लगातार छैटौं दिन पनि घट्यो सुनको भाउ
काठमाडौं। सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
यसअघि मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय, ८०० र ८०० रुपैयाँले घटेको थियो।
यसअघि, आइतबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो।
सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ।
आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ८४४.०३ डलरमा र चाँदी प्रतिऔंस २१.८३ डलरमा कारोबार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment