रुसी भाडाका सेनामा भर्ना भएर मर्दैछन् नेपाली, शव समेत नेपाल ल्याउनै मुस्किल

घाइते सैनिक भन्छन्-मृतकको संख्या अझै बढी हुन सक्छ

डिसी नेपाल
१३ मंसिर २०८० १२:४३

काठमाडौं। वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा पुगेर होस् या अन्य युद्धग्रस्त मुलुककाे सैन्य सेवामा प्रवेश गरी जीवन निर्वाहका लागि जोखिमपूर्ण कार्यमा संलग्न भएर नेपालीहरुले पराइ मुलुकमा ज्यान गुमाउने क्रम आज पनि यथावत् छ।

प्रथमदेखि दोस्रो विश्वयुद्धका समयमा नेपालीहरुले विदेशी मुलुकमा रगत बगाएको इतिहास आज पनि गौरवगाथाका रुपमा लिपीबद्ध गरिएको छ।

तत्कालीन अवस्थामा लादिएको गोरखा भर्ती केन्द्र अन्तर्गत आज पनि भारत, बेलायत र सिंगापुरमा नेपालीहरु सरकारको अनुमतिसहित सैन्य सेवामा प्रवेश गरेर ती मुलुकको सुरक्षार्थ खटिएका छन्।

यीनै नेपालीहरुले विकसित मुलुकको सुरक्षा व्यवस्था मजबुद बनाउन आफ्नो जीवन उत्सर्ग गर्दैगर्दा आफ्नो मुलुकको दुरावस्था झनै भयावह भएको दयनीय दृष्य हेर्न नयाँ पुस्ता विवश छन्।

त्यसैको प्रतिफल आजसम्म पनि नेपालीहरु विदेशिने र युद्धग्रस्त क्षेत्रमा रोजगारीका लागि जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यात्मक पस्थिति विद्यमान छ।

नेपालीहरुले विदेशी भूमिमा कारुणीक मृत्युवरण गर्नुपरेको थुप्रै घटना छन्। यसअघिका इराक, अफगानिस्तान, पाकिस्तानका घटनादेखि केही महिना पहिले इजरायलमा ज्यान गुमाएका दश नेपाली लगायत भर्खरै रसियन सेनामा भर्ना भएर ज्यान गुमाएका नेपालीहरु रोजगारीका लागि बाध्यात्मक रुपमा विदेशी भूमिमा पुगेर जीवन गुमाएका हुन्।

भर्खरै नेपाली नागरिक रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा तीन जनाको निधन भएको घटनाले सबैलाई स्तब्ध तुल्याएको छ।

रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयललाई एक पत्रमार्फत जानकारी गराउँदै तीन जना नेपालीको रुस युक्रेन जारी युद्धमा निधन भएको पुष्टि गरेको छ। त्यस अघि पनि एक नेपालीको निधन भएको बताइएको छ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तान रहेका छन्।

रुसी नियम अनुसार उनीहरुको शव नेपाल ल्याउन पनि कठिन रहेको बताइन्छ। गोरखाका सन्दीप थपलियाको भने यसअघि नै मृत्यु भएर उनको अन्त्येष्टि रुसमा नै गरिएको बताइएको छ।

अहिले तीन जना नेपालीको निधन भएको आधिकारिक रुपमा पुष्टि गरिएपनि यस अघि थुप्रै नेपालीको हाताहाती भएको डिसी नेपालको सम्पर्कमा आएका रसियन भाडाका नेपाली सैनिकहरुले बताउँछन्।

नेपालीहरु यहाँबाट भिजिट भिसामार्फत दुबई गएर त्यहाँबाट मस्को पुगेर रसियन सेनामा भर्ना हुने गरेको तथ्यहरु सार्वजनिक भइरहँदा सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि कुनै कदम चालेको छैन।

रसियामा रहेको नेपाली दूतावासलेसमेत नेपालीहरुको सुरक्षा र नेपाल फर्काउन कुनै पहल नगरेको त्यहाँ रहेका नेपालीहरुले गुनासो गर्छन्। उनीहरुले दूतावासका अधिकारीहरुलाई जानकारी गराउँदा ‘भगवान भरोसा’ मा रहनूस् भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको रसियन सेनामा कार्यरत नेपालीहरु बताउँछन्।

नेपाली दूतावासको गैरजिम्मेवार अभिव्यक्तिले त्यहाँ रहेका नेपालीहरुको उद्धार भन्दा पनि थप पीडा दिएर मर्माहत बनाउने गरेको रसियन सेनामा कार्यरत एक नेपाली युवाले बताए।

रुकुम घर भएका ती युवा पूर्व माओवादी लडाकु समेत हुन्। उनी अहिले युक्रेनसँगको युद्धमा घाइते भएर मस्को अस्पतालमा उपचाररत रहेको बताउँछन्।

‘राज्यविहीनताको शिकार भएका नेपालीहरु केही उपाय नलागेपछि यहाँ आएर युद्धमा सहभागी भएका हुन्। यहाँ म लगायत नौ जना नेपालीहरु घाइते भएर उपचार गराइरहेका छौं।’, उनी भन्छन्, ‘अन्य अस्पतालमा पनि नेपालीहरु घाइते छन् भन्ने सुनिन्छ तर आधिकारिक रुपमा कुनै जानकारी पाइएको छैन। तीन जनाको निधन दूतावासले पुष्टि गरेपनि मृत्यु हुने नेपालीको संख्या बढी नै हुनसक्छ।’

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य सेवामा प्रवेश गर्ने जोसुकैलाई एक वर्षपछि रुसी नागरिकता दिलाउने प्रावधान लागू गरेपछि नेपालीको आकर्षण बढेको उनी बताउँछन्।

अहिले कतिपय नेपालीहरु रसियन सेना छाडेर नेपाल फर्किने क्रम समेत चलिरेहेको छ। स्वतस्फूर्त रुपमा यहाँबाट गएका नेपालीहरु युद्धको भयावह अवस्था देखेर फर्कने क्रम पनि चलिरहेको उनको भनाइ छ।

उनका अनुसार कतिपय नेपालीहरु आफ्नै खर्चमा मस्कोबाट भागेर दुबई हुँदै नेपाल फर्किएका छन्। उनीहरुले त्यहाँको जोखिमपूर्ण लडाइँद्वरा सिर्जित भयावह अवस्थाबाट अत्तालिएर नेपाल फर्किएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *