सरकारी कार्यालय कब्जा गरी बोर्ड लुकाएर कांग्रेसको झण्डा, बार्दलीबाट गगन थापाको भाषण

दामोदर नेपाल
१ पुष २०८० ११:०२

काठमाडौं । नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनका क्रममा शनिबार पाल्पामा तानसेन नगरपालिकाको भवनको चरम दुरुपयोग भएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा पुगेका महामन्त्री गगन थापालाई भाषण गर्नको लागि नगरपालिकाको अनुमति नलिइ नगरपालिकाको बार्दली उपलब्ध गराइएको थियो ।

शनिबार तानसेनमा हुने जिल्ला सम्मेलनका लागि नेपाली कांग्रेस पाल्पाले नगरपालिकाको अण्डरग्राउण्ड तलामा रहेको सभाहल भाडामा लिएको थियो । तर, कार्यक्रम समापनका क्रममा महामन्त्री गगन थापाले सम्बोधन गर्ने बेलामा थापालाई एक तलामाथि बार्दलीमा चढाइयो । थापाले बार्दलीमा उभिएर भाषण गरे । भाषण सुन्न आएका दर्शकहरु टुँडिखेलभरी छरिएर बसे ।

थापाको भाषणको क्रममा तानसेन नगरपालिकाको साइनबोर्डलाई समेत कपडाले छोपिएको थियो । राष्ट्रिय झण्डा समेत निर्धारित स्थानभन्दा तल सारेर सजिलै नदेखिने बनाइएको थियो । यो कार्यक्रम भएपछि पार्टीले सरकारी भवनको दुरुपयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

कार्यक्रमका लागि पार्टीले अण्डरग्राउण्ड हल भाडामा लिएको भए पनि यसरी माथि बार्दलीमा नै मञ्च खडा गरेर गलत गरेको भन्दै आलोचना भइरहेको छ । कांग्रेस पाल्पाले बार्दलीमा मञ्च बनाउनका लागि नगरपालिकासँग अनुमतिका लागि सोध्दै नसोधेको पाइएपछि विरोध चर्को भएको छ ।

नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठका अनुसार हिजो उनी पाल्पामै थिएनन् । उनी अन्तर पालिका संजालको कार्यक्रममा सहभागी हुनको लागि झापाको दमक गएका थिए । आफू नभएको बेलामा आफूलाई जानकारी समेत नदिइ यस्तो कार्यक्रम गरिएकोमा यसको जिम्मेवारी नेपाली कांग्रेस पाल्पाले लिनुपर्ने उनले बताए ।

मेयर श्रेष्ठ आफैं कांग्रेसबाट निर्वाचित भएका हुन् । आफूले यसबारे जानकारी पाउनासाथ कांग्रेस पाल्पाका सभापतिलाई सम्पर्क गरेर यसबारे जवाफ मागेको मेयर श्रेष्ठले बताए । ‘नगरपालिकाले अब के कारवाही गर्छ त ?’ भन्ने प्रश्नको जवाफमा उनले भने ‘कारवाही नै गर्ने भन्दा पनि यो नैतिक जिम्मेवारी लिने कुरा हो ।’

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ भने महामन्त्रीलाई बार्दलीबाट भाषण गराउने आफूहरुको नियत नभएको तर परिस्थिति त्यस्तै आइपरेको दाबी गर्छन् । ‘हामीले हलमा कार्यक्रम गर्ने भनेर हल भाडामा लिएका थियौं तर जनताहरु यति धेरै आइदिनुभयो कि हामीले धान्नै सकेनौं’ उनले भने ।

सरकारी कार्यालयको बोर्ड छोपेकोबारे उनले भने ‘यसअघि पनि स्कुलहरुमा, पालिका भवनहरुको अगाडि पार्टीहरुले कार्यक्रम गरेकै हुन् । यस्ता घटनाहरु भइरहन्छन् तर अहिले साथीहरुले यसलाई पोलिटिकल इस्यु बनाउनुभयो ।’ उनले यस किसिमका कार्यक्रमहरु यसघि पनि धेरै भइरहेका र यो विवाद गर्नुपर्ने विषय नै नभएको दाबी गरे ।

तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेशकुमार अर्याल भने पार्टीले यसरी सरकारी कार्यालयको बोर्ड छोपेर कार्यक्रम गर्नु गलत भएको बताउँछन् । ‘नगरपालिकाको हल भाडामा लिएपछि त्यहीँ कार्यक्रम गर्नुपर्ने हो, त्यहाँ नअटाए नगरपालिकाले नै टुँडिखेलमा सानो मञ्च र ठूलो खुला मञ्चको व्यवस्था गरिदिएको छ, त्यहाँ गर्नुपर्ने हो तर सरकारी भवनको बार्दलीबाटै भाषण गर्नु हुँदैनथ्यो’ उनले भने ।

टुँडिखेलका मञ्चबाट सम्बोधन गराउने विकल्पबारे कांग्रेस पाल्पाका सभापति श्रेष्ठले त्यो विकल्पमा जान सकिने अवस्था नभएको दावी गरे । ‘कार्यक्रमको समापनका बेला मात्र महामन्त्रीले सम्बोधन गर्नुभएको हो । त्यतिबेला नयाँ मञ्च बनाउनको लागि समय र अन्य स्रोत साधन जुटाउन सम्भव थिएन त्यसैले बार्दलीमै मञ्च बनाइएको हो’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *