देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

डिसी नेपाल
२९ कार्तिक २०८० ७:००
4
Shares

गलकोट (बागलुङ)। बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ। तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ-गाउँमा गुन्जिरहेका छन्। बागलुङ बजारका चोक-चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन्।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ। रेडर्क गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।

बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ। विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ।

देउसी भैलोमा तामाङ सेलो, थारू नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नितृ देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए।

“कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौं”, उनले भने, “पहाडको तामाङ संस्कृति, तराईको थारू र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ।”

विसं १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिए। विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन्।

नौमती बाजा संरक्षण गर्दै नगरपालिका

पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ। सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो। नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ।

बागलुङ-८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो। पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताए। उनका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन्।

नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *