहरूको विभिन्न काण्डहरूमा नाम जोडिने गरेको छ भने केही फरार र केही कारागारमा समेत छन्।

केही दशक अघिसम्म बिहान खाए बेलुकी के खाने भन्ने समस्यामा परेका धेरै नेताहरू आज खुल्लम खुल्ला रूपमा महल ठडाएर, महँगा मोटरगाडी कुदाएर, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार र अन्य व्यवसायका मालिक बनेर तथाकथित सफल जीवन जिइरहेका छन् भने नेम्वाङको जीवनशैली यो सब भन्दा निकै सरल रह्यो।

उनकी पत्नीको जिकिर कहिल्यै मेडियामा वा अन्य कहीँ पनि आएन भने उनका एक छोराले बाबुकै पदचापलाई पछ्याएर न्याय क्षेत्रको अनुभव बटुल्ने काममा लागेका छन्।

सुवासका पिता पनि न्याय क्षेत्रमा नै लागेर न्यायाधीशसम्म भएका व्यक्ति र आफू पनि जीवनभर न्याय क्षेत्रसँग सम्बन्धित कार्यमा नै लागेकाले उनका छोराले न्याय क्षेत्रमा लाग्ने र तदनुरुपको शिक्षा हासिल गर्ने कुरा बताउँदा सुवास निकै प्रसन्न भएका थिए रे।

उनले आफ्ना छोरा छोरीलाई आफ्नो भविश्य आफैं निर्माण गर्न पुरै स्वतन्त्रता दिएका थिए। उनका अर्का छोरा उच्च अध्ययनको निम्ति वेलायततिर छन् र उतै नेपाली चेलीसँगै घरजम गरेका छन्।

त्यस्तै दाँतको सर्जन/चिकित्सक भइसकेकी उनकी जेठी सुपुत्री एक सामान्य दन्त क्लिनिकमा जागिरेको रूपमा कार्यरत छिन् तथा उनकी कान्छी सुपुत्री नेपालमा नै उच्च अध्ययन गर्दै छिन्। उनका परिवारका यी सबै सदस्य आफूलाई सुवास नेम्वाङको सन्तान भनेर धाक दिन वा चिनाउन कतई रुचाउँदैनन्।

आफ्ना पिता नेपालका एक महान् हस्ती भएता पनि उनीहरू साझा यातायात, नेपाल यातायात वा पठाओ जस्ता सार्वजनिक यातायातका साधन नै उपयोग गर्ने गर्दछन्। यो सब संस्कार एक गुणी र इमान्दार बाबुले आफ्ना सन्तानलाई दिएको सबैभन्दा ठूलो उपहार हो।

जन्मे पछि मर्नु त छँदैछ, तर मुलुकको लागि अझै कति असल र महान् कार्य गर्न बाँकी भएको बेला सुवास नेम्वाङ जस्ता व्यक्तित्वले अझै २०–२५ वर्ष बाँच्नु पर्दथ्यो। तर यो सब न त सुवास दाजुकै हात मा थियो न नै उहाँको परिवार वा हामी हितैषीको हातमा।

जे होस् उनी यो धर्तीमा जति बाँचे, समाज र राष्ट्रमा मिठो सुवास छरेर नै बाँचे, सबैका प्रिय रहे र रहिनै रहने छन्। उनको सामिप्य अब नपाइने भएता पनि उनले देखाएको मार्गमा भने हामी सबैले हिँड्ने प्रयत्न गर्नै पर्दछ । अलविदा सुवास दाजु।

-लेखक विकास अर्थशास्त्री एवम् एकल व्यक्तित्व समाज नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *