बांगेचौर आधारभूत रंगशालाः बजेट विनियोजन भयो, कार्यान्वयन भएन

डिसी नेपाल
२२ मंसिर २०८० १०:३८

बागलुङ। बागलुङको बांगेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो । रंगशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन।

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बांगेचौर खेलमैदानलाई रङ्गाशाला बनाउनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बन्यो, बजेट आयो तर कार्यान्वयन भने भएन।

बागलुङ नगरपालिकाले बांगेचौर खेलमैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेकै चार वर्ष पुगेको बताइएको छ। यसका लागि आवश्यक रु आठ करोड २२ लाख बजेटसमेत विनियोजन भयो तर रङ्गशाला विस्तारमा वन बाधक बनेपछि कार्यान्वयनमा आउन नसकेको हो।

बागलुङ नगरपालिकाको रु चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रु चार करोड ११ लाख बजेट तीन वर्ष लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको बागलुङ नगरपालिकाले जनाएको छ।

डिपिआरमा उल्लेख भएअनुसार रंगशाला निर्माणका लागि रामरेखा सामुदायिक वनभित्रको झण्डै एक सय ५० रुख फडानी गर्न आवश्यक रहे पनि वनले समन्वय गर्न नसक्दा करोडौँको बजेट कार्यान्वयनमा नआएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।

“अघिल्ला जनप्रतिनिधिले साझेदारीमा योजना पार्नुभएको थियो, वार्षिकरूपमा ५०–५० प्रतिशतले नगरपालिका र सङघीय सरकारले बजेट हाल्दा तीन वर्षमा तीन हजार दर्शक अटाउने प्यारापिट बन्ने थियो”, उनले भने, “तर बजेट लगातार तीन वर्षसम्म आइरह्यो, हामीले अन्तिम वर्ष भए पनि कार्यान्वयनमा लैजाने भनेर लागिपर्यौँ, वनकै समस्याका कारण सकिएन।”

उपप्रमुख खड्काले बजेट आउञ्जेल वनले रुख कटान गर्न नदिएको जनाउँदै यस वर्षबाट बजेट कटौती गरेपछि वनले बल्ल सकरात्मक कुरा गरेको जानकारी दिए। बहुवर्षीय योजनाका रूपमा बजेट विनियोजन भए पनि संक्षिप्त वातावरणीय मूल्याङ्कनले रुख कटान गर्न नदिने जनाउँदै वातावरणीय प्रभाव मूल्यांकन गर्न एक वर्ष लाग्ने भएपछि बजेट कार्यान्वयनमा नआएको हो।

तत्कालीन खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) रु ३० लाख खर्चेर तयार गरिएको थियो। डिपिआरमा रंगशाला बनाउन रु ३० करोडभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको थियो।

डिपिआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लो भागमा बढाउनुपर्ने र तल्लो भागमा एक सय ५० भन्दा बढी रुख कटान गर्न आवश्यक देखिएको थियो। रुख कटानपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक रहे पनि उक्त काम गर्न एक वर्ष लाग्ने र सो समयमा बजेट ‘फ्रिज’ भइसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिए।

खेलमैदानको पूर्वतर्फ प्यारापिटलगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको जनाउँदै उनले वन मान्त्रालयमा फाइल डुल्दाडुल्दै बजेट फर्केको बताए।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छाडेर बनाउँदा पूर्वपट्टिका रुख फडानी गर्नका लागि रामरेखा सामुदायिक वनसहित वन मन्त्रालयले चासो नदिएपछि बजेट कार्यान्वयनमा नआएको हो।

रंगशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ । स्थानीय पालिका र वनबीचको समझदारी समयमै नबन्दा विनियोजन भएको बजेट कार्यान्वयनमा नआउनु दुःखद् रहेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

रङ्गाशाला निर्माणका लागि आएको बजेट कार्यान्वयन नहुँदा खेल क्षेत्रका लागि दुर्भाग्य रहेको उहाँको भनाइ थियोे । “खेल क्षेत्रका लागि अत्यन्तै दुःखद् हो यो, यत्रो रङ्गशाला बन्दा सबैलाई फाइदै हुन्थ्यो, तर समयमै वन र नगरपालिकाबीच समझदारी बनेन्”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको पोखरापछिको ठूलो रङ्गशाला निर्माण हुने बागलुङमा बजेटसमेत कार्यान्वयनमा नआउँदा खेलाडीमा निराशा छाएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *