अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

डिसी नेपाल
१० कार्तिक २०८० १८:४२
16
Shares

काठमाडौं। विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिन सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले आजै अलि बलिपूर्ति गर्नुपर्ने जनाएको छ। औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ।

दशैंमा घरमा आउने आफन्तलाई पूर्णिमाका दिन पनि टीका लगाइदिने व्यावहारिक प्रचलन छ। मान्यजनबाट टीका थाप्न जाने प्राय, ज्वाइँ, छोरी, बहिनी, भाञ्जाभाञ्जीलगायत हुने भएकाले पूर्णिमाका दिन पनि टीका र प्रसाद लगाइदिने व्यावहारिक प्रचलन रहेको हो। वैदिक सनातन परम्परामा पूर्णिमालाई पर्वका रुपमा मानिन्छ।

अन्य पूर्णिमामा पनि आफूले मान्नुपर्नेलाई टीका लगाएर दक्षिणा दिने परम्परा अनुसार आश्विन शुक्ल पूर्णिमामा शनिबार पनि टीका लगाउने क्रम भने जारी रहन्छ। यसरी टीका लगाउँदा कसैले जमरा भने लगाउँदैनन् । अखिल बलिपूर्ति भएपछि नै जमरा नदी, ताल, तलाउ, पोखरी वा पवित्र स्थानमा लगेर सेलाइन्छ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। देशका अन्य भागमा भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद र जमरा लगाउने गरिन्छ।

कोजाग्रत व्रत भने कात्तिक ११ गते बस्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यस दिन बेलुकी धनधान्यकी देवी लक्ष्मीको विशेष पूूजा, आराधना गरिन्छ । यस वर्ष कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *