कविता : जीवन, ज्ञान, गहिराही र आनन्द

शंकरप्रसाद रिजाल
२९ असोज २०८० १३:२७
120
Shares

यदि तिमी सक्छौ भने, आकास चुमी हेर
यदि तिमी सक्छौ भने, पाताल छोइ हेर

अनि आनन्द केहो भनी, बुझ्नेछौ त्यति खेर
रम्दा यो जीवनमा, देख्दा यो नजरमा

के रहन्छ र जीवनै भर
सम्झनाको गहिराइ नजाँदा सम्झिन्न केही बेर

पढेका सयौं किताबै किन नहुन
लेखेका अनगिन्ती लेखै किन नहुन

स्मृतिको खडेरीमा यी सबै व्यर्थ नै हुन्
पढ्ने लेख्ने सबैकुरा जानी बुझ्नको निमित्त हो

गहिराई नबुझेमा,त्यसको आनन्दनै के भयो
फुलेको फूलमा हेर, झट्ट सुवास मिल्दछ

त्यसैको बिजमा हेर, गहिराइ कति मिल्दछ
गुह्य जीवनको ज्ञान, खुलेको सबै कहाँ छ र?

हेर ब्रम्मान्डको ज्ञान, खुलेको सबै कहाँ छ र?
छोटो जीवनको खोल्सामा, पौडी खेल्दै वरिपरी

घुमन्ते जीवनको डोरीमा, घुम्दै फिर्दै घरीघरी
कति चोलाहरु बिते होलान्, जति कर्म गरेपनि

सम्झना कतैको छैन, जहाँ जति खोजेपनि

तृष्णाको भेलले जीवन, बृद्ध हुन्छ यसैगरी

त्यो बेला बिर्सने बानी, बढ्दै जान्छ उसैगरी

राजा, लेखक, कवि, सन्त, रुँदै हिँड्छन धुरुधुरु
धनि गरीब पनि हिँड्नेछन् यसैमा लुरुलुरु

गरेका काम झर्नेछन्, रुखका पात झैं बनी
सुक्नेछन् सबै काम, सुकेका काठ झैं अनि

आगो दन्दनी बल्नेछ, आफ्नै जीवन शेषको
सेतो खरानी बन्नेछन्, सबै जीवन सुकर्मको

आकासमा धुलो कालो, आफ्नै जीवन दुष्कर्मका
चिता खित्का छोडी हाँस्छ, आफ्नै देह कुकर्मको

नाता कुटुम्ब रुनेछन्,आफैं मरे सरी यहाँ
भित्र भित्र कहाँ के छ, खोज्दैनन् कोही यहाँ

फेरि जीवन दोरिन्छ, भौतारिन्छन् यहाँ कहाँ
गोल संसारमा हेर, डुलेका छन् कहाँ कहाँ

दबिएका छन् सबै ज्ञान, अजान गर्भ ज्ञानको
बुझेका छैनन् कोहीले, दिब्य ज्ञान सुकर्मको

भौंतारिएर हिंडेका छन्, हिंडेका छन् जहाँ जहाँ
निष्ठा दया र आचार, आज खोइ कहाँ कहाँ

आनन्द कसरी लिन्छन्, मानिसहरु सबै यहा
जान्दैनन् कोही जान्दैनन् बेदै पढेपनि यहाँ

लड़ाइ झगडा द्वेष, घमण्ड र कुतर्कको
बहाना गरी हिँड्ने यी मानिसहरु विश्वको

रोक्दैनन् झगडा लडाईं पनि नै, के पाउँछु भन्दै यहाँ
बासी यो दिलका बिचार मइलो झुक्दैनन् कोही यहाँ

बोल्दा सज्जन बोली फुट्छ सवको, स्वर्गै उठाए सरी
गर्दा काम खराब सबले, नरकै सिंगारे सरी

बोलीमा गुण छैन नम्र मनमा, राम्रो नराम्रो कति
हेक्का छैन कत्ति हृदयमा, भालु चिथोरे सरी

दारा नंग्रा निकालेर, मानौं खाने गरी सबै
यस्तो सोच लिई बस्यौं यदि भने पाउन्नौ शान्ति कबै

तसर्थः गहिराइ बुझौं ज्ञान, बिबेक मनमा रहोस्
सारा अज्ञानहरु सबै, सयौं योजन परै रहोस्

मनुष्य मनुष्य भै बाचौं, सारा बनुन् खुसी सधैं
नरहोस् धर्तीमा कोही, दुःखी गरिबी कोही कतै

आकास सधैं हाँसोस्, धरती पनि उसैगरी
आनन्द जलको वर्षा, संसारै भरी यसैगरी

भगवन! किन रोज्दैनन्, बुद्धि ज्ञान समन्वय
बुझ्दैनन् किन हो कुन्नि, यसैमा छ सगौरब


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *