दीपावली र छठको मिथिलामा बढ्यो रौनक
महाेत्तरी। महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ। हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ। पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिका दिन धनतेरस र आयुर्वेदका पिता भनिने धन्वन्तरी जयन्ती पनि मनाइन्छ। यसैगरी यस पर्व (दिवाली)मा औंशीका दिन राति लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गोबर्धन पूजा र द्वितीयाका दिन भैयादूज पर्व मनाइन्छ।
यी पाँचै दिन सिङ्गारिएका घरवरपर उज्याला बत्ती बालेर परिवेश नै उज्यालो बनाइन्छ। दिवालीलगत्तै कात्तिक शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको छठपर्व सँगैपरेकाले अहिले मिथिला क्षेत्र दिवाली र छठमय बनेको छ।
उज्यालो र सम्पन्नताको प्रतीक मानिने दिपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले जिल्लामा उमङ्ग छाएको छ।
अहिले दिपावलीमा धनधान्यकी देवी लक्ष्मीको महिमा वर्णित भजन गुञ्जिरहेका छन्। बस्ती–बस्तीमा आज साँझको लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन, रङरोगन गर्न र वरपर सरसफाइका लागि सबै व्यस्त छन्।
पर्वसँगै किसानलाई खेतीपातीको चाँजो पनि मिलाउनु छ । पर्वकै बीच धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटाराले खेतीपातीदेखि सबै व्यावसायिक काम पनि अहिले पर्वकेन्द्रित बनेका छन्।
दिवालीमा मिष्ठान्न परिकारसँगै खानामा दूधका परिकार (दूध, दही, घिउ) एवं आलु, कोभी, भाण्टा, लौका, केरा (काँचो) र परवलसहितको तरूवा-पकौडा बनाएर खाने-ख्वाइने गरिन्छ। सात्विक भोजन गरिने दिपावली र छठ दुवै आराधना र भक्तिका साथ मनाइने पर्वका लागि स्वागतद्वार बनाउन उखुका बोट र केराका थाम प्रयोग गरिन्छन्।
यसबाहेक छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितको बोट, ज्यामिर र अन्य कन्दमूल प्रयोग गरिन्छ। छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुने गरिब किसान पनि यी उत्पादनबाट नगद जोहो गर्दै पर्व मनाउने तयारीमा छन्।
बस्ती–बस्तीमा सडक र ढल सरसफाइमा स्थानीय बासिन्दा आफैं जुटेका छन्। कृष्णपक्षको रातमा पनि दिवाली पर्वको रमझम र बत्तीको प्रकाशले रात नै नपरेको भान हुन्छ।
No ads found for this position


Facebook Comment