पुतली बाजे-१९३६-२०२३

कपिल लोहनी
२ मंसिर २०८० ८:४२

नेपालमा नै आफ्नो जीवनको अधिकतर समय व्यतित गरेका पुतली बाजे भनेर चिनिने बेलायती मूलका कोलिन फिलिप स्मिथको हालै पोखराको हरियोखर्क अस्पतालमा ८६ वर्षको उमेरमा पेटको ट्युमर तथा अन्य स्वास्थ्य सम्बन्धी जटिलताका कारण निधन भयो।

२४ नोभेम्बर १९३६ मा जन्मेका उनको ४ नोभेम्बर २०२३ मा निधन भयो। नेपालको शिक्षा क्षेत्रमा र पुतलीको अनुसन्धानमा विशिष्ट योगदान पुर्‍याएका तथा नेपाललाई औधी माया गरेर पछिल्लो समय भण्डै ६ दशकसम्म यतै बसोबास गरेका उनलाई पोखरा महानगरपालिकाले सन् २०१७ मा रथारोहण गराएर सम्मान गरेको थियो।

नेपाल सरकारले सन् २०१९ मा उनलाई मानार्थ नेपाली नागरिकता समेत प्रदान गरेको थियो। यसरी मानार्थ नागरिकता पाउनेमा उनी सर एडमण्ड हिलारी र डा. टोनी हेगन पछिका तेस्रा व्यक्ति हुन्।

विश्वका विभिन्न ठाउँबाट काम विशेषले वा पर्यटकका रूपमा खासगरी सन् १९५० मा नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय पश्चात बाहिरी संसारसँग नेपाल खुला भयो।

त्यसपछि नेपाल आएका विदेशीहरूमध्ये धेरैलाई नेपालको प्राकृतिक सौन्दर्य, साँस्कृतिक विविधता तथा खुला समाज र सुरक्षित वातावरण तथा अतिथि-सत्कारको संस्कार बोकेका नेपालीहरूका कारण नेपाल आइरहौँ वा यतै बसोबास गरौँ भन्ने भावनाले ओतप्रोत गराइरहेको हुन्छ।

त्यसैकारणले पनि नेपाल नियमित रूपमा भ्रमण गरिरहने विदेशीहरू धेरै भेटिन्छन्। त्यस्तै विभिन्न मुलुक तथा संस्थाका काममा नेपालमा खटिइ आएका कैयन् विदेशी जीवनभर यतै नै बसेका छन् भने कैयन्ले नेपालमा नै प्राण त्यागेका छन्।

संयुक्त राष्ट्र संघको काममा सन् १९५० मा आएर नेपालका कुना कन्दरासम्म पुगेर अध्ययन गरेका स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो एक दशक लामो अध्ययन पूरा गरेपछि पनि नेपाल बारेका कैयन् पुस्तकहरू लेखे भने आफ्नो वृद्धावस्थासम्म पनि नेपालको भ्रमण गरिनै रहे।

त्यस्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पाको साथमा विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथाको सर्वप्रथम आरोहण गर्ने न्युजिल्याण्डका पर्वतारोही एडमण्ड हिलारी पनि त्यसपछि आफ्नो जीवनभर नेपाल आइरहे भने शेर्पाहरूको उत्थानको निम्ति र सगरमाथा क्षेत्रको विकासको निम्ति उनले ठूलो योगदान गरे। उनकी पत्नी र छोरीको त काठमाडौँमा विमान दुर्घटनामा परि निधनसमेत भयो।

फोर्ड फाउण्डेसन अन्तर्गतको आयोजनामा सन् ६०को दशकमा कार्यरत अमेरिकी नागरिक डा. जोन बायर अनि उनी भन्दा पनि पहिले अमेरिकी सरकारको काममा आएका डेनियल एडवार्डस् तथा पिस कप्र्सका धेरै स्वयम् सेवकले पनि नेपाललाई निकै माया गर्दथे। नेपालमा राजदूत भएर काम गरेका कैयन् विदेशी कुटनीतिज्ञहरू पनि आफ्नो कार्यकाल पश्चात समेत बरोबर नेपाल आइ रहन्छन्।

दक्षिण भारतबाट नेपालको शिक्षा क्षेत्रमा काम गर्न आजभन्दा करिव ६ दशक पहिले नेपाल आएर पोखराको पृथ्वीनारायण क्याम्पसको स्थापनामा समेत ठूलो योगदान गरेका जर्ज जोन हाल नेपालको नागरिकता प्राप्त गरेर सपरिवार पोखरामा नै बसोबास गर्दैछन्।

अर्थविद् मधुकरशमशेर राणासँग विवाह गरेर नेपाल आएकी साहित्यकार तथा नाट्यकर्मी ग्रेटा राणाले आफ्नो सम्पूर्ण जीवन नेपालमा नै व्यतित गरेर साहित्य र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याएर नेपालमा नै अन्तिम श्वास लिइन्।

यसरी नै अमेरिकाकी बार्बरा एडम्स, न्युजिल्याण्डकी एलिजावेथ हौली, बेलायतकी मार्गरेट रस, प्रख्यात रुसी ब्याले नृत्यकार तथा होटेल व्यवसायी बोरिस लिस्सानेविच र उनकी डेनिस ब्याले नृत्यांगना पत्नी इंगर, बेलायती गोर्खा सेनाका पूर्व-कर्णेल जे.पी. क्रस, सेन्ट जेभियर्स स्कूलमा अध्यापन गर्न आएका फादर वाट्रिन लगायत अन्य पादरीहरू सबैले आफ्नो अधिकतर जीवन नेपालमा नै व्यतित गरेर यहीँ नै समाधिस्त भए।

त्यस्तै नेपालमा समाजसेवा, शिक्षा, स्वास्श्य र विकास कार्यक्रम सञ्चालन गर्न आएका कैयन् अन्तर्राष्ट्रिय धर्म प्रचारक संस्था र अन्य स्वयम् सेवक संस्थाहरू तथा भारतीय र ब्रिटिश सेनाका प्रतिनिधिका रूपमा नेपाल आएका धेरै विदेशीहरू आफ्नो कार्यकाल पछि पनि नेपालमा नै बसोबास गरेका तथ्यहरू पाइन्छन्।

बेलायतमा नै जन्मेर १३ वर्षको उमेरदेखि पुतली संकलनको सोख बोकेका कोलिन फिलिप स्मिथले लण्डन विश्वविद्यालयबाट पुतली र मोथ (राति उड्ने पुतली) तथा तिनका प्रजातीबारे स्नातकोत्तर उत्तिर्ण गरेका थिए। उनीसँग स्कटल्याण्डको विश्वविद्यालयमा अध्यापन गरेको अनुभव पनि थियो।

कोलिन सन् १९६६ मा ३० वर्षको उमेरमा युनाइटेड मिशन टु नेपालको स्वयम् सेवक शिक्षकको रूपमा नेपाल आएका थिए र उनले पोखराको लामाचौरस्थित नेपाल आदर्श विद्यालयमा अध्यापन गर्न थाले।

उनी गणित र विज्ञानका शिक्षक थिए। केही समय पछि उनी बेलायत फर्केका भए तापनि नेपालको मायाले उनलाई पुनः यतै तान्यो र युनाइटेड मिसनकै शिक्षकका रूपमा उनले गोरखास्थित अमरज्योति विद्यालय र पछि पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्न थाले।

उनी अमरज्योती विद्यालय (लुइँटेल)मा छोटो समयको निम्ति शिक्षक छँदा उनका कैयन् जेहेन्दार विद्यार्थीहरूमध्ये डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटा पनि थिए। त्यतिबेला पनि आफ्नो अगाडि पुतली देखे भने उनी सबै काम छोडेर त्यसलाई पछ्याउँदै त्यसको अनुसन्धान गर्न थाल्थे रे।

कालान्तरमा तिनै बाबुराम प्रधानमन्त्री छँदा उनले पुतली बाजेलाई नागरिकता दिलाउन र उपेन्द्रले आफ्नो अस्पतालमा निशुल्क उपचार गर्न मद्दत गरेका थिए।

पछि काठमाडौँको आनन्दकुटी विद्यापीठ हुँदै उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान संग्रहालयसँग आवद्ध हुन पुगे। पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र रहेको अन्नपूर्ण प्रकृति संरक्षण कोषद्वारा सञ्चालित प्राकृतिक इतिहास संग्रहालयको स्थापना काल (सन् १९६७ तिर) देखि नै कोलिन फिलिप स्मिथले पिस कर्पस्का स्वयम् सेवक डोरोथी मिरोसँगको सहकार्यमा पुतली संकलन कार्यमा लामो समयसम्म काम गरेका थियो।

हाल त्यस संग्रहालयको एक हिस्सामा पुतली संग्रहालय नै स्थापना गरिएको छ तर त्यो अति महत्वपूर्ण संग्रहालयको उचित सम्भार भने भएको पाइँदैन। यही मिसन अन्तर्गत उनले नेपालका ४० भन्दा बढी जिल्लाहरूको भ्रमण गरेर सो संग्रहालयको लागि २५ हजार जति पुतली संकलन गरे।

उनका अनुसार नेपालमा करिव ६६० प्रजातिका पुतलीहरू छन् रे र उनले ५८७ प्रजातीका पुतलीको संग्रह गरेका थिए रे। ती मध्ये ४ हजार थरीका मोथ (राति उड्ने पुतली) को समेत संकलन गरेका थिए।

पुतली बाजेको संलग्नता पोखराको सो संग्रहालयमा मात्र नभई त्रिभुवन विश्वविद्यालयको जीवविज्ञान संग्रहालय र काठमाडौँको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा समेत थियो। पुतली बाजेले पुतलीका विभिन्न प्रजाती सम्बन्धी करिव अढाई दर्जन पुस्तक र निकै धेरै लेखहरू पनि लेखेर प्रकाशन गराएका छन्।

सन् १९८२ देखि उनले पुरै समय पुतली संकलन र अनुसन्धानमा बिताएका थिए। पुतलीलाई मार्न मन नभए पनि संग्रहालयमा नमूना (स्पेसिमेन)को निम्ति राख्नु पर्ने भएकोले हरेक प्रजातिको कम्तिमा एउटा पुतली मार्न करै लाग्दथ्यो।

अक्सर शिरमा नेपाली ढाकाको टोपी लगाएर सेता दाह्री-जुङ्गासहित, पावर चश्मा, कमिज र पाइण्टमा सजिएर तथा काँधमा एउटा कपडाको व्याग भिरेर हिँड्ने दुब्ला-पातला तथा अग्ला पुतली बाजेले निकै सरल जीवन बिताएका थिए।

नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने उनी आफूलाई भेट्न जानेहरूलाई पुतलीको फोटो अंकित पोष्ट कार्ड उपहारस्वरुप दिने गर्दथे। वातावरण संरक्षणका हिमायती उनी सबैलाई मुलुकमा हरियाली बढाउन प्रोत्साहन दिने गर्दथे।

एकजना नेपाली महिलासँग उनको वैवाहिक सम्बन्ध गाँसिएको भए तापनि सो धेरै समयसम्म दिगो हुन सकेन। उनले जीवनभर एकल जीवन नै जिए। आफ्नो अन्तिम समयसम्म पनि उनी आफ्नो काम आफैं गर्दथे भने उनलाई सहयोग गर्ने एकजना धर्मपुत्र (मिन परियार) र उनका परिवार भने उनको साथमा सधैं रहन्थे।

ती सहयोगीलाई उनले शुरुमा पुतली संकलन गर्न नेपालका विभिन्न जिल्ला घुम्दा सँगै लिएर जाने गर्दथे भने पछि उनैलाई धर्मपुत्र समान आफूसँग राख्न थाले। निकै वर्ष पोखराको लेकसाइड र शहरी इलाकामा बसेका उनी करिव १ दशकदेखि पोखरा महानगरपालिकाको वडा नं. १८ लामागाउँको सुनसान गाउँले बस्तीमा सानो एक कोठे घर बनाएर बसेका थिए भने उनको मासिक खर्च धान्न र निकै साधारण जीवनयापन गर्न उनले नेपाल सरकारबाट पाउने ३ हजार रुपैयाँ वृद्ध भत्ता र बेलायत सरकारबाट पाउने १२५ पाउण्ड भत्ता यथेष्ट थियो।

तर बेलायतबाट प्राप्त हुने रकम यहाँसम्म आइपुग्न भने निकै कठीन हुँदै गएकोले उनी आर्थिक संकटमा परिरहन्थे। सन् १९७५ सम्म उनी हरेक ३ वर्षमा आमा-बुवा भेट्न बेलायत जाने गरेका थिए। तर पछि उहाँहरूको निधन पश्चात भने उनको बेलायत जाने क्रम पातलिँदै गयो।

उनका बेलायतमा रहेका नातेदार तथा साथीहरू पनि बिस्तारै पातलिँदै गए। एकजना दाजु भने न्युजिल्याण्डमा सपरिवार बस्दै आएका छन् र सन् २००७ मा पुतली बाजे अन्तिम पटक बेलायत जाँदा उनीसँग भेट भएको थियो रे।

पछिल्लो समयमा यतै नै देहत्याग गर्ने विचारले बसेका पुतली बाजेले नेपालमा धेरै साथिहरू बनाएका थिए र उनलाई माया र श्रद्धा गर्नेहरूको यहाँ अझैं पनि कमी छैन। नेपालको हावापानी र समग्र मौषम निकै राम्रो भएकोले उनी यतै बस्न आकर्षित भएका रहेछन्।

कोलिन फिलिप स्मिथ यानी पुतली बाजेको नेपाल प्रेम र यहाँको शिक्षा र पुतली संकलन तथा अध्ययनमा उनले पु¥याएको योगदानको कारण आज उनी नेपालमा एक अति नै आदरणीय व्यक्तित्व बन्न पुगेका छन्।

वास्तवमा उनले पुतलीका प्रजातिहरूबारे गरेको अध्ययन, अनुसन्धान र प्रकाशन गरेका दर्जनौँ कृतिहरूबाट उनी नेपालमा मात्र नभइ विश्वभरमा नै प्रख्यात भएका छन्।

पुतली बाजेको नेपाल प्रेम र महत्वपूर्ण योगदानकै कारण उनको निधन पश्चात उनको शवलाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले मान-सम्मानका साथ भव्य शवयात्रा गराएर सेती नदीको किनारामा दाहसंस्कार गरेको थियो।

उनी भन्ने गर्दथे कि उनलाई नेपाल औधी मन पर्छ र उनको शेषपछि उनलाई सेती नदीमा फ्याँकिदिए त्यहाँका माछाले पनि आहारा पाउने थिए। तर त्यस्ता प्रिय व्यक्तित्वको अन्तिम संस्कार कसोरी त्यस्तो तवरले गर्नु र? कठै बिचरा पुतली बाजे र उनको सरल सोच!

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *