मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले राखे विश्व रेकर्ड
काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा.ओम मूर्ति अनिलले मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका छन्।
सामाजिक सञ्जालमार्फत् जनचेतना जगाउँदै आएका उनले विश्व मुटु दिवसको अवसर पारेर दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड बनाएको हो ।
गत १२ असोजमा आफ्नो फेसबुक पेजबाट आफूले दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड कायम गरेको डा. ओममूर्ति अनिलले न्युज कारखानालाई जानकारी दिए ।
उनका अनुसार फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्डस् कायम गरेको हो ।
गत १२ असोज शुक्रबार साँझ ७ः १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका उनले बताए ।
डा. ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले सेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेको डा. अनिलले जानकारी दिए ।
लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’ का सम्पूर्ण मापदण्ड पूरा गरी उनले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।
यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ।डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोस्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफ् एम् १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर विश्व रेकर्ड कायम गरेकाा थिए । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।
सामाजिक सञ्जालमार्फत मुटुरोगबारे फैलिएको भ्रम चिर्दै स्पष्ट पार्दै आएका उनले विश्व रेकर्ड कायम गरेका हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment