पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल, आन्तरिक पर्यटकको भीडभाड

डिसी नेपाल
२९ मंसिर २०८० १५:१५

दाङ। देउखुरी उपत्यकाको मध्य–उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । यो ताललाई दाङको एक प्रमुख पर्यटकीयस्थलको रूपमा लिइन्छ ।

यस तालभित्र र बाहिर गरी जम्मा चार मन्दिर निर्माण गरिएका छन् । घुम्न आउने पर्यटकलाई वनभोज गर्ने रमाइलो स्थलका रूपमा यो ठाउँ परिचित रहेको छ । यस ताल क्षेत्रमा प्रायः वर्षैभरि नै चहलपहल रहने गर्छ भने यस ठाउँमा दसैँ र तिहार सकेपछिका मङ्सिर र पुससम्म विशेष भीडभाड हुने गर्दछ।

लमही नगरपालिका–३ जखेरामा रहेको यस तालमा हिजोआज पर्यटकको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । सात बिघा क्षेत्रफलमा फैलिएको सो तालमा गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधाकृष्ण मन्दिर निर्माण गरिएको छ।

तालको किनारमा मन्दिरबीचमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा अनि चराचुरुङ्गीको आवाजले पर्यटकलाई थप आकर्षण गर्ने गरेको छ ।

घोराही उपमहानगरपालिका–१७ कर्जाहीका सावित्रा वली गत शनिबार साथीहरूसँंग वनभोज खान जखेरा ताल गइन्। उनले पहिलोपटक जखेरा पुगेको बताइन्।

“ताल घुम्दा साह्रै रमाइलो भयो, साथीहरूले कुरा गरेको सुनेको थिएँ, साँच्चिकै राम्रो ठाउँ रहेछ, घुम्दा मज्जा लाग्यो”, उनले भनिन्, “डुंगा सयर गर्दा झनै रमाइलो लाग्यो।”

बर्दिया राजापुरका मनोज आचार्य विद्यालयबाट दाङका पर्यटकीयस्थल घुम्न आए। जखेरा ताल घुम्ने मौका पनि मिल्यो । उनले चारैतिर हरियाली जंगलको बीचमा डुंगा सयर गर्दा आनन्द आएको बताए। पार्कमा विभिन्न किसिमका फूलहरूसँग फोटो खिच्दा रमाइलो लागेको उनले बताए।

जखेरा ताल क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट गत आर्थिक वर्षमा बजेट विनियोजन भएको थियो। त्यो बजेटबाट ताल क्षेत्रको डिल पक्की बनाउने काम गरिएको जखेरा शिवालय धार्मिक विकास पर्यटन संरक्षण प्रतिष्ठानका सहअध्यक्ष रविध्वज थापाले बताए। जखेरा तालको विकासका लागि नयाँ–नयॉँ योजना अघि सारिएका छन् । ताल क्षेत्रमा मोटरबोटसमेत चलाइएको छ।

ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको बताए।

“प्राकृतिक सुन्दरता, पहाडैपहाडको बीचमा बनेको तालको दृश्यावलोकनका लागि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन्”, उनले भने, “अहिले दाङका छिमेकी जिल्ला रोल्पा, प्यूठान, रुकुम, सल्यान, बाँके, बर्दिया र कपिलवस्तुलगायतका स्थानबाट आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *