नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता- पहिले गोरु र राँगाले खेत जोत्थे, अहिले पावर टिलर

डिसी नेपाल
२३ कार्तिक २०८० १२:४५

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी आजभोलि खेत जोत्नमा व्यस्त छन्। उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको छ वर्ष भइसक्यो। खेत जोत्नका लागि उनी अचेल ट्र्याक्टर, ‘पावर टिलर’को प्रयोग गर्छन्।

पिपलाडीमा चौधरीको साँढे चार बिघा जमिन छ । वर्षौदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आएका छन्। “पहिले राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उनले भने, “प्रविधिको प्रयोगले धेरै किसानलाई धेरै सहजता थपेको छ ।”

कुरेरुवा किसान समूहमा आवद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका थिए। उनीहरुसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलर लगायतका उपकरण छन्।

“खेत जोत्न, धान, गहुँ काट्नलगायत सम्पूर्ण कृषिकर्मका लागि उपकरणको प्रयोग गर्छौँ”, उनले भने, “कृषिमा परम्पराग शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ।”

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेका छन्। “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांस कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उनले भने, “यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ।”

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकरण प्रयोग बढ्दै गएको छ। प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ। मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि किसन आत्मनिर्भर हुन थालेका छन्।

“पहिले पहिले परम्परागत तरिकाले खेती गथ्र्याँंै, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो,” चौधरीले भने, “अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।”

कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थलेको छ। गाउँमा काम गर्ने युवा वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ।

जनशक्ति एकदमै महगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ किसानको आकर्षण बढेको चेतराज चौधरी बताउँछन्।

“विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ”, उनले भने, “अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक÷दुई सातामै सकिन्छ ।”

कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।

“कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेकाटे छ”, उनले भने, “व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।”

उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *