पृथ्वीनारायणलाई किन भुल्न मिल्दैन ?

हरिप्रसाद सोडारी
४ पुष २०८० ७:५६

गोरखाले पृथ्वीनारायण नजन्माएको भए, नेपालआमाले एकीकरण महाअभियानमा सपुतहरुलाई न्यौछावर नगरेको भए विश्वमानचित्रमा नेपालको भूगोल कुनै राष्ट्रको खण्डमा कि त दबिने थियो, कि त दोब्रिने थियो।

वि. सं. १८०१ बाट प्रारम्भ भएको आधुनिक नेपालको एकीकरणका क्रममा पृथ्वीनारायणबाट मानवीय त्रुटि भए होलान् तर त्यसले पनि नेपाल एवं नेपालीको एकता आत्मीयतामा नै मलजल गर्‍यो।

पृथ्वीनारायण शाहले “राज्य भनेको चौटा र लाम्टा जस्तो गरेर भाग लगाउने वस्तु होइन” भाइभाइबीच राज्य विभाजनमा रोक लगाए। गोरखामा जन्मिएर न त उनले जितेको राज्यको नाम गोरखा राखे, न त राजधानी गोरखा बनाए, न त शाक्य परिवारकी कुमारीलाई हटाएर शाहवंशीया कन्यालाई नियुक्त गरे। योग्यलाई उचित स्थान, नूनको सोझो गर्नेलाई सहयोग गर्न र साथ लिन बाँकी छोडेनन्।

विजयी राज्यमा शासन गर्दा गोरखाली राजाका रूपमा होइन नेपाल नरेशका रूपमा देखिए। खण्ड र झुण्डमा भन्दा समग्रतामा रमाए। सर्वजनहिताय नै उनको मूलमन्त्र बन्यो।

यस मर्मलाई नबुझेर जातका नाममा फुटाएर, धर्मका नाममा टुटाएर, संस्कृतिका नाममा झगडा गराएर, नेपालआमालाई रुग्ण बनाउँदैछन्। उनले गोरखामा उभिएर, नुवाकोटमा टेकेर, कीर्तिपुरमा दुईपटक झुकेर, नेपालबाटै नेपालीको भावना र सदिच्छाअनुसार हिमालीराज्य दिएर गए।

हरेक राष्ट्रले आफ्नो इतिहासको तथ्यगत अनुसन्धान र दीर्घकालिक संरक्षण गर्दै अग्रजलाई अन्तर्राष्ट्रियकरण गर्दैछन्। यही पृष्ठभूमिमा हाम्रा वीर पितापुर्खा र त्यो सेनाको नेतृत्व गर्ने महानायक पृथ्वीनारायणलाई चिनाउन छोडेर केहीले विलाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छन्।

त्यसको सावाँ र ब्याज पनि नेपाल र नेपालीलाई नै प्राप्त भयो। अहिले शासनको बागडोर हातमा हुनेहरू वीर पुर्खा र शहिदका मार्गमा हिँड्ने हो भने नेपाल सुदामाको मुलुक होइन कुबेरको राष्ट्र हुने थियो। दुःखीको बस्ती होइन स्वर्गको टुक्रा बनेकाे थियो।

शकुनिहरू कुलेलम ठोक्ने थिए अनि हामी “महाजनो येन गता सा पन्थाः” प्राचीन आर्य सभ्यताको मूल बाटोमा लम्कने थियौँ। हामीलाई लागेको रोगको समस्याबाट मुक्ति पाउन पृथ्वीनारायणका बहुविधा बुझ्न एवं मार्गदर्शनलाई समयानुकुल चिन्तन, मनन गरी कार्यान्वय गर्नुपर्ने दिन ढोकामा नै आइपुगेकाले यस कर्मको पथिक ब; अभिप्रेरित गरायो।

सात महिनामा जन्मिएका, गोरखनाथ र सल्ल्यानकोटदेवीको आशीर्वाद, नुवाकोटभैरवीको कृपा, भगवन्तनाथ, कालु पाँडे, शिवराम बस्न्यात्, बिसे नगर्ची, रामकृष्ण कुँवर आदिको साथ प्राप्त पृथ्वीनारायणमा अद्भुत साहस र प्रेरणा जीवनभर जग्मगाई रह्यो।

पृथ्वीनारायणले हण्डर खाए, हुण्डरीसँगै कुस्ती खेले, पराजयलाई आशीर्वाद माने र चुनौतीलाई विजयमा रूपान्तरण गरे अनि हामीलाई नेपाल सुरक्षितरूपमा भावीपुस्तालाई हस्तान्तरण गराउन मार्गदर्शन गरेर गए।

हरेक राष्ट्रले आफ्नो इतिहासको तथ्यगत अनुसन्धान र दीर्घकालिक संरक्षण गर्दै अग्रजलाई अन्तर्राष्ट्रियकरण गर्दैछन्। यही पृष्ठभूमिमा हाम्रा वीर पितापुर्खा र त्यो सेनाको नेतृत्व गर्ने महानायक पृथ्वीनारायणलाई चिनाउन छोडेर केहीले विलाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छन्।

स्वदेशभित्रको युद्धमा पराजयको स्वाद चाखेका पृथ्वीनारायणले विदेशीलाई गोरखालीको बहादुरी एवं नेपालीको तागत देखाए। बत्तीस वर्ष अविरल युद्धमा होमिएर ५२ वर्षमा पृथ्वीबाट बिदा भएका उनले एउटै जीवनमा योद्धा, राजा, नेता, कुटनीतिज्ञ, जनताका अभिभावकलगायतका अनेकौँ उदाहरणीय भूमिका जिम्मेवारपूर्ण तरिकाले निर्वाह गरे।

युद्ध सधैँ नियमको परिधिमा सम्पन्न हुँदैन। रामायणदेखि महाभारतसम्मको युद्धमा पनि नियमको आंशिक उल्लंघन भएको थियो। यसबाट पृथ्वीनारायण पनि अछुत रहेनन् तर उनका विपरीतजस्ता देखिने कर्मले नेपाल र नेपालीलाई नै बलियो तुल्यायो।

झण्डै तीन सय वर्षअगाडिका पृथ्वीनारायण शाहले कर्मयोगद्वारा, प्रजातान्त्रिक चिन्तनबाट एकताको शंखघोष गरेकै कारण हाम्रो पहिचान इमान, साहस, वीरता र कर्तव्य निष्ठता विश्वभर जगमगाई रह्यो।

यसलाई भुलेर केही लठायतसमूहले परिवर्तनको मुकुण्डो लगाएर पृथ्वीनारायणको शालिक ढाल्ने, शिलालेख फोड्ने, इतिहासलाई दन्तेकथा बनाउने र हाम्रै बदनाम गर्ने विदेशी लेखकको सहायता लिएर विरासतलाई चपाउँदै पचाउने प्रयत्न गरिरहेका छन्।

बाघको छालामा श्यालको दाँइ हुँदा सरकार सुतिरहेको छ। पश्चिमा र विभीषणहरुले इतिहासमा हालिदिएको अफिमलाई डलरको चुस्की लगाउनेले गुलामीको खोलबाट म्याऊ गरिरहेका छन्। तथापि पृथ्वीनारायणको चोर औला त्यतिबेलादेखि ठडिएको ठडिऐछ।

तरबार लिएर कसैको प्रतीक्षा गरेझैं लाग्छ। कौशल्यवतीबाट जन्मे, चन्द्रप्रभावतीबाट जीवनदर्शन सिके, गोरखाभूमिमा हुर्किए, नेपाललाई विस्तार गरे, हिन्दूधर्मको शस्त्र, शास्त्र र शासनपद्धतिलाई नमन गरे। यसरी पाँच आमाका आशीर्वादले वीर, धीर सन्तान बने पृथ्वी।

उनको सोच यही भूमिमा जन्मियो र यही भूमिको कल्याणार्थ खर्चियो। उनी शाहवंशका ‘पृथ्वी’ एवं गोरखाका ‘नारायण’मा सीमित नरहेर नेपाल र नेपालीकै पृथ्वीनारायण भए।

इतिहास केवल राजामहाराजाको छेउमा घुम्छ, उनीहरूको स्तुतिलाई काखी च्यापेर भाविपुस्तालाई गलत पाठ घोकाउँछ भने विषयमा पूर्ण सहमत छैन। वर्णसङ्कर इतरका सन्तानले अर्जुनका बाण बनेर भीष्मपितामहको छात्ती भेदन गर्न, मानदेवको तरबार बनेर धर्मदेवको गर्दनमा वर्षन पनि तयार हुन्छ भन्ने तथ्यलाई बुझ्न जरुरी छ।

गौतमबुद्धपछि पृथ्वीनारायण नै यस्ता सपुत हुन जसलाई विश्व रंगमञ्चमा नेपालले उभ्याउँदा सबैको शिर झुक्छ। उनले पटकपटक जयस्थिति मल्ल, महेन्द्र मल्ल, राम शाहको स्थितिको चर्चा गरेका छन्।

विसे नगर्ची, कालु पाँडेलगायतलाई उचित स्थान दिएका छन्। जातीय विभेद मौलाएको समयमा वनारसबाट मुसलमान ल्याएर गोरखालाई ४ वर्ण ३६ जातको फूलबारी बनाउने प्रयास गरेका छन्।

उचित युद्धमा पुग्छन्, योद्धाको मनोबल बढाउँछन्, पराजित राजालाई जीवनदान दिन्छन्, विजयी भएको ठाउँका परम्परालाई जिवन्त तुल्याउन चनाखो रहन्छन्। पृथ्वीनारायणका रचना ‘दिव्योपदेश’ एवं ‘व्रतरत्नमाला’का साथै तीनवटा कविताले उनका विचार, योजना, हृदयलाई ऐनाझैँ देखाइरहेको छ।

पृथ्वीनारायणलाई जनतालाई बलिदिएर सत्ता सम्हाल्नेले मात्र होइन उनको विरासतको महलमा ढलमल गर्नेले पनि ध्यान दिएझैँ देखिँदैन। उनीमाथिको अपमानलाई सन्ततिले मूल्यांकन गर्नेछन्, हृदयमा नेपाली धुन गुञ्जिनेहरुले सुन्ने छन्, विचारमा नेपाल हुनेहरुले देख्नेछन्।

५२ वर्ष पृथ्वीमा रहेका पृथ्वीनारायणले ५२ हण्डर ५३ ठक्कर खाएर पनि नेपाललाई पूर्ववत् तुल्याउन उदाहरणीय योगदान दिएर गए। गोरखामा जन्मिएर, काठमाडौँलाई राजधानी बनाई नुवाकोटमा जीवनलीला समाप्त गरे।

अहिलेका पार्टीले आफ्नो घोषणपत्रमा दिव्य उपदेशलाई समावेश गर्न सकेको भए, उनका सन्तानले दिव्योपदेश पढेको भए, हाम्रा पाठ्यक्रममा दिव्योपदेशका हरफहरु साभार गरिदिएको भए हामी साच्चै नेपाली हुने थियो।

हामी नेपाली हुन त सकेनौँ नै नेपाली बन्ने प्रयासबाट पनि धेरै टाढा पुगेको तथ्य राजनीति, अर्थतन्त्र, प्रतिभापलान, शिक्षाको अवस्था आदिले बताउँछ। मेरो मुलुक, मेरो माटो, मेरो संस्कृतिको श्रीवृद्धि र कल्याणमा गोरखाआमा र नेपालजननीले कस्ता सपुत जन्माएकी थिइन् भन्ने जानकारी पृथ्वीनारायणको इतिहासले बताउँछ।

राष्ट्रमाथि लागेको खडेरीलाई पूरा गर्न यो धराले पृथ्वीनारायणजस्ता पुत्र जन्माएको तथ्य सबैलाई ज्ञान होस्। हामीले पृथ्वीनारायणको मृत्युसम्बन्धमा एक कविले भनेझैँ वर्तमान शासकहरुलाई याद गर्न पाइयोस्-

मास्तां शाके कदाचिद्रसनिधिनृपयुग् माघमासोगपि मास्तां
मास्तां विश्वसुर्वा तिथिरपि दशमी तत्र सूर्योदयोद्रपि।
यस्मिन् राजेन्द्रवर्यो विविधजनमनःशान्तिकृत् ख्यातकीर्तिः
पृथ्वीनारायणेशो रिपुकुलदहनस्त्यक्तवान् कर्मभूमिम् ।।

अर्थात् “शाके १६९६ (वि. सं. १८३१) विश्वसु संवत्सर, माघ महिनाको दशमी तिथि, सूर्योदयको बेला नपरिदिएको भए हुन्थ्यो जुन समयमा राजाहरूमा श्रेष्ठ, विविध जनतालाई शान्ति दिने, जसका ख्यातिले शत्रुकुलमा डढेलोझैँ देखिने राजा पृथ्वीनारायणले कर्मभूमिलाई त्याग्नुभयो।”

पृथ्वीनारायण शाहले स्थापना गरेको सेनाले आजसम्म पृथ्वीविचार, पृथ्वीपथ, पृथ्वीदर्शनलाई आत्मसात् गरेको छ अन्यत्रले पुस २७ गतेमात्र याद गरेको देखिन्छ।

पृथ्वीनारायणका योगदान र चिन्तन चिरकालसम्मका लागि हरेक क्षेत्रमा पठनीय, चिन्तनीय, अनुकरणीय, अनुसरणीय रहनेछन्। उनले नेतृत्व गरेको गौरवशाली सेना, इमान्दार जनता युगौँयुगका लागि नमूना हुन्। त्यो अस्ताएको उज्यालोले भावीपुस्तालाई जगाइरहनेछ, नेपाल जोगाउने प्रेरणा दिइरहनेछ। नेपालले कि त बुद्ध जन्माउँदा

सन्तोष गर्‍यो होला कि पृथ्वीनारायण पैदा गर्दा गौरव ग¥यो होला। धन्य ती महामना जसले विश्वलाई सन्देश दिन सके र आफूले आफ्नै सिद्धान्त लागू गरे। शाहवंशका दीपक, गोरखाका सूर्य, नेपालका राष्ट्रविभूति र राष्ट्रनिर्माता, नेपालीका एकताका प्रतीकलाई नचिन्ने, नबुझ्ने, श्रद्धा नगर्नेलाई नेपाली भन्न मिल्ला र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *