असोज महिना लागि ६ बैंकले घटाए ब्याजदर, सबैभन्दा बढी घटाउने नेपाल बैंक

काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नेपाल बैंकर्स संघले बैंकहरूलाई आफूखुसी ब्याजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहरूले आ-आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन्।
असोज १ गतेबाट लागू हुने गरी २१ वटा वाणिज्य बैंकहरू मध्ये १७ वटाले बैंकले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन्। जसमध्ये ६ वटा बैङ्कहरूले असोज महिनाका लागि ब्याँजदर घटाएर सूचना प्रकाशित गरेका छन्।
असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक छन्। यी बैंकहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याजदर घटाउँदै नयाँ ब्याँजदर सार्वजनिक गरेका हुन्।
असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरू मध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो। भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ। असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याँज प्रदान गर्ने भएको छ।
भदै महिनामा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो। यस्तै, सिटिजन बैंकले पनि भदौ महिनाको तुलनामा ०.८४६ प्रतिशतले ब्याँजदर घटाएको छ।
बैंकले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याँजदर कायम गरेको छ। भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो।
कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याँजदर कायम गरेको छ। जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो। भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो।
त्यसै गरी, राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको छ। यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो। बैङ्कले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिएको थियो।
लक्ष्मी सनराइजले पनि नयाँ ब्याँजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याँजदर तोकेको छ। बैंकले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याँजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ। भदौ महिनामा बैंकले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो।
त्यसै गरी, ग्लोबल आइएमई बैंकले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो।
Facebook Comment