दर्शन

अतृप्त आत्मा

शंकरप्रसाद रिजाल
२३ मंसिर २०८० ६:४०

हामी यस धर्तीको बिशाल बगैंचामा जन्मियौं। यसैमा हामी सबैले जसोतसो आनन्द लिइरहेका छौं। अनेक सुख दुःख, पीर, ताप, लाभ हानि, नाफा, नोक्सान, कहीँ काँडा त कहीँ फूलको साथमा रहेर स्वर्गीय आनन्द लिइरहेका छौं।

समय बित्दै गए अनुसार यो आत्मारुपी देहले के के कुराको खोजी गर्छ, पत्तो लाउन गाह्रो छ। आफू स्वयम् अतृप्त बन्ने र अरुको देखासिकी गरेर चाहेपनि नचाहेपनि त्यो पूर्ति गर्नु पर्ने। ओहो कस्तो अतृप्त आत्मा।

यो आत्माले कहिलेकाहीँ त संसारमा देखिएका समस्त चिज बस्तुलाई आफ्नै अगाडि राखेर खेलाउन मन लगाउंँछ। किन हाम्रो मन यस्तै अतृप्त आत्मालाई लिएर हिँडिरहेको छ? किन यस्तैमा हाम्रो मन रमाउन चाहन्छ? यो कसैलाई पनि अत्तोपत्तो छैन।

सबै देखे जति आफ्नै सेरोफेरोमा सधैं होस् भन्ने हामी चाहन्छौं। यस्तो अतृप्त आत्माले हामीलाई एकदिन कुन ठाउँमा लगेर जाक्ने हो थाहा छैन। हामीसँग के छैन र? चिसो, तातो, राम्रो, नराम्रो, सुख, दुःख, मिठो नमिठो सबै हाम्रै अगाडि छन्।

यो भन्दा अझ अगाडि बढ्ने हो भने हामीसँग आकास छुने चेतना पनि छ। ठूला सागर पार गर्ने तागत पनि हामीमा छ। भयानक पहाडको टुप्पोमा पुगेर संसारलाई एकैचोटी हेर्ने हाम्रा शक्तिशाली दूरवीन रुपी आँखा पनि हामीसँगै छन् भने हामीमा के त्यस्तो कमी छ जो हामीबाट बाहिर छन्?

यति हुँदा हुँदैपनि फेरि सधैं अभावको महसुश भैरहन्छ। सधैं भोको जस्तो र सधैं अतृप्त आत्मा जस्तो! भर्खर जन्मेको बालकदेखि युवा, जवान वयस्क र बृद्ध नै किन नहुन्।

अलप र अदृश्य भएर सधैं मुसुक्क हाँसी पाप र पुण्यको साक्षी र हर्ताकर्ता बनिरहेका छौ। बोल्दैनौ, झुठा, नमिठा र मिठा कुराहरु केही गर्दैनौ। केवल मौनमा छौ। किनकि तिम्रो मौनतामा नै सत्य र श्रद्धा खुलेको हुन्छ।

बालकले पनि अनेक कुराहरुको माग राख्दछ भने त्योदेखि माथि बृछले पनि आफूले कमाएको धनमालको पोको र पैसाको थैली आफ्नै सिरानमुनी र अगाडि रहेको दराजमा, किताबको पत्ता पत्तामा र कोट पाइन्टका खल्तमा कसैले पनि नदेख्ने र थाहा नपाउनेगरी गुटमुट्याई राखेका हुन्छन्।

सारा संसार यसरी नै चलिआएको छ, चल्दैछ र चलेरै जानेछ। यहाँ अतृप्त आत्माले केके माग्छन् र केके चाहन्छन् थाहा नै हुँदैन। तर निरन्तर माग्ने काम भने चलिनै रहेको हुन्छ। स्मरण रहोस् यसरी मागी खानेहरुको आत्मा भने कहिल्यै पनि तृप्त हुँदैन।

साँच्चै भन्ने हो भने यहाँ अत्यन्त धनवान, बुद्धिमान, बलवान, राम्रा नराम्रा, असल खराब, सपांग अपांग आँखा नदेख्ने, कान नसुन्ने सबै एकनाश छन्। कारण सबै यही अतृप्त आत्मा बोकेर सबै आफ्नो आफ्नो तरिकाले मागेरनै आफ्नो जीवनलाई बेकारको बोझ बनाएर हिँडिरहेका छन्।

यहाँ सबैका अतृप्त आत्माले एक अर्कोको आश गरी केही कसैबाट पाइन्छ कि भनेर आशको डोरीमा झुन्डिई रहेका छन्। यो सबै अतृप्त आत्माको खेल हो। ओहो कति बिशाल भिक्षा पात्र, जहाँ जति हाले पनि कहिल्यै तृप्त नहुने र कहिल्यै नभरिने।

सायद हाम्रो शरीरको सबैभन्दा माथिल्लो भागको ताज पहिरिने शीरमा र बिशाल हृदय बोकेको तृष्णारुपी मन भित्रको अतृप्त आत्माको इशारामा चलेको भिख मंगा प्रबृत्ति नै हो जस्तो लाग्छ।

गरीब २-४ सयको हिसाब गरी बस्ने, त्यो भन्दा माथि हजारको हिसाब गर्ने, लाखको, करोडको, अरबको र खरब खरबको हिसाब गरी देश दुनिया लुट्नेसम्मको प्रवृत्तिलाई अतृप्त आत्माले पक्कै पनि भित्रभित्र धिक्कारी रहेको हुन्छ।

यसरी आत्मा जस्तो पवित्र चिजलाई आफैंले अतृप्त बनाइ हिँड्नेहरुले आफ्नो भलाइको त कुरै छोडौं, परिवार, समाज, राष्ट्र र संसारको भलाइ किमार्थ गर्न सक्तैनन्। यस्तालाई सिंहासन र श्रीपेच पहिराइ दिएपनि असजिलो नै हुन्छ।

किनकि अतृप्त आत्माको भुत कहिलैपनि तृप्त हुँदैन। यो कस्तो भोक र प्यास हो? आलिशान महलमा बसी दिनहुँ चौरासी ब्यन्जनको भोग विलास गरेतापनि त्यसलाई राख्ने आल्मारी र विशेष कोठा ताल्चाको माग गर्ने कस्तो लोभ, भोक र प्यास हो त्यो।

आखिर कहाँ गएर यी सबैको एकैचोटी अन्त्य र स्वाहा हुने हो थाह छैन। यस्तो पित–पात्र लिएर हिँड्नेको जीवन संसारमा सच्चा गतिशील बन्न किमार्थ सक्दैन।

बडे बडे पण्डितहरुले ठूल्ठूला ग्रन्थको पहाड त बनाए, इमान, जमान, धर्मकर्म र नैतिकताको पाठ त सिकाए तर कसरी आत्मा तृप्त बन्ने भन्ने र सन्तोषी बनी मनका असंख्य इच्छालाई नियन्त्रण गर्ने भन्ने कुराहरुको व्याबहारिक ज्ञान भने कसैले पनि दिन सकेनन्।

ज्ञानको पाठ सिकाउने यी जन्तरे मन्तरेको आखिर घर र बैंक जम्मापनि आलिशान र प्रसस्त रहेको देखिन्छ र भेटिन्छ। सारा चिज छोडी सबै धन र मान प्रतिष्ठामानै मस्त छन्। आखिर ती पनि पित–पात्रको खोपडी लिएका मानिस नै हुन्।

यदि सबैले धन सम्पत्तिलाई तुच्छ मानी, जाँड रक्सी, चुरोट, तम्बाखु र बम बारुद र हात हतियार निर्माण गर्न बन्द गर्ने हो भने संसारमा कोही पनि भोको नांगो र गरीब दुःखी हुँदैन थिए होला र कसैलेपनि मागेर हिँड्न पर्दैन थियो होला। अनि संसार कस्तो हँसिलो र उत्सर्गको हुनेथियो होला।

हे परमेश्वर! यो विशाल सृष्टिमा तिमीले सबै त दिएकै थियौ नि। तर किन अरबौं खरबौं मानिसलाई अतृप्त आत्मा दियौ र दिइनै रहने छौ? लाग्छ कहिलेकाही त सबैलाई यस्तो अतृप्त आत्मा दिइ एउटा भाग्यको सिक्का चाहिँ लामो धागोमा झुन्ड्याइ सबैलाई लोभी बनाएका छौ र यो संसारलाई अगाडि पछाडि गरी भुलाई रहेका छौ।

यो तिम्रो कस्तो नाटक मन्चन हो जो सबैलाई आशै आशमा रुवाई, हँसाई अन्त्यमा बिशाल रोदनमा हामी सबैलाई आफैंमा समाहित गर्दछौ? हामीलाई यस्तो पितपात्र बोकाई अन्तरयामी बनेर हामीदेखि किन यसरी गुमनाम लोकमा आफ्नो शासन गरी बस्छौ र आशै आशामा सारालाई तड्पाई रहेका छौ? हाम्रा सामुन्ने अनेकौं खेलौना र झिटिगुन्टा जम्मा गराइ तिमी कहाँ अलप भएका छौ?

आखिर यी सबै कुराहरु हामीले कहाँ लैजाने हो, कृपया भनिदेउ। यस्तो तड्पिएको मनै मनको अगाडि पनि फेरि तिम्रै पैदायसी आकास किन मौन छ? धर्ती किन चुपचाप र शान्त छिन्? पहाड किन मौन छ? खोला नदीनाला किन मुख फर्काइ फर्काइ महासागरमा मिल्न गइरहेका छन्? किन सारा प्रकृति या तिम्रै रुप चुप र शान्त छन्?

यत्रो अतृप्त आत्माको हरदिनको चित्कार र कोलाहल र याचना कसैले सुन्दैनन्। प्रकृतिको यस्तो मौनतामा हामी अतृप्त आत्माको इच्छा पूर्ति कसरी हुन्छ? तिमी महावैद्यले हाम्रा यी सब रोग भोक र शोकले तड्पिएका हामी बिरामीलाई एकचोटी नाडी समाइ हेर त!

हामी कति निरिह भैसकेका छौं? हाम्रो अहिलेको अवस्था कस्तो छ? हाम्रो जिर्ण रोगको त परीक्षण नै भएको छैन। यो रोगको परीक्षण गर्ने पीसीआर मेसिन खै आज कहाँ छ? बनेकै कहाँ छ र? संग्रहमानै मन जाने, जोशमा होश उड्ने र धैर्यता हराउँदै जाने, यो कस्तो चेतना दियौ प्रभु तिमीले हामी सबैलाई।

कहीँ यसमा मिसावट त छैन? नत्र भने हामीलाई हाम्रा खानामा सन्तोष किन छैन? हाम्रो बसाइमा किन सन्तोष छैन, हाम्रो बोलाई सुनाइ, देखाइ, हेराइमा किन सन्तोष छैन? सम्पूर्ण हाम्रो जीवनमा नै किन सन्तोष छैन?

तसर्थ हामीलाई यस्तो भोक प्यास, लोभ र मोहको जीवन होइन, तिम्रो जस्तो जीवन देउ जसमा कुनै लोभ, लाभ लेनदेन, नाफा, नोक्सान र संचित र खर्च कुनै पनि नहोस्। तिम्रो श्रीपेच र सिंहासन छ छैन थाह छैन।

अलप र अदृश्य भएर सधैं मुसुक्क हाँसी पाप र पुण्यको साक्षी र हर्ताकर्ता बनिरहेका छौ। बोल्दैनौ, झुठा, नमिठा र मिठा कुराहरु केही गर्दैनौ। केवल मौनमा छौ। किनकि तिम्रो मौनतामा नै सत्य र श्रद्धा खुलेको हुन्छ।

तसर्थ तिम्रा ती पानी भन्दा पातलो ज्ञान, फूल भन्दा हलुको जीवन, सफा ऐना जस्तो मन र विशाल दया करुणा र प्रेमका गुण हामीलाई देउ र अतृप्त आत्मालाई तृप्त बनाई देउ। यही नै आजको अतृप्त आत्माको माग र फरियाद हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *