माओवादीको पत्राचार पछि नेसपामा तरंग, बाबुराम र महिन्द्र यादवको अन्तरद्वन्द्वमा खेल्दै प्रचण्ड

शरद रिजाल
३ असोज २०८० १३:०१

काठमाडौं। माओवादी केन्द्रले नेसपाका अध्यक्ष रहेका बाबुराम भट्टराईलाई बेवास्ता गर्दै अर्का अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर पार्टी एकताका लागि पत्राचार गरेपछि नेसपाको आन्तरिक राजनीतिमा तरंग आएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीचको एकताले मूर्त रुप लिने सम्भावना टरेपछि माओवादी केन्द्रले नयाँ रणनीति तय गरेको हो।

लामो समयको आन्तरिक छलफलबाट पार्टी एकताका लागि भट्टराईसँग सहमति जुट्न नसकेपछि उनी बाहेक अन्य नेतालाई भित्र्याउने दाउमा माओवादी केन्द्र लागेको छ।

पार्टी एकताका लागि १५ बुँदे पार्टी एकताका आधारसहितको प्रसताव नेसपाले माओवादी केन्द्रीय कार्यालयमा बुझाएको थियो। यद्यपि उक्त प्रस्ताव माओवादीले गत साउन १७ देखि २१सम्म काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि बैठकमा पेश गरेको थिएन।

आफूलाई माओवादी केन्द्रको बारम्बार बेवास्ता र गत असारमा गठित चार दल सम्मिलित समाजवादी मोर्चामा सामेल नगराएपछि दाहालसँग थप असन्तुष्ट बनेका थिए।

दाहालले पछिल्लो समय भट्टराईलाई पार्टीमा भित्र्याए उनको पुरानो गुट ब्युँतिने भयले सशंकित भएर अनिच्छा प्रकट गरेको स्रोतको दाबी छ।

मोर्चाको अवधारणाकार रहेका भट्टराईलाई जसपा अध्यक्ष उपेन्द्र यादवले सहभागी गराउन अस्वीकार गर्दा दाहालले कुनै पहल नगरेपछि भट्टराई थप रुष्ट बनेका हुन्।

तर, सरकारमा खानेपानी मन्त्री रहेका नेसपाका अध्यक्ष महिन्द्र राय यादव र बागमती प्रदेश सरकारमा मन्त्री रहेका सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायतका नेताहरु माओवादीसँग तत्काल एकता गर्नुपर्ने पक्षमा रहेका छन्।

माओवादीसँग एकताको पक्षमा रहेका नेताहर र भट्टराईबीच पछिल्लो असन्तुष्टि बढेको बताइन्छ। सह अध्यक्ष श्रेष्ठ र यादव एकताका लागि तयार रहेपनि दाहालको उपेक्षाबाट आजित भट्टराई एकता गर्ने पक्षमा छैनन्।

यही भट्टराईको दलभित्रको असन्तुष्टि बुझेरै दाहालले पछिल्लो नयाँ रणनीति अख्तियार गर्दै नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गर्दै भदौ ३० गते पत्र लेखेको माओवादी स्रोत बताउँछ।

नेसपाका भट्टराईलाई भित्र्याउँदा पार्टीमा फेरि उनको पक्षधरका नेताहरु संगठित भएर आफू विरुद्ध गुटबन्दी हुने भयले भट्टराई बाहेक अरुलाई भित्र्याउने रणनीतिमा दाहाल लागेको स्रोत बताउँछ।

नेसपा र माओवादी केन्द्रबीच विगत चुनाव अगावै पार्टी एकता गर्ने सहमति बमोजिम एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए। भट्टराईको दल नेसपाबाट संघीय संसद एक जना र प्रदेशमा दुई गरी तीन सांसद निर्वाचित भएका थिए।

गोरखा २ को आफ्नो निर्वाचन क्षेत्र छाडेर दाहाललाई सुम्पिएका थिए। भट्टराई दाहाल नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सम्मको तयारीमा थिए।

निर्वाचन पछि भट्टराईलाई पार्टीमा भित्र्याएर जिम्मेवारी दिन दाहाल सहमत भएको माओवादी नेताहरु बताउँछन्। तर त्यसका लागि पार्टीको नाम चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने भट्टराईको शर्त रहेको थियो।

तथापि निर्वाचन परिणामा आफ्नो अनुकुल नभएर काठमाडौं ७ बाट छोरी मानुषी यमी पराजित भएपछि भट्टराईकाे बाँकी शर्त पूरा गर्न दाहाल अनुदार देखिएपछि यी दुईको सम्बन्धमा खटपट सुरु हुन थालेको बताइन्छ।

दाहालले पछिल्लो समय भट्टराईलाई पार्टीमा भित्र्याए उनको पुरानो गुट ब्युँतिने भयले सशंकित भएर अनिच्छा प्रकट गरेको स्रोतको दाबी छ।

नेसपाका अध्यक्ष भट्टराईले सोही कारण केही समय अघि एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको सहकार्यको सम्भावना टरेको बताएका थिए।

उनको सोही अभिव्यक्ति पछि अध्यक्ष दाहाल र महासचिव देव गुरुङको संयुक्त हस्ताक्षरित पत्र नेसपाका अध्यक्षद्वय मध्येका अर्का महिन्द्र राय यादवलाई सम्बोधन गरेर पठाएपछि यसले नेसपाको आन्तरिक एकतामा खलबल पुर्याउने आँकलन गरिएको छ।

सहकार्य सम्भावना टरेपछि दाहालको नयाँ रणनीति अनुसार माओवादी केन्द्रले  नेसपाको आन्तरिक राजनीतिमा प्रभाव पार्नेगरी भट्टराईलाई एक्ल्याउन लागेको स्रोतको स्रोतले बतायो।

नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र लामो छलफलपछि टरेको एकताको सम्भावनालाई मूर्त रुप दिन माओवादी केन्द्रले नयाँ रणनीति तय गर्दै असन्तुष्ट समूहलाई पार्टीमा भित्र्याउने तयारी थालेको हो।

यी दुई नेताद्वयको सम्बन्ध विगतदेखि उतारचढाबपूर्ण रहँदै आएको छ। उनीहरु अलग भएपछि पछिल्लो समय पुनर्मिलनका लागि जारी सम्बाद परिमणाममुखी हुन सकिरहेको थिएन।

लामो समय राजनीतिक सहयात्रा गरेका भट्टराई र दाहाल अहिले फरक कित्तामा पुगेका छन्। २०७२ को संविधान निर्माण पछि दाहाल नेतृत्वको माओवादीबाट भट्टराई अलग भएका हुन्।

संविधान जारी भएसँगै नेपालको राजनीतिको एक अध्याय सकिएको बताउँदै भट्टराई कम्युनिष्ट विचार परित्याग गर्दै लोकतान्त्रिक चरित्रको नयाँ शक्ति पार्टी गठनमा लागेका थिए।

उनी त्यसयता नयाँ शक्ति, समाजवादी, जसपा हुँदै अहिले नेसपा गठन गर्दै लोकतान्त्रिक चरित्रको राजनीतिक यात्रा तय गरेका छन्।

यता माओवादी केन्द्रको अध्यक्ष समेत रहेका  भट्टराईका पूर्वसहकर्मी प्रधानमन्त्री दाहाल भने कांग्रेस सहितको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *